भक्तपुर नपाका वडा सचिव र सफाइ मजदुरको आरडीटी परीक्षण 'पोजिटिभ'
भक्तपुर : भक्तपुरका नगरपालिकाका दुई कर्मचारीको द्रूत विधिको परीक्षण (आरडीटी) मा कोरोना भाइरसको संक्रमण पोजिटिभ आएको छ । भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य कार्यालयले गरेको उक्त परीक्षणमा एकजना वडा सचिव र अर्को सफाइ मजदुरको आरडीटी परीक्षण पोजिटिभ देखिएको हो ।
आरडीटी पोजिटिभ देखिएपछि भक्तपुर नपा ९ निवासी वडा सचिव र सफाइ मजदुरको घर तथा बस्ती सिल गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । त्यस्तै उनीहरुको घरपरिवार र सम्पर्कमा आएका व्यक्तिलाई सचेत गरिएको उनको भनाइ थियो ।उनले आरडीटी परीक्षण विश्वसनीय नभएकाले त्यसबारे हल्ला नगरिएको बताइन् ।
'भक्तपुर नपाका दुई कर्मचारीको आरडीटी परीक्षण पोजिटिभ आएको हो, प्रजिअ पाण्डेले भनिन्, 'आरडीटी परीक्षण त्यति विश्वसनीय छैन । फेरी पीसीआर रिपोर्ट पनि आएको छैन । त्यसैले हल्ला नगरिएको हो ।'
उनका अनुसार आरडीटी परीक्षण पोजिटिभ आएपछि उनीहरुलाई पीसीआर परीक्षणको लागि टेकु पठाएइको छ । उनीहरुलाई अहिले टेकुकै आइसोलेसनमा राखिएको छ ।
रोकियो आरडीटी परीक्षण
दुई कर्मचारीको आरडीटी परीक्षण आएपछि भक्तपुर नपाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीको कोरोना परीक्षण नै स्थगित गरेको छ । उसले शनिबार र आइतबार दुई दिन करिब ५० जना जनप्रतिनिधि तथा कर्मचारीहरुको आरडीटी कोरोना भाइरस परीक्षण गरेको थियो ।
काठमाडौं महानगरपालिकाले पनि आरडीटी प्रविधिबाट आफ्ना कर्मचारीहरुको कोरोना भाइरस परीक्षण गरेको थियो । उक्त परीक्षणमा अधिक सफाइ मजदुरहरुको आरडीटी पोजिटिभ देखिएको थियो । त्यसमाथि भक्तपुर निवासी महानगरका एक सफाइ मजदुरको आरडीटी पोजिटिभ देखिएपछि भक्तपुरका सफाइ मजदुरहरुको पनि आरडीटी प्रविधिबाट कोरोना भाइरसको परीक्षण गर्न माग गरिएको थियो ।
सोही मागअनुसार भक्तपुर नपाले नपाका कर्मचारीसँगै जनप्रतिनिधिहरुको आरडीटी प्रविधिबाट कोरोना भाइरसको परीक्षण गरेको थियो तर परीक्षणमा एक्कासी पोजिटिभ आएपछि सोमबार उक्त परीक्षण रोकिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
'आरडीटी परीक्षण गरिएका अधिकांशको पीसीआर रिपोर्ट नेगेटिभ आउने गरेकाले भक्तपुर नपाले उक्त परीक्षण स्थगित गरेको छ,' उनले भने ।
मिनिट्रक चालकको पीसीआर रिपोर्ट नेगेटिभ
त्यस्तै भक्तपुर नपाको जनस्वास्थ्य केन्द्रमै कोरोना भाइरस परीक्षण गर्दा आरडीटी पोजिटिभ आएका भक्तपुर नपा १ सल्लाघारीका मिनिट्रक चालकको पीसीआर रिपोर्र्ट नेगेटिभ आएको छ ।
विभिन्न पसलका गोदामबाट सामान ढुवानी गर्ने रामेछाप स्थायी घर भएका ती मिनिट्रकका चालकको पीसीआरर रिपोर्ट आउन ढिलाइ हुँदा सल्लाघारीका स्थानीयमा त्रास फैलिएको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।