दैलेखका सय जनाको पीसीआर रिपोर्ट नेगेटिभ
दैलेख : दैलेखमा एक सय जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ। स्वाब संकलन गरि पठाइएको एक सय जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। नारायण नगरपालिका र स्वास्थ्य सेवा कार्यालयमा गरी १५, दुल्लु नगरपालिकाका ९, आठबीस नगरपालिकाका २७, चामुण्डाविन्द्रासैनी नगरपालिकाका १७, नौमूले गाउँपालिका ९, भगवतीमाई गाउँपालिकाका ७, डुङ्गेश्वर गाउँपालिकाका ७ र ठाटीकाँध गाउँपालिकाका ९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत तथा कोभिड–१९ का फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए।
भारत तथा तेस्रो मुलक र शंकास्पद् ठाउँबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो। जिल्लामा ८ सय ६० जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड-१९ को एन्टिबडी परीक्षण गरिएको छ। परीक्षण गरिएका सबै जनाको रिर्पोट नेगेटिभ आएको खोप अधिकृत तथा कोभिड-१९ का फोकल पर्सन रेग्मीले बताए। उनका अनुसार नारायण नगरपालिका र स्वास्थ्य सेवा कार्यालयमा गरी २ सय ३१, दुल्लु नगरपालिकामा ५१, आठबीस नगरपालिकामा १ सय २०, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १५, नौमूले गाउँपालिकामा ५६, भगवतीमाई गाउँपालिकामा ८६, महाबु गाउँपालिकामा ४४, भैरबी गाउँपालिकामा ३०, डुङ्गेश्वर गाउँपालिकामा ८६, गुराँस गाउँपालिकामा ७ र ठाटीकाँध गाउँपालिकामा १ सय ३४ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो।
पछिल्लो समय जिल्लामा बाहिरबाट व्यापक रुपमा मानिसहरु भित्रिएकोले जिल्ला बाहिरबाट भित्रिएकाहरुलाई लक्षित गरी र्यापिड डाइग्नोस्टिक टेस्ट गरिँदै आएको रेग्मीले बताए। ‘जिल्लामा कोरोनाको शंकास्पद् बिरामी भेटिएको छैन्,’ रेग्मीले भने। अहिले जिल्लामा जम्मा १ सय २५ वटा आरडिटी किट र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भिटीएम ४ सय ५१ वटा मौज्दात रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ।