बुटवलका डीएसपी भीमलाल भट्टराईलाई प्रमुखको जिम्मेवारीबाट हटाइयो
भैरहवा : रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईलाई कार्यालय प्रमुखको जिम्मेवारीबाट हटाइएको छ। प्रदेश पाँचका प्रहरी प्रमुख डीआइजी रविन्द्रबहादुर धानुकले कारवाहीस्वरुप बुधबारबाट उनलाई कार्यालय प्रमुखको जिम्मेवारीबाट हटाएर प्रदेश प्रहरी कार्यालय दाङमा तानेका छन् ।
केही विषयमा बुझ्नु पर्ने भएकाले अनुसन्धानका लागि बुटवलका डीएसपीलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रदेश पाँचका डीआइजी धानुकले बताए । महामारीमा पनि डीएसपीले गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह नगरेको, माथिल्ला अधिकृतको आदेशलाई समेत वेवास्ता गर्दै आएको र ड्यूटीमा मादक पदार्थ सेवन गरेको पाइएपछि अनुसन्धान गरेर कारवाही गर्नका लागि उनलाई प्रदेशमा तानिएको प्रहरी स्रोतले जानकारी दिएको छ।