विषाणुको वंश कथा

विषाणुको वंश कथा

अहिले विश्व कोभिड– १९ महामारीको चपेटामा छ। सन् २००२ मा ‘सार्स’ महामारी देखा परेपछि कोरोना विषाणुको भयानक रूप पहिलोपल्ट यो धरतीमा अस्तित्वमा आयो। ससानादेखि विशाल सबै जीवजन्तुले आफूलाई परस्थितिकीय रूपमा अनुकूलित गर्दै वंश विकाससँगै आफ्नो अस्तित्वलाई यो धरतीमा अनादिकालदेखि नै निरन्तरता दिँदै आएका छन्। सूक्ष्म विषाणु पनि यो प्रकृतिप्रदत्त प्रणालीबाट अछुतो रहन सक्दैन। वैज्ञानिकहरू भन्छन्– विश्वमा अहिले महामारीका रूपमा रहेको कोभिड– १९ अठार वर्षअघि हामीमाझ देखा परेको ‘सार्स’ कोरोना विषाणुकै वंशमा आएको परिवर्तन हो।

धरतीमा अहिले देखा परेको महामारी पहिलो भने होइन। विगतमा मानव समुदायले योभन्दा भयानक महामारी पनि भोगिसकेका छन्। आजभन्दा एक सय दुई वर्षआघि अर्थात् सन् १९१८ मा देखिएको ‘स्पेनिस फ्लु’ महामारीको इतिहासमा दस्ताबेजीकरण गरिएको सबैभन्दा विनाशकारी घटना मानिन्छ। त्यो बेलाको यो महामारी सार्वजनिक स्वास्थ्यका लागि अति अशुभ चेतावनी थियो। यसले धरतीका एकतिहाइ मानिसलाई संक्रमण गर्‍यो। पाँच करोडभन्दा बढी मानिसको मृत्यु भयो। यो महामारीबाट ज्यान गुमाउनेमा बढी त २०–४० वर्ष उमेर समूहका युवा नै थिए। वैज्ञानिकहरू स्वाइन फ्लु (एच१एन१) विषाणुलाई यो महामारीको कारण मान्छन्।

सन् २००९ मा जेफ्री के ताउबेनवर्गरन र डेविड एम. मोरेन्सले ‘रिभ्यु साइन्स एट टेक्निक’ नामक जर्नलमा एक अनुसन्धान पत्र प्रकाशन गरेका थिए। उक्त अनुसन्धानपत्रमा उनीहरूको निष्कर्ष थियो– यो धरतीमा इम्फ्लुएन्जालगायतका महामारी कम्तीमा मध्ययुगदेखि देखिन्छ। जब रोग महामारीको रूपमा देखा पर्छ, यसबाट ५० प्रतिशत वा त्योभन्दा बढी जनसंख्या एकै वर्षमा प्रभावित वा संक्रमित हुन सक्छन् र यसको कारण मृत्युको संख्या पनि नाटकीय रूपमा सामान्यतया आशा गरिएभन्दा बढी हुन सक्छ।

सन् १५०० पछि विश्वमा १३ भन्दा बढी इम्फ्लुएन्जा महामारी देखा परेको तथ्यांक छ। उन्नाईसौं र बीसौं शताब्दीको १२० वर्षको अवधिमा सन् १८८९, १९१८, १९४६, १९५७, १९६८ र सन् १९७७ गरी यो धरतीमा निसन्देह ६ महामारी देखा परेका थिए। यिनीहरूको कारण मानियो– इम्फ्लुएन्जा ‘ए’ विषाणुको नयाँ उपप्रकारको उदय। बीसौं शताब्दीमा दर्ज भएको सबैभन्दा ठूलो महामारी हो सन् १९१८ मा देखा परेको स्पेनिस फ्लु। कोरोना विषाणुको नयाँ रूपको जन्मका कारण अहिले एक्काईसौं शताब्दीको पहिलो दुई दशकमै यो धरतीमा तीन मुख्य महामारी देखिए।

अड्रिन जे गिब्सको समूहले सन् २००९ मा ‘भाइरोलोजी’ नामक जर्नलमा एक अनुसन्धान पत्र प्रकाशित गरेका थिए। उनीहरूको अनुसन्धानले भन्छ– चार दशकसम्म मानव जनसंख्यामा प्रसारित सन् १९१८ को स्पेनिस फ्लुको महामारी कारक विषाणु (एच१एन१) को वंश, सन् १९५७ मा एसियाली इम्फ्लुएन्जा महामारी (एसियन फ्लु) आएपछि यो धरतीबाट लोप भएर गयो। यद्यपि सन् १९१८–१९२० सम्म देखा परेको स्पेनिस फ्लुको महामारीको कारण स्वाइन फ्लुलाई मानियो, तर मानवमा फैलिएको विषाणु र यसको पक्षी र सुँगुरबीच सम्बन्धको कारण भने अझै खुलेको छैन।

महामारीको कारक कोभिड– १९ विषाणुचाहिँ विल्कुलै नयाँ विषाणुको वंश हो, जुन चमेरोजन्य मानिएको छ। यसले यो धरतीमा यात्रा थालेको दुई दशक पनि पुगेको छैन।

ताउबेनवर्गरन र मोरेन्सको सन् २००६ मा प्रकाशित अर्को अनुसन्धानको विवरणलाई आधार मान्ने हो भने स्पेनिस फ्लुको उत्पत्ति र रोगजनक हुनुको कारण अझै अज्ञात छ। वैज्ञानिकहरू भन्छन्– यसआघि अर्थात् सन् १८८९ र १८४७ वा त्योभन्दा अघि भएका महामारी पनि यस्तै विषाणुका कारण भएको हो वा होइन भन्ने विषयसँग सम्बन्धित कैयन् प्रश्न पनि अझै अनुत्तरित नै छन्। तर धरतीमा १९१८ पछि देखिएका विषाणुमा स्पेनिस फ्लुको विषाणुको पैत्रिक गुण छ भन्ने विश्वासचाहिँ धेरै वैज्ञानिकमा छ।

वैज्ञानिकहरू भन्छन्– १९१८ को महामारीपछि विषाणुको आनुवंशिक संरचनाको विपरीत भएको नयाँ विषाणुको पुनर्बहाली, अर्थात् सन् १९५७ र १९६८ को महामारीको कारक विषाणुको नयाँ गुणसूत्र सबै उस्तै प्रक्रियाबाट युरासियन क्षेत्रका जलपक्षीमा विद्यमान विषाणुबाट पुनर्संयोजन हुँदै उत्पन्न भएको हो। विषाणुको वंश अध्ययनले भन्छ– सन् १९३० पछि पनि सन् १९१८ को विषाणु (एच१एन१) प्राणीस्थानिक भएर सुँगुरमा विद्यमान थियो। तर जबसम्म मानव संक्रमित भएनन्, यससँग सम्बन्धित प्रणालीगत अध्ययन हुनै सकेन। त्यही विषाणुले सन् १९५० सम्म मानिसलाई संक्रमित गरिरह्यो र कुनै–कुनै वर्षमा त प्रकोपकै रूप लिएर विश्वमा देखा पर्‍यो।

वैज्ञानिकहरू भन्छन्– सन् १९५७ मा एसियन फ्लु (एच२एन२) आएपछि सन् १९१८ को महामारीको मूल वंशलाई प्रतिस्थापन गर्‍यो। अर्थात् यो धरतीबाटै पूरै लोप भएर गयो। यो रोग सन् १९५७ मा दक्षिण चीनमा जाडोयाममा महामारीका रूपमा देखा परेको थियो। सन् १९६८ मा आइपुग्दा स्वाइन फ्लु विषाणुको उपप्रकार (एच२एन२) मानव समुदायमा छिरिसकेको थियो।

तर पछि त्यो विषाणुलाई अर्को विषाणुले प्रतिस्थापित गर्‍यो हङकङ फ्लुको (एच३एन२) नाममा। अघिल्लो एसियन फ्लुको प्रसारण गर्ने एक गुण (एन२) लाई यो विषाणुले कायम त राख्यो, तर यसले अर्को एक गुण पनि लिएर आयो, जुन पक्षीजन्य (एच३) मूलको थियो। दुर्भाग्यवश, स्वाइन फ्लुको मात्री विषाणु (एच१एन१) सन् १९७७ मा मानव समुदायमा पुनः एक्कासि देखा पर्‍यो रसियन फ्लुका नाममा। विश्वमै प्रकोप निम्त्याएको यो विषाणुबाट त्यो बेला रूस र चीन ज्यादा प्रभावित बने। डोना एम सेर्ने र एडोल्फ गार्सिया सास्त्रेको सन् २०११ मा क्लिनिकल इम्भेस्तिगेसनमा प्रकाशित अनुसन्धानअनुसार, १९७७ को वसन्तयाममा चीनमा पहिलोपटक यो विषाणुको संक्रमण फेला पर्‍यो। रूसमा त्यसै वर्षको नोभेम्बर महिनामा यो प्रकोपको रूपमा देखा पर्‍यो। यो विषाणुले विशेषगरी २३ वर्षभन्दा कम उमेरका युवाहरूलाई आक्रमण गर्‍यो। अर्थात् यसको प्रभाव पार्ने तरिका उही थियो, जुन सन् १९१८ मा स्पेनिस फ्लुले गरेको थियो। साथै यसको चरित्र सन् १९५० अघिसम्म प्रसारित रोगसँग पनि समान थियो।

धेरै वैज्ञानिकहरू यो विषाणु प्राकृतिक रूपमा नआएको ठान्दछन्। विभिन्न अनुसन्धान पत्रहरूमा यो विषाणु प्रयोगशालाबाट चुहिएको अनुमान पनि गरिएको छ। यद्यपि यसको पुनरावृत्ति कसरी भयो भन्नेबारेमा अझै ठोस निक्र्योल भएको छैन। दुई वर्षसम्म रहेको यो प्रकोप कारक अर्थात् स्पेनिस फ्लुको वंश अझै पनि अन्य विषाणु अर्थात् त्यो समयमा अस्तित्वमा आएको एच३एन३ विषाणुसँगै घुमिरहेको छ। यो विषाणु प्राणीस्थानिक भएर सुँगुरमा अझै पनि पशुजन्य रोगका रूपमा कायम छ भन्ने विश्वास पनि धेरै वैज्ञानिकहरूमा छ।

यसैगरी सन् २००९ को मार्च र अप्रिलमा दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोका धेरै क्षेत्रहरूमा इम्फ्लुएन्जाजस्तो बिरामीका घटना प्रकाशमा आए। यसलाई एस–ओआईभी (एच१एन१) मानियो। सन् २००९ को जुन ११ सम्ममा यो विषाणु विश्वका ७४ देशमा फैलियो। करिब २९ हजार मानिसमा यसको संक्रमणको पुष्टि भयो। विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारीकै रूपमा घोषणा गर्‍यो। जुलाई २०१० सम्म आइपुग्दा विश्वभरि नै यो रोगका घटना पुष्टि भए। १८ हजारभन्दा बढी मानिसको मृत्यु भयो।

डोना र एडोल्फको आनुवंशिक विश्लेषणले भन्छ– यो विषाणु मात्री वंश स्वाइन फ्लु (एच१एन१) को दुई विषाणु वंशका दुई खण्ड मिलेर बनेको हो। त्यसमा एक विषाणु १९१८ को स्पेनिस फ्लुका रूपमा देखा परेको थियो भने अर्को युरोपियन पक्षीजन्यजस्तो इम्फ्लुएन्जा विषाणुका सन्तानका रूपमा थियो। सन् १९९७ देखि स्वाइन फ्लु विषाणुका अन्य उपप्रकार (जस्तै– एच५एन१ एचपीएआई) एसियालगायत युरोप र अफ्रिकी राष्ट्रहरूमा फैलिएको छ। मुख्यगरी यो विषाणुले, कुखुरा र मानवमा पशुजन्य रोग र मृत्युको कारक बनेको छ। अन्य धेरै स्तनपायी जीव जस्तै– बिराला र मुसाहरू पनि यो विषाणुबाट संक्रमित हुने गरेका छन्।

वैज्ञानिकहरूसँग ७५ वर्षयतासम्म अर्थात् सन् १९९० को सुरुसम्म ती विषाणु (१९१८ का) किन घातक थिए भन्नेजस्ता आधारभूत प्रश्नको प्रस्ट उत्तर थिएन। किनकि यो ७५ वर्षको अवधिमा कुनै पनि विषाणुलाई जनावर र मानवबाट पृथकीकरण गरिएको थिएन। यद्यपि योचाहिँ पुष्टि भइसकेको थियो कि स्वाइन फ्लुसँग गासिएका विषाणुको पूर्वज एकै थियो, अर्थात् स्पेनिस फ्लु कारक विषाणु। यो विषाणुको अनौठो चरित्र भनेकै सुँगुर र मानव दुवैमा समान रूपमा संक्रमण गर्नु हो।

विगतका अन्य विवरणले के बताउँछ भने स्पेनिस फ्लुको महामारीको प्रभाव सन् १९१८–१९२० सम्म मात्र सीमित थिएन। त्यस्तै एच५एन१ र एच७एन७ जस्ता पक्षीजन्य विषाणुबाट भएका मानव संक्रमणबाहेक इम्फ्लुएन्जा ‘ए’ को महामारी र त्यसपछिका प्रायः घटना स्पेनिस फ्लु महामारीका कारक विषाणुका वंशजहरू थिए। तर विश्वमा ‘एसियन फ्लु’ र ‘हङकङ फ्लु’ विषाणुको आगमनपछि भने स्पेनिस फ्लुको मूल विषाणु ‘बहिस्कृत’ भएको थियो।

यद्यपि, पछिल्ला स्वाइन फ्लुका विषाणुमा सन् १९१८ को विषाणुको प्रमुख गुणसूत्रहरू मिलेर बनेको भए पनि पछि गएर मूलरूपमा पक्षीजन्य इम्फ्लुएन्जाका रूपमा परिस्कृत भएका हुन्। तर अहिलेको महामारीको कारक कोभिड– १९ विषाणुचाहिँ विल्कुलै नयाँ विषाणुको वंश हो, जुन चमेरोजन्य मानिएको छ। यसले यो धरतीमा यात्रा थालेको दुई दशक पनि पुगेको छैन। अर्थात् सन् २००२ मा ‘सार्स’ को उदय भएपछि विश्वमा कोरोना विषाणुको मानव यात्रा सुरु भएको हो।

—कट्टेल चाइनिज एकेडेमी अफ साइन्सेस, बेइजिङमा सहप्राध्यापक छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.