कालापानी नजिक सशस्त्र प्रहरीको बिओपी

कालापानी नजिक सशस्त्र प्रहरीको बिओपी

दार्चुला : दार्चुलाको कालापानी र लिपुलेक आसापासको भूमी मिचेर भारतले सडक बनाएको भन्दै सदन र सडक तातिरहेका बेला कालापानी नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ। 

गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक.डा. इन्द्रजित राई तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बुधबार कालापानी नजिकै दार्चुलाको छाङरुमा बिओपीको उद्घाटन गरेका हुन्। त्यहाँ सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ सशस्त्र प्रहरी खटाइएको छ।

ब्ुधबार बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार राई, एआईजी थापासहितका सुरक्षाअधिकारी नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट दार्चुला पुगेका थिए। नेपाली सेनाको उक्त हेलिकप्टरले दुई पटक गरेर सशस्त्र प्रहरी, नेपाल प्रहरी र बिओपीका लाग चाहिने सामान छाङरु पुगाएको छ।

छाङरुबाट भारतले अतिक्रमण गरेको कालापानीको दूरी १२ किलोमिटर छ भने लिपुलेकको दूरी १७ किलोमिटर छ। अहिलेसम्म छाङरुभन्दा पनि झण्डै ५ किलोमिटर उत्तरमा रहेको गागा क्षेत्रमा वर्षमा ६ महिनाका लागि मात्रै नेपाल प्रहरी बस्दै आएको छ। 

‘छाङरुमा सशस्त्र प्रहरीको बिओपी वर्षैभरी रहने गरी स्थापना भएको हो, त्यहाँ पछि गुल्म नै राखिन्छ, अहिले ६ महिनाको ‘लजिष्टिक’ आपूर्ती पनि हेलीकप्टरबाटै गरिन्छ’, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु थापाले भने।

छाङरुमा रहेको बिओपी अहिले भाडाको घरमा स्थापना भएको हो। ‘सरकारले छाङरुमा सशस्त्रका पूर्वाधारका लागि ११ करोड रकम विनियोजन गरेको छ। अबको एक हप्तामै बिओपी भवन र अरु संरचनाको टेन्डर प्रकृया सुरु हुन्छ, छिट्टै सशस्त्र प्रहरीका आफ्नै पूर्वाधार निर्माण गर्ने गरी तयारी गरेका छौं’, छाङरुबाट फर्केपछि पत्रकारसँग कुराकानी गर्दै एआईजी थापाले भने।

भारतले, नेपालको कालापानी र लिपुलेक क्षेत्र मिचेर चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने सडक निर्माण गरेपछि अहिले देशभरी आन्दोलन भइरहेको छ  भने सत्ता पक्ष र प्रतिपक्षले समेत मिचिएको भुभाग फिर्ता गर्नेबारे भारतसँग कूटनीतिक पहल गर्न माग गरिरहेका छन्। 

भारतले, आफ्नो धारचुला तहसिल अन्तर्गत पर्ने तावाघाटबाट ९५ किलोमिटर उत्तरतिर  लिपुलेकसम्मको सडक उद्घाटन गरेको समाचार हालै सार्वजनिक भएको थियो। भिडियो कन्फरेन्सबाट भारतका रक्षामन्त्री राजनाथ सिंहले गत शुक्रबार उक्त सडकको दिल्लीबाटै उद्घाटन गरेका थिए। 

भारतले बनाएको सडकमा अहिले १९ किलोमिटर नेपालको भुमीमा पर्ने बताइएको छ। नेपालसँग कुनै सहमति नगरी महाकाली वारी भारतले तिब्र गतिमा सडक बनाएर उद्घाटन गरेको हो। भारतले बनाएको उक्त सडक चीनको सीमाना छुन अब तीन किलोमिटर मात्रै बाँकी छ।
कालापानीबाट १० किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राखिएको हो। उक्त स्थान ब्यास गाउँपालिकाको १ मा पर्छ। 
भारतले अतिक्रमण गरेको दार्चुलाको सो क्षेत्रमा वर्षौंदेखि नेपाल सरकारको उपस्थिति शून्य छ। हिउदमा भारी हिमपात हुने भएकाले, यसअघि त्यहाँ खटाइने नेपाल प्रहरी हिउदमा बेसी झर्ने गरेका थिए।
भारतको कालापानीमा उसले आफ्ना सैनिकका लागि  भुमिगत बंकर बनाएको छ। उनीहरुले ५÷६ फिटको हिमपातमा पनि बस्न मिल्ने र पहरा दिन मिल्ने संरचना बनाएका छन्। रसदपानीका लागि दैनिक जसो उसका हेलीहप्टरहरु कालापानी आउने जाने गरेका स्थानीयले बताए।
कालापानी नजिकै स्थापना गर्ने निर्णय भएर पनि कार्यान्वयन हुन सकेको थिएन। ‘बीओपी स्थापनाका लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्न, भौतिक संरचनालगायत व्यवस्थापन भइसकेको छ।
 
कालापानी समुद्री सतहबाट ४ हजार २ सय मिटर र लिपुलेक, लिम्पियाधुरा करिब ५ हजार मिटरको उचाइमा पर्छन्। भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको बिन्दुमा नेपाली सुरक्षाकर्मीको यो तैनाथी पहिलो हो।

नेपाल प्रहरीको संख्या बढाइयो 
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले छाङरु नजिकैको गागामा रहेको नेपाल प्रहरीको संख्या पनि बढाइएको बताए।  बुधबार ९ जना नेपाल प्रहरी पनि सेनाको हेलीकप्टरबाट गागा क्षेत्रमा पठाइएका छन्। नेपाल प्रहरी छांगरुको गागामा बस्दै आएको छ। 

शसस्त्र प्रहरीले अबको दुई वर्ष भित्रमै सीमा क्षेत्रमा गुल्म स्थापना गरी १ सय ६० जनाको जनशक्ति खटाउने योजना बनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.