अध्यक्षका लागि केसी र दाहालको आवेदन

अध्यक्षका लागि केसी र दाहालको आवेदन

काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नायक भुवन केसी पनि दौडमा सामेल भएका छन्। अध्यक्षका लागि आह्वान गरिएको १५ दिनको म्याद सकिनै लाग्दा केसीले आवेदन दिएका हुन्।

नायक केसीले राजनीतिमा हाम फालेर नेता बन्ने नै मनसुवा पहिले नै बनाएका थिए। तत्कालीन एमालेले सांसदका लागि उनको पनि नामसमेत सिफारिस गरेको थियो। उनी २०७४ को संसदीय निर्वाचनमा तत्कालीन एमालेको समानुपातिक सूचीमा थिए। उनी नेकपाका नेता माधवकुमार नेपाल खेमाका मानिन्छन्।

अब भने भुवन चलचित्र जगतको नेता हुने रहर पालेका हुन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागि वैशाख १६ मा सार्वजनिक सूचना जारी गरेको थियो। मंसिर ३० मा बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डको अध्यक्ष पद खाली छ।

न्यूनतम शैक्षिक योग्यताको प्रावधान संशोधन गरेर जारी गरिएको सार्वजनिक सूचनामा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका नेपाली नागरिकलाई आवेदनका लागि आह्वान गरिएको थियो। यसअघि योग्यतामा कम्तीमा बीए पास गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण र प्रवद्र्धनमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने थियो। यस पटक भने आईए मात्र अध्ययन गरेको भए २० वर्षको अनुभव चाहिने उल्लेख छ। अध्यक्षको मूल्यांकन व्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा गरिने सूचनामा उल्लेख छ।

उनले आफू करिब चार दशकदेखि चलचित्र क्षेत्रमा काम गर्दै आएको र यो व्यवसायभन्दा अरू विषयमा नसोचेको बताउँछन्। भन्छन्, ‘मैले, चलचित्रबाहेक अन्य कुनै पेसाको विषयमा सोचिनँ। बरु, चलचित्र निर्माण, निर्देशन, अभिनयलाई निरन्तरता दिइरहेको छु। मैले, चलचित्र बोर्ड अध्यक्ष भइसकेपछि गर्ने कार्ययोजना पनि पेस गरेको छु। कोरोनापछिको भयावह अवस्थालाई सहज बनाउन पनि मेरो अनुभवले सहयोग गर्नेछ।’ सरकारले आफ्नो योगदानको मूल्यांकन गर्छ भन्नेमा उनी ढुक्क छन्।

बोर्ड अध्यक्ष पदका अर्का दबेदार दयाराम दाहालले पनि आवेदन दिएका छन्। नेपाली फिल्म उद्योगमा लामो समयदेखि कार्यरत निर्देशक दाहाल पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा निकट मानिन्छन्। उनी अहिले विकास बोर्डमा सदस्य छन्। यसैगरी चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि निर्माता अर्जुन कुमार, कलाकार सोहित मानन्धरलगायतको पनि उम्मेदवारी परेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.