कालिकोटमा ४ सय ९० जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
कालिकोट : जिल्लामा ४ सय ९० जनाको र्यापिड टेस्ट गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार आइतबारसम्म जिल्लाका ९ वटै स्थानीय तहमा गरी कुल ४ सय ९० जनाको र्यापिड टेस्ट गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार विदेबाट आएका तथा संकास्पद ठाउँबाट आएकालाई लक्षित गरी नमूनाका रुपमा र्यापिड टेस्ट गरिएको छ । उनका अनुसार र्यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्लाको खाँडाचक्र नगरपालिकामा ७६, रास्कोट नगरपालिकामा ८२, तिलागुफा नगरपालिकामा २९, पलाँता गाँउपालिकामा १६, पचालझरना गाँउपालिकामा ४६, सान्नीत्रिवेणी गाँउपालिकामा ५१, नरहरीनाथ गाँउपालिकामा ७३, शुभकालिका गाँउपालिकामा ५० र महाँवै गाँउपालिकामा ८७ जनाको र्यापिड टेस्ट गरिएको छ ।
यस्तै जिल्ला भरी ५७ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको छ । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतका अनुसार खाँडाचक्र नगरपालिकामा ४, तिलागुफा नगरपालिकामा १३, पलाँता गाउँपालिकामा १०, सान्नीत्रिवेणी गाँउपालिकामा ११, नरहरीनाथ गाउँपालिकामा १०, शुभकालिका गाउँपालिकामा २ र महाँवै गाउँपालिकामा ७ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ ।
पछिल्लो समय जिल्ला बाहिरबाट व्यापक रुपमा मानिस भित्रिएका छन्। जिल्ला बाहिरबाट भित्रिएका मानिसलाई लक्षित गरी टेस्ट गर्ने गरिएको छ । नेपालगञ्जलगायतका मुलुकका विभिन्न सहरमा कोरोनाको संक्रमण बढ्दै गएका कारण जिल्लामा थप सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए ।
उनका अनुसार प्रदेश सरकारको पहलमा जिल्लाका गाउँ गाउँमा परीक्षण सुरु गर्नुका साथै जिल्लामा लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरिएको छ । पछिल्लो समय जिल्ला बाहिरबाट आएका मानिसलाई बस्नका लागि व्यवस्था गरिएका क्वारेन्टाइन खाली हुँदै गएका छन् । जिल्लाका ९ वटै स्थानीय तहमा हाल ३६ जना मानिस मात्र क्वारेन्टाइनमा छन् ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लामा कोरोनाविरुद्धको अभियानमा ३ सय ७४ जना स्वास्थ्यकर्मी फिल्डमा सक्रिय रुपमा लागिरहेका छन् । हालसम्म जिल्लामा १ हजार १ सय ८९ मानिसलाई क्वारेन्टाइनमा राखिएको थियो भने १ हजार १ सय ५१ जना घर फर्किसकेका छन् । जिल्लामा हाल १ हजार ८४ क्वारेन्टाइन बेड रहेका छन् । १५ बेडको आइसोलेसन तयारी गरिएको छ भने प्रदेश सरकारको सहयोगमा थप ५० बेडको आइसोलेशन तयार गर्न लागिएको छ ।