जाजरकोटमा महिलाको शंकास्पद मृत्यु, प्रहरीले जाहेरी लिन मानेन
जाजरकोट : जाजरकोटको बारेकोट ६ ताँसी निवासी २२ वर्षीया जेनिसा नेपाली गत २७ बैशाखमा मृत अवस्थामा भेटिएकी थिइन् । कुशे ६ नारे माइती घर भएकी नेपालीको २०७२ मंसिरमा बारेकोट ६ ताँसीका अविनास बिकसँग विवाह भएको थियो । घटनापछि माइती पक्षले हत्या भएको भन्दै किटानी जाहेरी दिएको छ । प्रहरीले भने जाहेरी लिन मानेको छैन ।
अचानक मृत्युको खवरले माइती पक्ष त्यो स्वभाविक मृत्यु नभइ हत्या भएको भन्दै किटानी जाहेरीका लागि बुधबा जिल्ला प्रहरी कार्यालय जाजरकोट पुगेको थियो । तर जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले उजुरी दर्ता नगरेको पीडित पक्षले बताएका छन् । पेट दुखेर मृत्यु भयो भनिएकी जेनिसाको शरीरमा निलडाम, मुख र नाकबाट रगत बगेको, कन्चटमा निलो दाग हुँदा हत्या गरिएको भन्दै घरपरिवारको नाममा किटानी जाहेरी गर्न खोज्दा प्रहरीले लिन नमानेको मृतकका दाजु प्रविण नेपालीले बताए ।
माइती पक्षले मृतकका पति, सासु, ससूरा, नन्द सहित पाँच जनाको नाममा किटानी जाहेरी दिएका थिए । जेनिसाका माइतीले उनी पहिले जीवित छँदा पनि घरेलु हिंसाको शिकार भएको दावी गरेका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकोले यस विषयमा सबै कुरा भन्न नमिल्ने बताए ।