कोरोना संक्रमित पृतनापतिको सम्पर्कमा आएका दोलखाका सबैको आरडीटी परीक्षण गरिने
चरिकोट : नेपाली सेनाका मध्यपूर्वी पृतनापति शनिबार संक्रमितको सूचीमा परेपछि उनको सम्पर्कमा पुगेका दोलखाका सबैको आरडीटीको तयारी गरिएको छ। सदमुकाम चरिकोटस्थित तारादल गणले दुई हप्ताअघि आयोजना गरेको कोरोना भाइरसबाट मृत्यु भएमा उद्धारदेखि दाहसंस्कारसम्म गरिने प्रक्रियाको अभ्यासको निरीक्षण गर्न आएका पृतनापतिको सम्पर्कमा पुगेका दोलखाका सबैको आरडीटीको तयारी गरिएको हो ।
सो अभ्यास कार्यको निरीक्षणमा पुगेका सबैको सुरुमा आरडीटीको तयारी गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । तारादल गणले सो अभ्यास कार्यमा सीमित मात्रलाई अतिथि बनाएको प्रजिअ शर्माले जानकारी दिए । अभ्यास कार्यको निरीक्षण गर्न दोलखा आएका पृतनापति २ दिनसम्म दोलखा बसेको स्रोत बताउँछ । अभ्यास कार्यमा संलग्न सेनाहरुका साथै निरीक्षणमा पुगेका प्रशासक, प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी सबैको आरडीटी गर्नु पर्ने अवस्था आएको प्रजिअ शर्माले जानकारी दिए ।
आइतबार बैठक बसेर आरडीटी गर्नुपर्नेको संख्या एकिन गरिने प्रशासन स्रोतले जनाएको छ । अभ्यास कार्यको निरीक्षणमा करिब सयजनाको उपस्थिति रहेको एक सञ्चारकर्मीले जानकारी दिए।
अभ्यास कार्यमा संलग्न सेना तथा अन्य सहभागी। तस्बिर सौजन्यः विभुकुमार झा