अब काभ्रेमा हप्ताको तीन दिन मात्र बैंक खुल्ने
काभ्रे : कारोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयले हप्ताको तीन दिन मात्र बैंक तथा वित्तीय संस्था सहकारीहरु खोल्न पाउने गरि निर्णय गरेको छ। कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धी जिल्ला स्तरीय समतिको संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।
उक्त समितिले हाल जिल्लामा साताभरि सञ्चालन भइरहेका बैंक तथा वित्तीय र सहकारी संस्थालाई अब उप्रान्त हप्ताको तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्र सञ्चालन गर्न पाउने गरि निणय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । खोल्न पाउने तीन दिन बाहेक अरु बार कुनैपनि बैंक वित्तीय संस्था र सहकारीहरु खोल्न नपाउने भएको छ। यो निणर्य आउनु भन्दा अघि काभ्रेमा रहेका बैंक र सहकारीहरुले सातैबार खोल्ने गरिएको थियो । केहि सहकारीहरुले घर घरमा सेवाग्रहीहरुको लागि सहकारीको क्यालेन्डर दिने नाममा रकम समेत संकलन गरिदै आएको थियो। अब जिल्ला स्तरिय समितिले गरिएको निणर्य अनुसार मात्र वित्तीय संस्थाहरु खोल्न पाउने र अरु दिनमा खोलेको पाएमा कारवाहीको प्रक्रिया अघि सार्ने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।
बैठकमा जिल्ला स्तरिय समितिको सदस्य सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेबि होमागाई खतिवडा, विष्णुदल गण, काभ्रेका प्रमुख सेनानी सुवास खड्का, जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेल, सशस्त्र प्रहरी १५ नं गणका एसपी पुरुषोत्तम थापा, राष्ट्रि अनुसन्धान जिल्ला प्रमुख सरोज निरौला, स्वास्थय कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झा, धुलिखेल अस्पतालका सूचना अधिकारी डा सुमन ताम्राकार लगायतको उपस्थितमा निणर्य गरिएको जनाएको छ।