'लिपुलेकको बाटोमा तीर्थयात्रीमात्रै होइन सैनिक ट्यांक पनि गुड्न सक्छ'
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपाली भूमि कब्जामा लिएर बनाएको लिपुलेक बाटोमा तीर्थयात्रीमात्रै नभइ सैनिक ट्यांक पनि गुड्न सक्ने बताएका छन् । भारतीय सेना प्रमुखको अभिव्यक्तिले पनि उक्त बाटो सैनिक उद्देश्यले बनाएको हुनसक्ने उनको भनाइ थियो ।
नेमकिपा समर्थित पत्रकार समाज नेपालले आयोजना गरेको भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडकसम्बन्धी अनलाइन प्रवचनमा अध्यक्ष बिजुक्छेले भने, 'भारतले तीर्थयात्रुको लागि मात्रै नेपाली भूमि अतिक्रमण गरी बाटो बनाएको होइन । आवश्यक परे उक्त बाटोमा सैनिक ट्यांक पनि गुड्न सक्छ ।’
उक्त बाटो निर्माणसँगै नेपाल साम्राज्यवादी युद्धको आधारभूमि बन्न सक्ने खतरा बढेको उनको विचार थियो ।
नेता बिजुक्छेले साम्राज्यवादी संयुक्त राज्य अमेरिकाको सहयोगमा भारतीय शासक वर्गले दक्षिण एसियामा आफ्नो आक्रामक नीति लागू गर्न खोजेको समेत प्रस्ष्ट पारे । त्यसैको प्रतिफल भारतले नेपालमाथि मिचाहा प्रवृत्ति देखाएको उनको आरोप थियो । नेपाली भूमि प्रयोग गरी चीनमाथि साम्राज्यवादी हमला हुन सक्ने उनको आशंका थियो । भारतको सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) को आक्रामक फासीवादी नीतिबाट प्रेरित रहेको नेता बिजुक्छेको भनाइ थियो ।
उनले भारतीय शासक वर्गले नेपाललाई सानो देश ठानेर हेप्नु गलत हुनेतर्फ सचेत गरे ।
‘असल मित्र देश हो भने छिमेकीसँग मिलेर बस्न सक्नुपर्छ’, नेता बिजुक्छेले भने, ‘हामी युद्धविरोधी हौं । यतिबेला हाम्रो लडाइँ कोरोना भाइरसको महामारीविरूद्ध हुनुपर्छ ।’ उनले पश्चिमा साम्राज्यवादले एसियाली देशहरू लडाएर नयाँ युद्ध गर्न खोजिरहेको बताए ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले भारतले नेपाली भूमि अतिक्रमण गरेकोविरुद्ध नेपाल सरकार अन्तर्राष्ट्रिय अदालत र अन्तर्राष्ट्रिय मञ्चमा पुग्नुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा भारतीय हस्तक्षेपबारे केही नगरेका पूर्वप्रधानमन्त्रीहरुले अहिले भारतीय हस्तक्षेपको विरोध गर्नुको तुक नभएको उनको भनाइ थियो ।‘पूर्वपदाधिकारीको सुरक्षाको नाममा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गर्नुपर्छ’, संघीय सांसदसमेत रहेका सुवालले भने, ‘औद्योगिक क्षेत्रहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउनुपर्छ । आवश्यक परे नेपाली सेना परिचालन गर्नुपर्छ ।’
पत्रकार भैरव रिसालले बालुवाटार र सिंहदरबारमा आफ्ना सल्लाहकार र मन्त्रीसामु सीमा अतिक्रमणबारे बोल्ने सरकार प्रमुखले त्यही कुरा अन्तर्राष्ट्रिय मञ्चमा बोल्नसक्नुपर्ने विचार राखे । नेपाली जनताले अरूको कुरा सुनेर भारतीय हस्तक्षेपको विरोध गरेको भन्ने भारतीय सेना प्रमुखले बोल्नु केटाकेटीपन भएको उनको भनाइ थियो ।
सीमा बचाउ अभियानका अभियन्ता रिसालले अब कूटनीतिको परिभाषासमेत परिवर्तन गर्ने बेला आएको स्पष्ट पारे । नेपाल–भारत सम्बन्धमा मौन र भद्र कूटनीतिले काम नगरेको भन्दै उनले अब धर्ना बसेर हुन्छ कि ह्यान्ड ब्रेक कूटनीतिक प्रयोग गरेर हुन्छ नेपाली भूमि फिर्ता गरेरै छाड्नुपर्नेमा जोड दिए ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले लिपुलेकमा सडक बनाउने भारतीय कदमविरुद्ध नेपाल सरकारले ह्यान्ड ब्रेक कूटनीति प्रयोग गर्नुपर्ने धारणा राखे ।
लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा निकालेर विद्यालय, कार्यालय र घर–घरमा पुर्याउन ढिलो भइसकेको उनको भनाइ थियो ।
त्यस्तै सिमाना अध्येता रतन भण्डारीले लिम्पियाधुरा नै त्रिदेशीय नाका भएकाले अब सम्पूर्ण सीमा अतिक्रमणविरुद्ध आवाज उठाउने बेला आएको धारणा राखे ।
नेपालले कहिले लिपुलेक, कहिले कालापानी र लिम्पियाधुराको मात्र कुरा गर्ने गर्दै आएको उनको भनाइ थियो ।‘भारतको अतिक्रमणकारी कदम र नेपाल सरकारको गैरजिम्मेवार व्यवहार नै आजको अवस्थाको दोषी हो’, भण्डारीले भने ।