भारतबाटै आएका थिए कर्णालीका कोरोना संक्रमित पनि
दैलेख : कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमित नदेखिएको कर्णाली प्रदेशमा पहिलो पटक सोमबार राति मात्रै एकजनामा पुष्टि भएको हो । दैलेखका आठबीस नगरपालिका– १ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । सात्तला स्थित लक्ष्मी माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइमा बसेका ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त क्वारेन्टाइनमा उनीसँग अरु ३९ जना बस्दै आएका छन् ।
भेरी अस्पताल नेपालगन्जस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिए पनि पुन परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा नमुना पठाइएको थियो ।
सुर्खेतमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको थियो । कोरोना संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । भारतको आगराबाट फर्किएका संक्रमित युवा जेठ १ गते गाउँ आइपुगेका थिए । भारतले रेल सेवा सुरु गरेसँगै कर्णालीबासी पनि धमाधम फर्किन थालेका छन् । भारतका विभिन्न क्षेत्रबाट मानिसहरु कर्णालीमा भित्रिने क्रम बढेपछि कर्णाली प्रदेशमा जोखिम बढेको छ ।
वडा नै गरियो सिल
भारतबाट आएका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि आठबीस नगरपालिका–१ सात्तलालाई पूर्ण रुपमा सिल गरिएको छ । भारतको आगराबाट आई लक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसिरहेका बेलामा एक जनामा कोरोना संक्रमण देखिएपछि वडा नै सिल गरिएको आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले बताए ।