सीमापारी क्वारेन्टाइनमा रहेका नेपालीमा कोरोना पुष्टि
भैरहवा : रुपन्देहीको सीमावर्ती भारतीय सहर नौतनवा क्वारेन्टाइनमा राखिएका एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार २४ जनाको भारतीय र नेपालीको स्वाब संकलन गरेर परिक्षण गर्दा नौतनवा स्थिती मोर्डन एकेडेमी स्कूलको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको नौतनवाका सिओ राजुकुमार शावले जानकारी दिए ।
उनका अनुसार संक्रमित व्यक्ति मुम्बईबाट आएका थिए । संक्रमित व्यक्ति नेपालको कुन स्थानका हुन त्यो अहिले खुलेको छैन । संक्रमित २५ वर्षीय युवक रहेको बताइएको छ । भारतीय संचारमाध्यम हिन्दुस्तानको अनलाइन संस्करण अनुसार हाल ती युवकलाई महराजगंजको समेकित विद्यालयमा राखिएको छ ।
स्वदेश फर्किने आशामा आएका सीमामा आएका युवकलाई प्रवेश अनुमति नदिइएपछि उनलाई नौतनवा स्थित क्वारेन्टाइनमा राखिएको थियो ।
सरकारले सुरक्षित रुपमा समयमै नेपाली नागरिकहरुलाई नल्याउँदा क्वारेन्टाइनमा रहेका स्वास्थ्य नेपालीहरु पनि संक्रमणको जोखिममा छन् । क्वारेन्टाइनमा नेपाली खचाखच भरिएका छन् । सरकार उनीहरुको उद्दार गर्नमा कठोर बनेको छ । क्वारेन्टाइनमा रहेका सबैबीच भौतिक दुरी कायम हुन सकेका छैन ।
मंगलबार दिउँसो सम्म दजर्न बढी क्वारेन्टाइनमा नेपालीहरुको संख्या एक हजार चार सय पुगेको नौतनवाका सिओ शवले बताए । उनका अनुसार अझै आउने क्रममा छन् ।