भैरहवाका पत्रकारको कोरोना बिमा
भैरहवा : महामारीमा जोखिम मोलेर काम गरिरहेका पत्रकारका लागि लुम्बिनी प्रेस क्लबले बिमा कम्पनीसँग सम्झौता गरेको छ ।
क्लबले आफ्ना सबै सदस्यको बिमा कम्पनीसगँ कोरोना बिमा सम्झौता गरेको हो । हाल नेपालको सीमा क्षेत्रमै बढी संक्रमित फेला परिरहेका छन् । भैरहवा सीमा क्षेत्र हो। तर, पनि यहाँका पत्रकार समान्य मास्कको भरमा जोखिम मोलेर काम गरिरहे पनि उनीहरुको स्वास्थ्य सुरक्षाका लागि पत्रकार महासंघले कुनै ध्यान दिएको छैन ।
सीमा क्षेत्रमा रहेर जोखिमपूर्ण तरिकाले काम गरिरहेका पत्रकारको सुरक्षाका लागि बिमाको व्यवस्था गरिएको क्लबका अध्यक्ष दिपेश पछाईले जानकारी दिए ।
हाल पत्रकार आवद्ध संचारगृहबाट तलब आउन रोकिएको अवस्थामा कदमकदाचित कोही संक्रमित भएर अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आईपर्ने आर्थिक समस्यामा बिमा कम्पनीबाट उपलब्ध हुने रकमले थोरै भए पनि राहत हुने उद्देश्यले बिमा गरिएको क्लबले जनाएको छ ।
क्लब र बिमा कम्पनीबीच भएको सम्झौता अनुसार फिल्डमा खटिएर काम गर्ने क्रममा कुनै पत्रकारलाई संक्रमण भएमा बिमा कम्पनीले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ ।
योसँगै मधेसी पत्रकार समाज नेपाल रुपन्देही र न्यूज ओके मीडियाले पनि संस्थामा आवद्ध पत्रकारको कोरोना बिमा गरेको छ ।