‘कविकेशरी’ को मातृभाषा प्रेम
काठमाडौं : नेपाल भाषाका पहिला गद्यकवि हुन्, चित्तधर हृदय। ३३ वटा पुस्तकका लेखक उनले प्रायः आफ्नै मातृभाषा नेपाल भाषामा साहित्य सिर्जना गरे। चित्तधरको जन्म १९६२ साल जेठ ५ गते रक्तकाली, काठमाडौंमा भएको थियो। उनलाई राणा सरकारले ‘मातृविहीन बालक’ लेख्यो भनेर १९९७ सालमा जेल हाल्यो। उनी २००२ सालमा मात्र थुनामुक्त भए।
उनले महाकाव्य, खण्डकाव्य, गीत, कथा, निबन्धप्रबन्ध, नाटक, बालसाहित्य, समालोचना, आत्मकथालगायत विविध विधामा कलम चलाए। उनी अन्वेषक र सम्पादकका रूपमा पनि चिनिन्थे। उनी ‘झी’ मासिक पत्रिकाको संरक्षकदेखि कोलकाता नेपाल भाषा साहित्य गोष्ठीको संस्थापकसम्म थिए। उनले जेलमा नै चन्द्रमानसिंह मास्केबाट चित्र बनाउन पनि सिकेका थिए।
उनको निरन्तर लेखन साधनाका कारण राजा महेन्द्रले उनलाई २०१३ सालमा ‘कविकेशरी’ को उपाधि दिए। बुद्धोपासक चित्तधर, चित्त, हृदय, रूपरत्न उपासक, हृददर्शन उपासक, धर्मवीर, मनमाया, बुद्धिवज्र वज्राचार्यलगायत विभिन्न नाउँबाट उनले साहित्य लेखे।
२०२८ सालमा काठमाडौंमा एक कार्यक्रममा भाषण गर्दागर्दै चित्तधरलाई पक्षघात भयो। त्यसपछिको ११ वर्षसम्मको कष्टमय यात्रापछि २०३९ साल जेठ २६ गते हृदयाघातका कारण निधन भयो। २०४६ को जनआन्दोलनपछि कालिमाटीमा रहेको राजा महेन्द्रको सालिक हटाई चित्तधरको सालिक ठड्याइएको छ।
कवि चित्तधरले नेपाल भाषा साहित्यको इतिहास सम्बन्धमा पोखेका उद्गार, लेख, रचनालाई संग्रह गरी २०२३ सालमा पुस्तकको झिगु (हाम्रो) साहित्य प्रकाशन गरियो। कवि मोहन दुवाल भन्छन्, ‘यो पुस्तक प्रकाशनपछि नेपाल भाषाप्रति एक प्रकारको नयाँ जागृति आयो। यसमा पनि अनेक खालका आधुनिक साहित्य निर्माण हुन सक्छ भन्ने हेतुले यो पुस्तकको प्रचार अधिक भयो।’
विभिन्न प्रसंगमा सिद्धिचरण श्रेष्ठदेखि केदारमान व्यथितसम्मले कवि चित्तधरको लेखनीबाट प्रभावित भएर कविता लेखनमा आएको अभिव्यक्ति दिएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा विभागले चित्तधरको जन्मजयन्ती मनाउँदै आएकोमा यस वर्ष लकडाउनका कारण सम्भव नभएको विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीले बताइन्।
२०१६ सालमा नेपाल (नेवार) भाषा साहित्य उत्थानका लागि चित्तधरले नेपाल भाषा परिषद् आफ्नै अध्यक्षतामा गठन गरेका थिए। यो नेवार भाषा साहित्य उत्थान केन्द्रित नेपालको पहिलो साहित्यिक संस्था थियो। अहिले पनि यो संस्था अस्तित्वमा छ। परिषद्का वर्तमान अध्यक्ष प्रा. सुवर्ण शाक्य लकडाउनका कारण चित्तधरको जन्मजयन्ती मनाउन नपाएकोमा थकथक मान्छन्। शाक्यले भने, ‘चित्तधर आफूले मात्रै रचना गरेनन्। लेख्न चाहने सबैलाई प्रेरणा दिए। नेपाल भाषाको श्रीवृद्धिका लागि उनले देखेका सपना पूरा गर्न उनले स्थापना गरेको संस्थामार्फत रचनात्मक काम गर्न हामी लागिपरेका छौं।’
शाक्यका अनुसार चित्तधर जेल बस्दा त्यसैको सम्झनाको सेरोफेरोमा लेखेको महाकाव्य ‘सुगत सौरभ’ नेपालीका साथै अंगे्रजी भाषामा समेत अनुवाद भएको छ। उनका धेरै रचना नेपाल भाषाबाट नेपाली भाषामा अनुवाद भएका छन्। उनको वृत्तचित्र निर्माणदेखि हुलाक टिकटसम्म आएको छ। तर उनको जति चर्चा हुनुपर्ने हो, भएको छैन। उनका नेपाल भाषाका रचना माध्यमिक विद्यालयका कोर्सदेखि क्याम्पस तहका कोर्समा राखिएका छन्। कवि सुरेशकिरण चित्तधर नेपाल भाषामा आधुनिक कथा तथा निबन्ध लेखनको पनि जनक रहेको बताउँछन्।