दिवेशले रचे इतिहास, को हुन् जस्ट साम ?

दिवेशले रचे इतिहास, को हुन् जस्ट साम ?

अमेरिका : नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) विश्वकै चर्चित गायन रियालिटी सो अमेरिकन आइडलको उपविजेता बनेका छन्। अमेरिकन आइडलको उपाधि भने न्युयोर्ककी २१ वर्षीया जस्ट सामले चुमेकी छन्।

आइतबारको समापन सोमा टप फाइभमा पुगेका दिवेश भोटिङमार्फत टप टुमा पुग्न सफल भएका हुन्। सानै उमेरमा विश्वचर्चित गायन प्रतियोगिता अमेरिकन आइडलमा दिवेशले दोस्रो भएर कीर्तिमान कायम गरेका छन्। हालसम्म हलिउडको गायन प्रतियोगितामा यति उचाइमा कुनै नेपाली पुगेका थिएनन्।

उपविजेता बनेपछि दिवेशका बुवा दाताराम पोखरेलले अन्नपूर्णसँग भने, ‘यो खुसी सम्पूर्ण नेपालीको खुसी हो। छोरालाई आज यो इतिहास रच्ने बनाउनुमा विश्वभर रहेका नेपालीको ठूलो हात र आशीर्वाद छ। म मेरो छोराको उज्ज्वल भविष्यको कामना गर्दै सम्पूर्ण नेपालीमा धन्यवाद ज्ञापन गर्न चाहन्छु।’

आर्थरले अमेरिकन आइडलमा प्रवेश पाउनेबित्तिकै विश्वभरका नेपालीले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए भने उनको समर्थनमा सामाजिक सञ्जालमा खुसीसमेत व्यक्त गरेका थिए। आर्थर टप टेनमा पुगेपछि अमेरिकामा रहेका नेपालीले सामाजिक सञ्जालमा समूह नै बनाएर भोटिङ गरेका थिए। उनलाई जिताउन लकडाउनको अवस्थामा पनि उनकी हजुरआमाको उपस्थितिमा काठमाडौंमा जुलुस निकालेर अभियान चलाइएको थियो।

काठमाडांैमा जन्मिएका दिवेश हाल परिवारका साथ कन्सासको विचिटामा बस्दै आएका छन्। २३ वर्षका आर्थर काठमाडौंको एस कलेजमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि सन् २०१४ मा अमेरिका आएका थिए।

उनी विगत दुई वर्षदेखि संगीत क्षेत्रमा थिए। संगीत क्षेत्रमा लागेका साधकले समेत छोटो समयमा विश्वकै चर्चित गायन प्रतियोगितामा उपविजेता हुनुलाई हर्षका रूपमा हेरेका छन्। आर्थरले सन् २०१९ को जनवरीमा नेपालमै ‘ग्रहण’ नामक एल्बम निकालेका थिए। हाल अर्थर गनका नाममा युट्युब च्यानल बनाइएको छ। उनका एक दर्जनभन्दा बढी गीत युट्युबमार्फत सार्वजनिक भएका छन्।

झन्डै जितको नजिक पुगेका दिवेशलाई बधाईको ओइरो लागेको छ। लेखक बुद्धिसागरले गायक दिवेश पोखरेललाई हार्दिक बधाई दिँदै फेसबुकमा लेखेका छन्, ‘उदास खबरहरूका बीचमा यो कति सुखद खबर। गमलामा छु भनेर फूल कहाँ लत्रिन्छ ? ऊ त आकाश हेर्दै फक्रिन्छ।’

जस्ट साम र दिवेशसँगै उत्कृष्ट ५ मा फ्रान्सिस्को मार्टिन, डिलन जेम्स र जोनी वेस्ट पुगेका थिए। कोरोनाको महामारीका कारण अमेरिकन आइडलले टप फाइभ लगायत फाइनल राउन्ड पनि भर्चुअल माध्यममार्फत प्रस्तुत गरिएको थियो।

अमेरिकन आइडलको जारी १८औं संस्करणमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची निर्णायक रहेका थिए। टप ११ मा पर्दा निर्णायक लियोनेल रिचीले दिवेशको प्रशंसा गर्दै भनेका थिए, ‘सबैभन्दा महत्‍वपूर्ण कुरा के हो भने, तिमीले जेसुकै गाउँ, त्यो आर्थर गन नै सुनिन्छ। र, सबैले आफ्नो करिअरमा खोज्ने भनेकै यही हो। यो यात्रामा रमाऊ मेरो साथी, तिम्रो यो यात्रा उत्कृष्ट हुनेछ।’ नभन्दै निर्णायक लियोनेलले भनेझै अमेरिकन आइडलमा दिवेशको सांगीतिक यात्रा उत्कृष्ट रह्यो।

को हुन् जस्ट साम ?
अमेरिकन आइडल उपाधि विजेता जस्ट सामको वास्तविक नाम समन्था डियाज हो। २१ वर्षीया उनी लाइबेरियन मूलकी अश्वेत गायिका हुन्। न्युयोर्क निवासी सामले मिडिल स्कुलदेखि नै न्युयोर्कका सबवे र ट्रेनहरूमा गाउँथिन्। बाल्यकालमै उनकी आमा जेल परेकाले हजुरआमाले हुर्काएकी हुन्।

उनले पहिलो अडिसनबाटै निर्णायकलाई प्रभावित तुल्याउँदै आएकी थिइन्। जस्ट सामलाई जिताउन लाइबेरियामा अभियान नै चलाइएको थियो। उत्कृष्ट टप फाइभको निर्णय सार्वजनिक गर्दा जस्ट सामको नाम निर्णायकले सबैभन्दा अन्त्यमा सुनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.