बर्थडेकै बेला नवाजुद्धिनलाई पत्नीले पठाइन् डिभोर्स म्यासेज
नयाँदिल्ली : बलिउडका प्रभावशाली अभिनेता नवाजुद्धिन सिद्धिकीको आज मंगलबार जन्मदिन ।
४६ औँ जन्मदिनको उत्वसका बेला नवाजुद्धिन भने पत्नी आलियाबाट सम्बन्धबिच्छेदको सूचनाको सामना गरिरहेका छन् । हालै इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै आलियाले आफूले सम्बन्ध बिच्छेदको सूचना नवाजुद्धिनलाई पठाएको खुलासा गरेकी छन् । मोबाइल म्यासेज र इमेल मार्फत पनि डिभोर्सको लागि सूचना पठाएको आलियाले बताएकी छन् ।
तर नवाजुद्धिनले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनले पत्नी आलियालाई पनि कुनै जवाफ नफर्काएको बताइएको छ । नवाजुद्धिन लकडाउनका बावजद उत्तर प्रदेशसस्थित आफ्नो गाउँ पुगेका छन् । जहाँ उनकी आमा बिरामी छिन् ।
पत्नी आलिया भने उनको साथमा छैनन् । ११ वर्षको वैवाहिक सम्बन्ध तोड्दै डिभोर्सको लागि आवेदन दिएको आलियाको भनाइ छ । यसका लागि आलियाले कानुनी उपाय अपनाइसकेकी छन् । उनीहरुका दुई छोरी समेत छन् ।
आलियाले अन्तर्वार्ताको क्रममा आफूहरुबीच एक दशकदेखि नै सम्बन्ध बिग्रिएको पनि खुलासा गरेकी छन् । तर के कारणले सम्बन्ध बिग्रिएको भन्ने बारे उनले केही भन्न चाहेकी छैनन् । आलियाले भनेकी छन्, ‘मैले पहिले नै डिभोर्स गर्नुपर्ने थियो,’
उनले पहिले नै सम्बन्ध तोड्नुपर्ने महसुश गरेको बताएकी हुन् । नवाजुद्धिनकी बहिनीको केही महिनाअघि मात्रै मृत्यु भएको थियो । अहिले आमा पनि सिकिस्त छिन् । यस्तो बेला उनी मुम्बइबाट उत्तर प्रदेश पुगेका छन् । जन्मदिनको बेलामा नवाजुद्धिनकी पत्नीबाट आएको यस्तो खबरले उनीहरुको सम्बन्धबारे थप टिप्पणी हुन थालेको छ ।