क्वारेन्टाइनमा बस्नेसँग अमानवीय व्यवहार : सडकमा चिया फालेर बिस्कुट

क्वारेन्टाइनमा बस्नेसँग अमानवीय व्यवहार : सडकमा चिया फालेर बिस्कुट

महोत्तरी : क्वारेन्टाइनमा ११ जना बसेका छन् । स्वास्थ्यकर्मीले उनीहरुलाई तातो पानी खानुपर्छ भन्छन् । तर, उनीहरुले चिसो पानी पनि पाउँदैनन् । हातधुने साबुन र नुहाउने सावुन पनि व्यक्तिपिच्छे अलग छैन । क्वारेन्टाइनमा हात सफा गर्ने सेनिटाइजर छैन ।  महोत्तरीको बर्दिबास नगरपालिकाले बर्दिबास सेवा समितिको भवनमा संचालन गरेको क्वारेन्टाइनको अवस्था दयनीय छ । 

बाटोमा चियाको गिलास राखिदिन्छन्,  बिस्कूट फालिदिन्छन् । चिया दिने मान्छे जान्छ अनि क्वारेन्टाइनमा बसेकाले टिपेर खान्छन्, यस्तो अमानीय दृष्य व्यवहार गरेको गुनासो क्वारेन्टाइनमा बसेकाको छ । पेट दुखेको ७२ घण्टामा बल्ल औषधी आउने गुनासो उनीहरुको छ । बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्की क्वारेन्टाइन व्यवस्थापनमा गम्भीर नबनेको त्यहाँ  बसेका बताउँछन् । मेयर कार्की चार दिनदेखि क्वारेन्टाइनमा अवलोकन गर्न नगएको उनीहरुले बताए  । 

क्वारेन्टाइनमा पिउने पानी छैन

‘दुई बोतल पानीमा खाना र खाजा खानुपर्छ । त्यो पनि चिसो पानी, धाराको,’क्वारेन्टाइनमा बसेका  प्रमोदकुमार राउतले भने, ‘जारको पानी दिनुस्, तातो गर्ने व्यवस्था मिलाइदिनुस् भनेर मेयर साबलाई भनेको तीन दिन भयो । कुनै सुनवाइ भएन ।’ महोत्तरीको बर्दिबास-१३ बिजलपुरा भेडियाहीका प्रमोद १२ दिनदेखि क्वारेन्टाइनमा बसिरहेका छन् । 


 
भारतमा कमाउन गएका उनी भोकै भएपछि लुकेर सीमा पार गरी नेपाल पसेका थिए । उनी छठ पर्व मनाएर भारतको अम्दावाद कामको खोजमा गएका थिए । होटलमा उनी र उनका साथी लालबाबु राउतसँगै काम गर्थे । लकडाउन भयो । अब खुल्छ, तब खुल्छ भनेर कुर्दाकुर्दै ४५ दिन बित्यो । खुल्नुको साटो लकडाउन झनझन् थपिँदै गयो । भारत सरकारले ट्रेन कुदाउने निर्णय गर्‍यो । उनीहरु रेल चढेर त्यहाँबाट नेपाल फर्किए ।
     
‘ट्रेनले मुझप्परपुर झारिदियो । त्यहाँबाट हिँडेर बोर्डरमा आएँ । प्रहरीले नेपाल छिर्न दिएन । त्यसपछि भारततिर फर्किन खोजें’,उनले भने । भारतीय प्रहरीले भन्यो, ‘तिमीहरु यहाँ बस्न पाउँदैनौ, नेपाल जाओ ।’


     
‘हामीले भन्यौं, कसरी जाने बोर्डर बन्द छ । उनीहरुले चोर बाटो देखाइदिए । झिसमिसे बिहानीमा हामी लुकेर नेपाल छिर्‍यौं,’प्रमोदले भने ।
‘ढेड महिनासम्म भारतमै लकडाउनमा बसेँ । त्यहाँ काम बन्द भयो । हामी भोकै हुन थाल्यो । भोकै मर्ने भए आफ्नै देशमा मरौंला, झोला उतै फालिदिए । सिर्फ ज्यान लिएर नेपाल आएँ,’उनले सुनाए,‘भोकभोकै, अनिद्रो, हिँडेर गाउँमा आएँ । गाउँमा छिर्नै दिएनन् । त्यसपछि क्वारेन्टाइनमा ल्याएर राखिदिए ।’

‘हामी इमान्दारी साथले बसिरहेका छौं । हाम्रो दुःखेको मनमा सरकारले मलहम पट्टी गर्नु पर्ने हो । तर, पेटभरि पानी पनि खान दिएको छैन,’ उनले भने,‘ हामी क्वारेन्टाइनमा बसेको १२ दिन भयो । यतिका दिनमा मात्र २ दिन खाजा आयो । त्यो पनि भुजा, च्युरा—तरकारी, चाउमिन दिन्छ ।’ उनीहरुको करोना जाँचको गरिएको छैन ।

‘हामी इमान्दारी साथ क्वाइरेन्टाइनमा बसिरहेका छौं । हाम्रो इमान्दारीतामाथि सरकारले खेलवाड गरिरहेको छ,’ उनले भने,‘पेट दुःख्दा ७२ घण्टापछि औषधी ल्याएर दिन्छ । के हामी मान्छे होइनौं । योभन्दा हामीलाई घर पठादिनुस्, घरमै बसौंला ।’

‘भोकै भएपछि लुकेर नेपाल आएँ’

प्रमोद जस्तै भारतबाट पाँच दिन अघि महोत्तरीको बर्दिबास-९ पशुपतिनगरका ४५ वर्षीय विजय दास नेपाल आए । उनी पनि बर्दिबास नगरपालिकाको क्वारेन्टाइनमा बसेका छन् । ‘हामी होली सकेर कामको खोजीमा भारतको हरियाना गएका थियौं,’ विजयले भने,‘ गएको तीन दिन मात्र काम चल्यो । त्यसपछि लकडाउन भयो ।  कहिले भोकै त कहिले आधापेट नुन रोटी खाएर ४५ दिन कटायौं । ४६ दिनमा भारतले ट्रेनमा चढाएर सीमामा छोडिदियो ।’ एक धुर घडेरी नभएका उनले नकमाए परिवारको मुखमा माड नलाग्ने सुनाए । 

नेपाल कसरी छिर्नु भयो ? भन्ने प्रश्नमा उनले भने, ‘बोर्डरमा गयौं । भारतीय प्रहरीलाई हात जोडेर भन्यौं, हजुर हामी नेपालका छौं, हामीलाई नेपाल पुर्याइदिनुस् । यही राख्नु हुन्छ भने क्वारेन्टाइनमा राखिदिनुस् ।’ भारतीय प्रहरीले जवाफमा उनीहरुलाई भने,‘हामी यहाँ राख्दैनौं पनि, पुर्‍याउँदैनौं पनि । जताबाट मन लाग्छ उताबाट जाऊ ।’

भारत सरकारले नराख्ने र नेपाल सरकारले देश पस्न नदिने भएपछि विजय बडो समस्यामा परे  । त्यसपछि उनी सीमा क्षेत्रको नजिकैको नेपाली गाउँ आए ।  भोकै प्यासै रहेका उनको टोलीलाई  नेपालीले खाना दिए । साँझ ६ बजेतिर आफ्नै देश नेपाल पसे विजय उनका साथी रामकुमार  र श्याक यादव । उनीहरु पक्की घर बनाउन सिपालु छन्,  त्यही काम गर्न होली सकेर हरियाना गएका थिए ।

पाँच दिनदेखि क्वारेन्टाइनमा बसिरहेका विजयले हात जोडेर अन्नपूर्णकर्मीसँग दुःख पोख्दै भने, ‘खाना त जसोतसो पाइन्छ । पिउने पानीको ठूलो समस्या छ । बसेका घर जस्तापताले छाएको छ । घाम लागे धेरै गर्मी हुन्छ । पंखा छैन । पंखा नभएर घरभित्र सुत्नबस्न पनि अप्ठयारो भइराखेको छ। पानी पर्‍यो भने जाडो लाग्छ, न्यायो ओड्ने छैन।'

‘हामीलाई यहाँ घृणा गरिन्छ’ 

‘एघार जना बसेको क्वाइरेन्टानमा दुई वटा बाल्टिन छ । हात सफा पर्ने सेनिटाइजर छैन । प्रहरी पनि साँझ ६ बजे आउँछन्, बिहान गइहाल्छन् । शरीरको केही हेरचाह छैन । मान्छे हालेको हालै छ, दवाइ छर्दैन,’ त्यहाँ बसेकी महोत्तरीको हात्तिलेट खजुरियाँकी शान्ति विश्वकर्माले भनिन् ।

चुलाई दास चौधरी महोत्तरीको बर्दिबासमा कवाडीको काम गर्थे । लकडाउन भयो । ढेड महिना उनी बर्दिबासमै बसे । पैदल उनी आफ्नो घर उदयपुर पुगे । त्यहाँ पनि कसैले घरमा पस्नै दिएनन् । हिँडेर फेरि उनी बर्दिबास फिर्ता भए । बर्दिबास नगरपालिका  वडा नम्बर-१ का वडा अध्यक्ष चुडामणी पोखरेलले क्वारेन्टाइनमा ल्याएर राखिदिए । उनी क्वारेन्टाइनमा बसेको २१ दिन भयो । उनको कोरोनाको  चेकजाँच अहिलेसम्म भएको छैन । ‘हामीलाई यहाँ घृणा गरिन्छ,’ उनले भने, ‘बाटोमै चिया राखिदिन्छन्, बिस्कुट फालिदिन्छन् । अनि उठाएर खान्छौं । ’

क्वारेन्टाइन व्यवस्थान गर्छौं : मेयर कार्की

यता बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले क्वारेन्टाइनको व्यवस्थान राम्रोसँग नभएको  स्वीकार गरेका छन् । ‘त्यहाँबाट अर्को ठाउँमा क्वारेन्टाइन सार्ने तयारी गरेका छु । व्यवस्थापन राम्रो भएको छैन । आफ्नै मेसमा खाना बनाएर खुवाउने व्यवस्था मिलाउँछु,’ उनले भने,‘आखिर नगरपालिकाको खर्च भएकै छ, मान्छेले दुःख पाएको स्वीकार गर्न सकिंदैन । चिया बिस्कुट सडकमा फालेर दिनु जस्तो हर्कत मेरै आँखा अगाडि पनि भएको छ । त्यो क्षम्य छैन ।’ क्वारेन्टाइनमा बसेकाको परीक्षणको तयारी भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.