गणितमा २ ल्याउने म !
मेरा बाबा सरकारी स्कूलको शिक्षक हुनुहुन्थ्यो। दाजु र म दुवैलाई कक्षा १ देखि नै भक्तपुरको वागेश्वरीस्थित सरकारी स्कूल वागेहिणीमा भर्ना गरिएको थियो। घरबाट झन्डै एक घण्टा हिँड्नुपर्ने भए पनि आफूले पढाएकै स्कूलमा बाबाले हामीलाई पढाउनुभएको थियो। दाजु मभन्दा दुई कक्षा माथि हुनुहुन्थ्यो। म गणितमा सुरुदेखि नै निकै कमजोर थिएँ। वागेहिणीमा त्यति बेला कक्षा ८ सम्म मात्रै पढाइ हुने भएकाले २०५७ सालमा कक्षा ९ मा वासु मा.वि. भक्तपुर (बजार क्षेत्र) मा मलाई भर्ना गरियो। दाजु पनि कक्षा ९ देखि सोही स्कूलमा पढेर भर्खर एसएलसी परीक्षा दिनुभएको थियो।
दाजु त गणितमा निकै जान्ने हुनुहुन्थ्यो। गणितका कठिन समस्या पनि क्षणभरमै समाधान गर्न सक्ने। मलाई भने गणित सम्झेपछि ज्वरो नै आउलाझैँ हुने। सो विद्यालयमा गुरुहरूले सुरु सुरुमा त गणितमा म पनि दाजु जस्तै जान्ने छु कि भन्ने सोच्नु भएको रहेछ तर मलाई एक त गणित आउँदै नआउने त्यसमाथि पनि कनिकुथी नेपालीमा गणितका शब्द बुझेकी मैले कक्षा ९ मा पुगेपछि अंग्रेजीमा बुझ्नुपर्दा साह्रै कठिन भइरहेको थियो। (सरकारी विद्यालय भए पनि त्यहाँ गणित अंग्रेजी माध्यममा पढाइँदो रहेछ।) गणितको कक्षा सम्झेरै जहिल्यै विद्यालय हिँड्न लाग्दा पीर लाग्थ्यो। आमा पिरिनुहोला भनेर विद्यालय जान्न भन्न चाहिँ सक्दिनथेँ।
अरू विषयमा मलाई कुनै समस्या थिएन। जान्ने नै थिएँ। फेरि गाउँघरतिरै ८ कक्षासम्म पढेकाले त्यहाँका हितैषी साथीबाट टाढा हुनुपर्दा नरमाइलो छँदै थियो। साथी, विद्यालय, किताब सबै मेरा लागि बिराना थिए। वासु स्कूलमा प्रायस् सबै साथीहरू नेवार थिए। उनीहरू एक अर्कासँग भेट्दा नेवारी भाषामा नै कुरा गर्थे। म सुरुमा केही बुझ्दिनथेँ। त्यसैले सुरु सुरुमा कक्षामा पछाडि गएर एक्लै बस्थेँ। अरू विषयको पढाइ हुँदा निकै जागरुक भएर सिक्न खोज्थेँ। जब गणित विषयको पालो आउँथ्यो ढुकढुकी साह्रै बढ्थ्यो। गणित पढाउने सर आज नआए नि हुने कक्षा खाली भए नि हुने जस्तो लाग्थ्यो। तर मेरो त्यो चाहना सायदै पूरा हुन्थ्यो। बरु अरू सर म्याम नआउनुभएको बेलामा कठिन विषयमा अझ बढी समय दिनुपर्छ भन्दै एकै दिन तीन पिरियडसम्म पनि गणितको पढाइ भइदिन्थ्यो।
एसएलसीमा गणितमा ३२ ल्याउन नसकेको भए ‘असफल’ विद्यार्थीको कलंक निधारमा बोकेर हिँडिरहेकीपो हुन्थेँ कि !
घरमा दाजुसँग सिक्न गए त सिकाउनुहुन्थ्यो नि। तर एक पटक दुई पटक सिकाएर पुग्ने भए पो। त्यसैले उहाँहरू पनि आजित भएझैँ लाग्थ्यो। सरल किसिमको हिसाब पनि नआउने। गणितका ती सूत्र, रेखा सबै नाचेका जस्ता लाग्ने। हिन्दी फिल्म ‘तारे जमिन पर’को बाल पात्र इशान अवस्तीको जस्तै। तगडा साथी जत्ति सबै ९ कक्षा पास भएर १० कक्षामा ‘ए’ सेक्सनमा परे। आफू चाहिं सेक्सन ‘सी’मा पुगेँ। गणितमा मैले सायद एउटा पनि प्रश्न सही किसिमले हल गर्न सकेकी थिइनँ। तैपनि अरू विषयमा राम्रो गर्नेलाई कक्षा चढाउने नीति भएर होला कक्षा ९ को अन्तिम जाँचमा मलाई ३२ दिएर पास गरिएछ।
गणितमा राम्रो गर्नेलाई त हेर्ने नजर नै बेग्लै हुने। कक्षा १० मा पुगेपछि पहिलो त्रैमासिक परीक्षाको परीक्षाफल सुनाउँदा झन् खिन्न भएँ। कक्षा शिक्षकले सुरुमा अरू विषयको अंक सुनाउँदै जानुभयो। सबैमा राम्रो भएको रहेछ। जब गणितको अंक सुनाउनुभयो कक्षाका सबै साथीहरू जिल परे, कतिपय हलल्ल हाँसे। ‘जम्मा २ अंक ल्याउने गरी के लेख्यौ ?’ सरले सोध्दा लाजले पानीपानी भएँ। सबै विषयमा यति मिहेनत गर्नेले यसमा किन ध्यान नदेको भन्दै निकै सम्झाउनुभयो। तिमीले यसमा प्रगति गर्न सकेनौ भने जिन्दगीभर एसएलसी पास हुन्नौ भन्नुभयो। गुरुले त्यसो भन्दा आफूलाई थाम्नै सकिनँ, रोएँ।
त्यस दिन कक्षा गुरुले मलाई गणितको गुरुसँग पनि तिमी नडराई आफूले नजानेको निर्धक्क सोध्नुपर्छ भन्नुभयो। म घर फर्किंदा बाटोमा पनि कोही साथीहरूसँग केही नबोली फर्किएँ। मलाई मनमनै सबैले गिल्ला गरिरहेका होलान् झैँ लाग्यो। त्यस दिन जस्तो नरमाइलो स्कूल जीवनमा कहिल्यै महसुस गरेकी थिइनँ। किनकि अब कहिल्यै एसएलसी पास हुन सक्दिनँ भन्नेमा म निश्चिन्त जस्तै भएकी थिएँ। अहिलेको जस्तो ग्रेडिङ सिस्टम उति बेला भएको भए गणित नआए पनि पास त भइन्थ्यो। तर त्यति बेला त एक विषयमा कमजोर भयो कि पढाइमा ब्रेक लाग्यो। आठै ओटा विषयमा न्यूनतम ३२ अंक नकटाएसम्म एसएलसी पास भइँदैनथ्यो।
घर पुगेपछि खाजा खान पनि मन लागेन। गणित किताब त जलाउन पाए नि हुने जस्तो लागिरहेको थियो। घरमा आमालाई सबै कुरा बताएँ। एसएलसी कहिल्यै पास गर्न नसक्ने असमर्थता प्रकट गरेँ । घरमै बस्छु, स्कूल जान्नँ भन्दै रोएँ। भोलिपल्ट स्कूल गइनँ। बाबा र दाजुले कारण थाहा पाइसक्नुभएको थियो। तैपनि केही भन्नुभएन। दिनभरि आमाले बीचमै पढाइ छोड्नेहरूको जीवन कसरी असफल भएको छ भनेर उहाँलाई थाहा भएजति उदाहरण दिनुभयो। स्कूल एकदिन नजाँदा पनि दिन बिताउन निकै गाह्रो लाग्यो। साँझतिर एक्लै ढोका थुनेर त्यो किताबलाई अँगालो हालेर रोएँ। तीन महिना अघि गाता हालेको नयाँ किताब जस्ताको तस्तै थियो। हुन पनि गणित किताब त मैले धेरै पल्टाएकै रहेनछु।
अब त यस्तो पाराले भएन भन्ने सोचेँ। पुस्तकको एउटा अध्याय पल्टाएँ। उदाहरण हेर्दै एउटा प्रश्न हल गरौँ कि जस्तो लाग्यो। गरेँ पनि। अब मिल्यो कि मिलेन भन्दै पुस्तकको पछाडि दिइएको उत्तर हेरेको मिलेन। ‘हो यही भएर हो मलाई गर्न मन नलाग्ने’ भनेर मनमनै आफैँलाई गाली गर्दै किताब-कापी हुत्याएँ। अनि मज्जाले सिरकले मुख छोपेर सुतेँ। ढोका कसैले ढक्ढकाएको जस्तो लाग्यो, उठेर खोलिदिएँ। दाजु हुनुहुँदोरहेछ। ढोकाछेउको हुत्याइएको किताब-कापी पल्टाउनुभो र मुसुक्क हाँसेर भन्नुभो, ‘घइँटीले हिसाब मिलाइछे त। आफैँ गर्या हो ?’‘हो' भन्दै टाउको हल्लाएँ। ‘ल मेरो सामु गर त’ भन्नुभो। फेरि गरेँ।
यसपालि अघिको भन्दा फरक उत्तर आयो जुन किताबको एन्सरसँग पनि मिल्यो। दाजुले भन्नुभो, ‘अम् अब चाहिँ पूरै मिल्यो। अघिको जोडेको नमिल्या मात्र हो क्या प्रक्रिया सबै मिल्याथ्यो।’ म फुरुङ्ङ परेँ। त्यो दिन निकैबेर सिकेँ दाजुसँग। भोलिदेखि यसै गरी सिक्नुपर्छ भन्ने अठोट गरेँ। त्यसअघि मलाई आएन सिकाइदिनु भन्न पनि कहिल्यै मन लागेन। किनकि गणित पढ्ने भनेपछि शरीर उसै लल्याकलुलुक गलेर आउँथ्यो।
भोलिपल्ट त कति बेला विद्यालय जानु जस्तो भयो। अब गणित जानिहालेँ नि भनेजस्तो आत्मविश्वास बढेर आयो। सामान्य बोलीचालीमा प्रयोग हुने नेवारी भाषा पनि कनीकुथी साथीहरुसँग सिकिसकेकाले साथीहरूसँग नजिकिइसकेकी थिएँ। सबै साथीसँग घुलमिल भइसकेकी थिएँ। अब त नआएको समस्या साथीहरूसँग पनि छलफल गर्न थालेँ। अरू विषयभन्दा यसैलाई बढी महत्व दिन थालेँ। दाजुले अनेक प्रयत्न गरेर बीजगणित सहज हुने गरी सिकाइदिनुभो। अलि अलि जान्न थालेपछि एसएलसी पास हुन पुग्ने ३२ चाहिँ जसरी नि ल्याउँछु भन्ने अठोटले पढ्न थालेँ।
दोस्रो त्रैमासिकमा ३० नम्बर आयो। तै पनि खुसीको सीमा थिएन। मेरा साथीहरू त्रैमासिक परीक्षाहरूमा धेरै नम्बर आएन भनेर पीर मान्दा म भने पासको नजिक नजिक त पुगेँ नि भनेर फुरुङ्ग हुन्थेँ। विद्यालयमा पनि गणित पढाउने गुरुहरूसँग कुनै संकोच नमानी आफूलाई नआएको सोध्न सक्ने भएकी थिएँ। बीजगणित बुझ्दै गए पनि ज्यामिति चाहिँ अझै दिमागमा घुसेन। उपाय केही थिएन। जसरी पनि ३२ त नल्याई भएको थिएन। साध्य कण्ठ गर्न थालेँ। मिन (मध्यक), मिडिएन (मध्यिका) अलि सजिलो लाग्यो। त्यसमा जोड दिएँ।
तैपनि प्रिटेस्ट र टेस्टमा ३० नम्बरभन्दा माथि जानै सकिनँ। जति गरे पनि ३२ पुर्याउन नसक्दा भित्रभित्रै म निकै चिन्तित भएँ। एसएलसी जतिजति नजिकियो मलाई फेल हुने भएँ भन्ने भयले ढुकढुकी बढ्थ्यो। संयोग नि फेरि त्यस्तै पर्ने। जहिल्यै प्राय : परीक्षाकै बेलामा नै मिन्स हुने। त्यसले गर्दा पेट दुखेर असह्य हुन्थ्यो। एसएलसीको परीक्षामा पनि गणितको परीक्षाको दिन मिन्स भएको दुई दिनमात्र भएथ्यो। दुखाइ कम गर्ने औषधी खाएर गएँ।
घरमा सबैको हौसला अनि मेरो आत्मविश्वास र गुरुहरूको सहयोगले मैले परीक्षामा पास हुनेसम्म गरेछु। साँच्चै गणितमा त ३२ नै आएछ। म त यतिले पनि धेरै खुसी भएँ। अहिले पनि कसैले मार्कसिट हेर्नुभो भने गणितको नम्बर हेरेर मुख अमिलो बनाउनुहुन्छ। तर आफूलाई त त्यो अंक ९९ भन्दा कम लाग्दैन। किनकि त्यो ३२ का लागि मेरो धेरै संघर्ष परेको थियो। अहिले उमेरले ३२ वर्ष भर्खरै पार गर्दा मलाई यो अंक झन् प्यारो लाग्छ।
गणितकै कारण एसएलसी कनिकुथी पास भएपछि उत्तिखेरै घर नजिकैको एउटा निजी स्कूलमा पढाउने जागिर पाएँ। झन्डै ६ वर्ष सो स्कूलमा पढाएपछि आफैँ ८ कक्षासम्म पढेको सरकारी स्कूल वागेहिणी मा.वि.मा राहत कोटामा नि.मा.वि. तहमा शिक्षक माग भएबमोजिम दर्खास्त दिएँ र नाम पनि निकालेँ। एक दिन स्थायी भइने आशैआशामा पेसालाई निरन्तरता दिइरहेँ। यसैबीच केही महिनाअघि मात्रै लोकसेवामा नाम निकालेपछि निजामती सेवामा प्रवेशसँगै गह्रौँ मन लिएर ‘अस्थायी शिक्षक’कै हैसियतमा १६ वर्ष बिताएको शिक्षण पेसाबाट अलग भएँ।
जिन्दगीमा अझै धेरै अगाडि बढ्ने अठोट छ। अघि बढ्न सक्छु भन्ने विश्वास पनि। विश्वविद्यालय शिक्षाको कुरा गर्दा कहीँ कतै ‘ब्रेक’ नलागीकन आजभन्दा आठ वर्षअघि नै प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गरेँ। किनभने मैले एसएलसीपछि गणित पढ्नै नपर्ने गरी विषय छान्न पाएँ। कहिलेकाहीँ यसो गम्छु— एसएलसीमा गणितमा ३२ ल्याउन नसकेको भए ! मेरा पाइला कहाँ कसरी रोकिने थिए होलान् ? कतै ‘असफल’ विद्यार्थीको कलंक निधारमा बोकेर पो हिँडिरहेकी हुन्थेँ कि ! त्यसैले म आफैँलाई हेरेर बेलाबेला मनमनै भन्ने गर्छु, एसएलसीबाट एसईई भएसँगै अवलम्बन गरिएको यो अक्षरांकन (ग्रेडिङ) प्रणालीले विद्यार्थीको जीवनमा कमसेकम ‘असफल’को धब्बा लाग्नबाट बचाएको छ।
[email protected]