कोरोना संक्रमितको शव बोक्ने दुई स्वयंसेवक आइसोलेसनमा
भक्तपुर : कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव बोक्ने गाडी चलाउने भक्तपुरका दुई युवालाई आइसोलेसनमा राखिएको छ ।
भक्तपुरका स्वयंसेवी दुई युवा अरुण सैंजू र राजेश गाइँजूले काभ्रेको धुलिखेल अस्पतालबाट ती महिलाको शव आफ्नो गाडीमा राखेर ल्याई काठमाडौंको पशुपतिनाथस्थित विद्युतीय शवदाह गृहसम्म व्यवस्थापन गरेका थिए ।
उनीहरुलाई भक्तपुरको सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणले गण बाहिर व्यवस्थापन गर्ने आइसोलेसनमा राखिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले उनीहरुको कोरोना परीक्षण गरेर नतिजा नआएसम्म उक्त आइसोलेसनमा राखिने जानकारी दिए ।
उनीहरुलाई आइसोलेसनमा राखिनुअघि उनीहरुले प्रयोग गरेको पीपीईलगायत भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनीमा आगो लगाएर नष्ट गरिएको थियो । त्यस्तै महिलाको शव बोक्न उनीहरुले प्रयोग गरेको गाडीसमेत निसंक्रमण –डिस्इन्फेक्सन गरेपछि सल्लाघारीको ९९ रोपनीमै आइसोलेट गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
भक्तपुर स्वयंसेवी युवा सैंजु र गाइँजूसहित चार जना युवाले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन घोषणा गरेदेखि भक्तपुर अस्पतालमा बसेर स्वयंसेवी भएर कार्य गर्दै आएका हुन् । सैंजू र गाइँजूसँगै न्हुज किजू र पुनम कर्माचार्यले भक्तपुर अस्पतालमा क्याम्प नै खडा गरेर स्वयंसेवा दिँदै आएका हुन् । आरएनए १६ नामक संस्थामा आवद्ध उनीहरुले कोरोना भाइरस संक्रमणको जस्तै लक्षण आएका बिरामीहरु लिन जाने, उपचारपछि पु¥याउन जाने तथा अस्पतालको फिभर क्लिनिकमा सहयोग पु¥याउँदै आएका थिए । यसको लागि उनीहरुले कोरोना भाइरस संक्रमितहरुको सुरक्षित ओसारपसार गर्न हुने गरी मोडिफाई गरिएको गाडी प्रयोग गर्दै आएका छन् । शनिबार सोही गाडीमार्फत उक्त समूहका सैंजू र गाइँजूले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको शव सुरक्षित तरिकाले धुलिखेल अस्पतालबाट पशुपतिस्थित विद्युतीय शवदाह गृहसम्म लगेका थिए ।
पाण्डोबजार र योसिंखेलको सिल हटाइयो
यसैबीच काठमाडौं महानगरपालिकामा काम गर्ने भक्तपुरको सूर्यविनायक नपा ६ पाण्डोबजार निवासी सफाइ मजदुरको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि यहाँको दुई ठाउँमा लगाइएको सिल हटाइएको छ ।
भक्तपुर नगरपालिका ५ योसिंखेलमा पुख्र्यौली घर भएका ती सफाइ मजदुर अहिले सूर्यविनायक नपा ६ पाण्डोबजारमा बस्दै आएका छन् । काठमाडौं महानगरपालिकाले गरेको द्रूत विधिको परीक्षण (आरडीटी) मा उनको पोजिटिभ आएको थियो । आरडीटी पोजिटिभ आएलगत्तै प्रहरीले उनको निवास रहेको पाण्डोबजार र योसिंखेलमा शनिबार बिहानै सिल गरेको थियो ।
तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार राती नै उक्त सिल हटाइएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । ‘पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै दुई ठाउँको सिल हटाइसकेका छौं’, उनले भने, ‘सफाइ मजदुर पनि घर फर्किसकेका छन् ।’
आरडीटी परीक्षण पोजिटिभ आएपछि काठमाडौंको टेकुमा उनको पीसीआर परीक्षण भएको थियो । उक्त परीक्षणसँगै उनलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
ट्रक चालकको रिपोर्ट आएन
त्यस्तै आरडीटी पोजिटिभ भएका भक्तपुर नपा १ सल्लाघारीका मिनिट्रक चालकको पीसीआर परीक्षणको रिपोर्ट भने आइतबार साँझसम्म आएको छैन । रामेछाप स्थायी घर भई हाल सल्लाघारी बस्दै आएका चालकको शनिबार बिहान भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रका आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।
आरडीटी पोजिटिभ देखिएपछि उनलाई शनिबार नै टेकु लगिएको थियो । टेकुमा परीक्षण गरिएको पीसीआरको रिपोर्ट आइतबार साँझसम्म प्राप्त नभएको भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
‘चालकको पीसीआर परीक्षणको रिपोर्ट प्राप्त भएको छैन’, उनले भने, ‘त्यसैले उनी बस्ने घरवस्तीको सिल हटाइएको छैन ।’ ती चालकको पीसीआर रिपोर्ट सार्वजनिक नहुँदा भक्तपुर नपा १ सल्लाघारीका स्थानीयमा त्रास फैलिएको छ ।
भक्तपुर आरएनए १६) लकडाउन सुरु भएदेखि भक्तपुर अस्पतालमा खटिएका आरएनए १६ का चार स्वयंसेवी दायाँबाट क्रमशः राजेश गाइँजू, अरुण सैंजू, न्हुज किजी र पुनम कर्माचार्य । जसमध्ये राजेश गाइँजू र अरुण सैंजूले कोरोना भाइरसको कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव धुलिखेल अस्पतालबाट पशुपतिस्थित शवदाह गृहसम्म गाडीमा लिएर गएका हुन् ।