सुत्केरीको मृत्युपछि स्वास्थ्य संस्थासहित सिन्धुपाल्चोकका तीन वडा सिल
काठमाडौं : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया एक सुत्केरीको कोरोनाले मृत्यु भएपछि तीन वडा सिल भएका छन्। जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकाको ९ राम्चे, बलेफी गाउँपालिकाको ७ र ८ सिल गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।
'बाह्रबिसे नगरपालिकाको ९ नम्बर वडा राम्चे तथा बलेफि गाउँपालिकाको वडा नम्बर ८ र ९ माइती गाउँलाई सिल गरी कसैलाई बाहिर आउन र वडाभित्र जान नदिने। साथै उक्त क्षेत्रका बासिन्दालाई घर बाहिर निक्लिन नदिने। सिल गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अनुरोध गर्ने' समितिको बैठकमा निर्णय भएको छ।
त्यस्तै उक्त महिला बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पनि उपचारका लागि गएकाले स्वास्थ्य केन्द्र पनि सिल गर्ने निर्णय भएको छ।
शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको छ। वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते डेलीभरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन्। घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो।
आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो। पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको स्रोतले अन्नपूर्ण अनलाइनलाई जानकारी दियो। तर मन्त्रालयले अध्ययन गर्ने भन्दै रिपोर्ट सार्वजनिक गरेको छैन्।