लकडाउनमा गाउँ फर्किएका युवाले सुरु गरे स्याल लुक्ने झाडी फाँडेर खेती
बेनी : कोरोना (भाइरस)को त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण गाउँमा फर्किएका युवाहरुले बाझिएको जग्गामा झाडी फाडेर सामुहिक खेती सुरु गरेका छन्। म्याग्दीको मालिका गाउपालिका–६ दुखुलेकमा दरवाङको आत्मनिर्भर व्यवसायिक कृषि सहकारी संस्थाले युवाहरुलाई परिचालन गरेर दलहन र गेडागुडी खेती गरेको हो।
६० रोपनीमा सिमी लगाइसकेका छन्। थप १६० रोपनीमा भटमास र गहत खेती गर्नका लागि युवाहरु खनजोतमा जुटेका छन्। वैदेशिक रोजगारी र बसाइसराईका कारण जनशक्ति अभाव हुँदा खेतीयोग्य बारी बाझिएको थियो। लकडाउनमा युवाहरुलाई परिचालन गरेर खेती गरिएको स्थानीय सर्गप्रसाद रोकाले बताए।
बाझो जमिनमा बनमारा, ऐसेलु र पातिले भरिएको थियो। झाडी फाड्न सहकारीले एक लाख २२ हजार रुपैया ज्याला दिएर १४८ जना बराबरको काम लगाएको थियो। छ हल गोरुलाई हली सहित दैनिक रु. एक हजार २०० दिएर छ दिन लगाएर बाँझो जोतिएको छ। झाडी फाड्ने र खनजोतको काममा बेनी, पोखरा, काठमाडौबाट आएका युवाहरु संलग्न छन्।
बन्दाबन्दीपछि बेनीमा कलेज पढ्दै आएका भुवन रोकाले छ दिनसम्म बाझो जोत्ने काम गरेको बताए। बच्चा हुदादेखिनै बाझो बनेको बारीलाई खनजोत गरेर हराभरा बनाउन लागिएकोमा दिपेश शेरपुजाले खुसी व्यक्त गरे। दुखुमा ९८ घर छन्। आधा जसो बसाइसराई गरेर बेनी, दरवाङ, पोखरा र काठमाडौ गएका छन्। उनिहरुले खेती गर्न छाडेपछि बाँझिएको जमिन सहकारीलाई उपलब्ध गराएका हुन्।
उत्पादन बढाउने, आयात घटाउने, गाउँमा रोजागारि र आयआर्जनको अवसर सिर्जना गराउने उद्देश्यले सामुहिक खेती सुरु गरेको वडा सदस्य समेत रहेका स्थानीयबासी पथबहादुर रोकाले बताए। कुनै समय बेनी, बागलुङ र पोखराको बजारमा दुखुको सिमि, गहत र भटमास चर्चीत थियो। पहिले स्थानीय भारी बोकेर बेच्नलाई बजारमा पुग्थे। अहिले गाउमै सडक पुगेको छ। बजारको समस्या छैन्।
उत्पादन गरेको कृषि उपज सहकारी संस्थाले खरिद गरेर बजारीकरणको व्यवस्था मिलाउने सहकारीका लेखापाल श्याम रोकाले बताए। कृषि उपज बजारीकरण गर्न दरवाङमा कोशेली घर स्थापना गरेको उनले बताए।
मालिका गाउपालिकाले ७ वटै वडामा सम्भावनाको आधारमा 'एक गाउँ, एक उत्पादन' कार्यक्रम सञ्चालन गरेको छ। हावापानी र भूगोल अनुसार फलफुल, तरकारी, दलहन, पशुपालन र जडिवुटी खेतीका लागि पकेट क्षेत्र बनाएको वडा अध्यक्ष सन्तोष सुवेदीले बताए। दुखुमा दलहन र टिम्मुर खेतीका लागि गाउपालिकाले चालू आर्थिक वर्षमा ६ लाख रुपैयाँ बिनियोजन गरेको उनले जानकारी दिए। ‘दिच्याममा किवी खेती सुरु गरिएको छ,’ उनले भने, ‘ढाँडखर्कमा गोलभेडा, तोलाबाङमा आलु र तरकारीको पकेट क्षेत्र बनाइएको छ।’
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान
यसैगरी म्याग्दीको धवलागिरी गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने भएको छ। खेती हुन छाडेर बाँझिएका जमिनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्ष २०७७/७८ देखि अनुदान दिने निर्णय भएको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिए।
जमिन बाँझो राख्ने समस्या घटाउने, खेतीतर्फ आकर्षित गरेर उत्पादन बढाउने, आयात घटाउने, रोजगारि र आयआर्जन बढाउन यस्तो नीति लिने निर्णय गरेको उनले बताए। विश्वब्यापी महामारी बनेको कोरोना भाइसरका कारण खाद्य संकटको अवस्था आउन नदिन पालिकाका ७ वटै वडामा खाद्य बैंक स्थापना गरेर समस्यामा पर्ने विपन्न, मजदुरलाई उपलब्ध गराउन थालिएको छ।
राहत वितरणमा स्थानीय कोदो, मकै, गहुँ, धान, जौ, उवा लगायतका खाद्यान्नलाई प्राथमिकता दिइने अध्यक्ष थमसरा पुनले बताइन। यसैगरी खाद्यान्नको प्रयोग गरेर मदिरा उत्पादनमा समेत रोक लगाइएको छ। कोदो, गहुँ, मकै, चामलबाट घरेलु मदिरा बनाउने चलन छ। खाद्य संकट, सामाजिक विचलन र आर्थिक संकट ल्याउने भएकाले मदिरा उत्पादनबाट जिविकोपार्जन गर्दै आएकाहरुलाई आयआर्जनको बैकल्पिक सिप सिकाउने गाउपालिकाले जनाएको छ।