अछाममा रोपाईं सुरु
अछाम : देश अहिले कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दीको अवस्थामा छ। शहरबजार सुनसान भए पनि गाउँ घरमा चहलपहल उस्तै छ। खेतीपातीको समय भएकाले पनि गाउँ घरमा चहलपहल बढेको छ। हिउँदे खेती भित्रयाएका किसानहरु अहिले रोपाईं गर्न व्यस्त छन्। बैशाखको अन्तिम साताबाट नै अछाममा रोपाईंको चटारो सुरु हुन्छ। अहिले अछामका कृषहरुलाई मानो रोपेर मुरी उब्जाउन भ्याई नभ्याई छ। सिँचाई सुविधा पुगेका खेतमा बैशाखको अन्तिमबाट रोपाईं गर्न सुरु भइहाल्छ। यो वर्ष बैशाखमा पर्याप्त पानी परेकोले पनी सिँचाई पुगेका खेतमा रोपाईं गर्न किसानहरुलाई सजिलो भएको छ।
अछामको साँफेबगरलगायत सिँचाई सुविधा पुगेको ठाउँमा बैशाखको अन्तिमबाट नै रोपाईं सुरु भएको हो। साँफेबगर र आसपासका क्षेत्रमा बुढीगंगा नदी तथा प्रभालीगाडको पानीबाट सिँचाईको सुविधा भएकाले हरेक वर्ष बैशाखको अन्तिमबाट धान रोपाईं सुरु हुने गर्दछ। साँफेबगर नगरपालिका-१ वैद्यनाथस्थित देशकै चार धाम मध्येको एक बैद्यनाथ धाममा रहेका पीरले नजिकै मष्टामाडौंमा रहेको गुठी जग्गामा बैशाख ३० गतेका दिन पोथी सार्ने (पहिलो पटक धान रोप्न सुरु) काम गरेपछि मात्र जिल्लामा आधिकारिक रुपमा धान रोप्न सुरु हुने परम्परा रहिआए पनि पछिल्लो समय भने यो परम्परा हराउदै गएको छ। वैद्यनाथ धाममा रहेका पिर तथा बटुकहरुले बाजागाजासहित आएर साँफेबगरमा रहेको गुठीको जग्गामा प्रत्येक वर्ष वैशाख ३० गते धान रोप्ने गर्दछन्।
साँफेबगर नगरपालिका ४ मष्टामाडौंमा सिचाई पुगेको बुढीगंगाको किनारमा रहेको खेतमा लगभग रोपाईं सकिएको स्थानीय उमेश कुँवरले बताए। रोपाईंको समयमा यो पटक पर्याप्त पानी परेका र सिँचाई सुविधा पुगेकोले छिटै रोपाईं गरिसकिएको उनले बताए। उनले भने ‘बैशाखमा पानी पनी धेरै पर्यो, सिचाईको सुविधा पनि छ। त्यसैले यहाँका कृषकहरुले समयमै रोपाईं गर्न पाएका छन्। साँफेबगर चैतमा नै धानको बेर्ना राखेर बैशाख अन्तिमबाट धान रोप्न सुरु हुने यस क्षेत्रमा यस वर्ष खडेरी नपरेकाले गर्दा धानको बेर्ना जोगाउन र रोपाईं गर्न त्यति मुस्किल नभएको कृषकहरूको प्रतिक्रिया छ।
यति बेला रोपाईं गरेर कतिपय महिलाहरुलाई आम्दानी गर्ने स्रोत पनि बनेको छ। एक दिनभरी रोपाईं गरे बापत ३ देखि ४ सय रुपैयाँ लिने गरेको साँफेबगर नगरपालिका-३ की पबित्रा विकले बताइन्। आयआर्जनको कुनै बाटो नभएकाले पविलाई रोपाईंको सिजनबाट कमाई हुने र घर खर्च चलाउन केहि सहज हुने गरेको उनले बताइन्। उनले भनिन्; ‘घरमा कमाउने कोही छैन, रोपाईंको सिजन आयो भने घर खर्च चलाउन सजिलो हुन्छ।’ कृषि ज्ञान केन्द्रका अनुसार अछाममा करिव साढे १६ हजार हेक्टर क्षेत्रफलमा धानको खेती गरिन्छ। जिल्लाको कुल खेती योग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर रहेकोमा ४२ हजार चार सय १३ हेक्टर क्षेत्रफलमा अन्नबाली लगाउने गरिन्छ। जंगली जनावर बँदेलले हिउँदे बाली मात्र नभई बर्खेबाली तथा तरकारी बाली खाएर किसानलाई हैरान थालेपछि खेती योग्य जमिन पनि खेती नगरेर बाँझै छोड्ने गरेको किसानहरूको भनाई छ।