धनुषामा पत्रकार, व्यवसायी र भारतबाट फर्केकामा कोरोना संक्रमण
जनकपुरधाम : धनुषामा तीनजनामा कोरोनो पोजेटिभ देखिएको छ । धनुषाको जनकपुरधाम उप-महानगरपालिकाका ४०, ३५ वर्षीय पुरुष दुई र मिथिला नगरपालिका १० का २५ वर्षीया एक महिला गरी तीनजनामा पोजिटिभ देखिएको छ ।
जनकपुर उप-महानगरपालिकाका ४० वर्षीय पुरुष पत्रकार हुन् । जनकपुरमा गत बुधबार गरिएको स्वाब परीक्षणमा नेगेटिभ रिर्पोट आएको थियो । तर सोही स्वाबलाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गर्दा पोजिटिभ रिपोर्ट आएको हो । उनी जनकपुरमै रहेर पत्रकारिता गर्दै आएका छन् ।
जनकपुरधाम उप-महानगरपालिका ४ स्थित पुस्तक पसल सञ्चालन गरेर बस्दै महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थायी घर भएका एकजनामा कोरोना पोजिटिभ भेटिएको हो ।उनी लकडाउन खुकुलो भएको बखत एक आध घण्टा पुस्तक पसल खोलेको उनको भनाइ छ ।
यसैगरी मिथिला नगरपालिका १० लालगढकी २५ वर्षीया महिलासँगै चैत १ गते भारतबाट नेपाल आएकी थिइन् । श्रीमान् र बच्चासँगै उनी घरमै सेल्फ क्वारेन्टाइनमा रहेकी थिइन् । उनीसँगै आएका श्रीमान र बच्चाको रिपोर्ट भने नेगेटिभ आएको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए ।
तीनैजनालाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याइ आइसोलेसनमा राखिएको छ। उनी बस्दै आएको टोल सिल गर्न लागिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए । यसअघि धनुषामा कोरोना संक्रमणको बिरामी फेला परेको थिएन् ।