नयाँ ठिमी र सरस्वतीखेलका स्थानीयको कोरोना परीक्षण
भक्तपुर : कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरका दुईजना बस्ने दुई ठाउँका स्थानीयको कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ । वैशाख ३० गते यहाँको मध्यपुर थिमि नपा ४ नयाँठिमी र चाँगुनारायण नपा १ सरस्वतीखेलका दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो ।
उनीहरुबाट समुदायस्तरमा कोरोना भाइरस संक्रमण भए नभएको एकीन गर्न ती दुवै ठाउँ नजिकका सर्वसाधारणको कोरोना भाइरस परीक्षण गरिएको हो । जसअनुसार नयाँठिमीमा ११ महिला र नौ पुरुष गरी २० जनाको स्वाब संकलन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधानले जानकारी दिए ।
उनका अनुसार उनीहरुको पीसीआर परीक्षणको लागि नमुना लिइएको हो । भक्तपुर अस्पतालको स्वास्थ्य टोलीले संकलन गरेको उक्त स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगिने प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
सुनसरीको रामधुनी नगरपालिकाको झुम्का निवासी आरोग्य प्रतिष्ठानकी महिला कर्मचारी वैशाख २९ गते काठमाडौं आएकी दिइन् । झुम्काबाट आएकी उनी नयाँठिमीस्थित नर्स साथीको कोठामा एकरात बसेकी थिइन् । काममा जानुअघि ३० गते गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनको कोरोना परीक्षण पोजिटिभ आएलगत्तै वैशाख ३१ गते उनी बसेको घर र उक्त वस्तीमा सिल गरिएको थियो । बस्ती सिल अहिलेसम्म खुकुलो भएको छैन । संक्रमित महिलाकी नर्स साथीको रिपोर्ट भने नेगेटिभ आइसकेको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी स्टाफ नर्स उनी हाल भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा रहेकी छन् ।
त्यस्तै स्टार्फ नर्स बहालमा बसेको घर र उक्त घर वरिपरिका स्थानीयको संक्रमण पुष्टि भएको एकसातापछि बल्ल सोमबार कोरोना परीक्षणको लागि स्वाय्ब संकलन गरिएको छ ।
त्यस्तै सशस्त्र प्रहरीका जवान संक्रमित भएको चाँगुनारायण नपा १ सरस्वतीखेलमा आज चाँगुनारायण नपाको पहलमा स्थानीय एकसय १९ जनाको कोरोना परीक्षण गरिएको छ । द्रूत परीक्षण विधि (आरडीटी) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको चाँगुनारायण नपा १ का वडा अध्यक्ष राजेश खड्काले जानकारी दिए ।