रुपन्देहीका पहिलो संक्रमितको गुहार : मेरी आमालाई बचाइदेउ सरकार
भैरहवा : कुनै व्यक्ति रहरले आफ्नो देशको माटो छाडेर विदेशमा पसिना बगाउन जाँदैन । बेरोजगारी, गरिबी लगायतका कारणले नै नेपाली वैदेशिक रोजगारमा जान बाध्य हुन्छन् । त्यहाँ कमाएको पैसाले यहाँ परिवारको गुजारा चल्छ । यस्तै रुपन्देहीका पहिलो कोरोना संक्रमित कोटहीमाई गाउँपालिका १ पुर्निहवाका कृष्णकुमार पासवान पनि परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण दिल्लीमा पसिना बगाउन पुगे ।
कोरोना संक्रमणको भयावह अवस्था भएपछि मालिकले दिएको पाँच सय रुपैयाँ लिएर बाटोमा कयौँ दिन हण्डर खाँदै क्वारेन्टाइन र अस्पताल हुँदै नेपाल आए । उनलाई कोरोना संक्रमण भयो र निको भएर अहिले घरमा छन् । तर, परिवारिको आर्थिक अवस्था कमजोर भएकै कारण बिरामी आमाको ज्यान जोगाइदिन अनुरोध गर्दै छन् । आमालाई अस्पतालमा राखेर उनका दाइ दौडधुप गरिरहेका छन् । दाइ दिलिपसँग भएको पैसा सकिन थालेको छ । उनीसँग अहिले दुई हजार रुपैयाँ मात्र छ ।
‘मामासँग केही पैसा मागेर आमाको उपचार गराउन घरबाट हिँडेकाे थिएँ’, कृष्णाका दाइ दिलिपले अन्नपूर्णसँग भने, ‘अब मेरो खल्तीमा दुई हजार रुपैयाँ मात्र बचेको छ । आमाको ज्यान कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ ।’
चिकित्सकका अनुसार उनकी आमा तिलेश्वरी पासवानलाई मिर्गाैलाको समस्या, पाठेघरबाट रगत बगिरहेको र पेट सुन्निएको छ । आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामी हुन् उनी । अवस्था नाजुक छ । तर, पैसाको अभावमा उनी मृत्युसगँ जुधिरहेकी छन् । उनलाई न त गाउँको सरकारले हेरेको छ न त सिंहदरबारले । बस, उनीसँग छन् त केवल हाल लकडाउनले बेरोजगार भएका छोरा । तर आर्थिक अभावले बिरामी आमाको मुखमात्र टुलुटुलु हेर्न विवश छन् छोराहरु । उनीहरुको हारगुहार सुन्ने अहिले कोही छैन ।
वडाअध्यक्ष भन्छन्, ‘विकासे योजनाको बजेट छ, कसरी उपचारका लागि दिनु ।’