दुनियाँ कोरोनाले त्रस्त ट्रम्प झुट भाइरसले ग्रस्त

दुनियाँ कोरोनाले त्रस्त ट्रम्प झुट भाइरसले ग्रस्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका आलोचक ‘झुटको पुलिन्दा’ भन्छन्। कोभिड–१९ महामारीले ट्रम्प कति झुट बोल्न सक्छन्, त्यसको सीमा नभएको प्रमाणित गरिदिएको छ। विरोधी सञ्चारमाध्यमलाई ‘फेक न्युज’ फैलाएको आरोप लगाउने उनी आफू भने झुटको भाइरसले ग्रस्त छन्।


अमेरिका कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित भएको देखेर बाँकी विश्वका मान्छे आश्चर्यमा छन्– संसारको पहिलो नम्बरको महाशक्ति राष्ट्रले कसरी यत्रो क्षति बेहोर्‍यो?एक शताब्दीसम्म विश्व व्यवस्थालाई आफ्नो इच्छाअनुसार डोर्‍याउँदै आएको अमेरिका महामारीसँगै नयाँ यथार्थमा ब्युँझिँदै छ– अमेरिका आफूलाई जति शक्तिसम्पन्न, दक्ष र स्रोतसम्पन्न ठान्थ्यो, त्यस्तो होइन रहेछ। संसारको पनि आँखा खुलेको छ, महाशक्ति राष्ट्र पनि निरीह हुन पुग्दो रहेछ।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या साढे ४८लाख नाघेको छ। हालसम्म तीन लाखभन्दा बढी मानिसको ज्यान गएको छ। संक्रमित र ज्यान गुमाउनेको एकतिहाई हिस्सा अमेरिकी छन्। अमेरिकामा संक्रमितको संख्या १५ लाखभन्दा बढी छ भने ९० हजारभन्दा बढी अमेरिकीले ज्यान गुमाइसकेका छन्।

‘कोरोना भाइरस हराउनेछ’
अमेरिकाको साख यसरी खस्किनुमा धेरै हदसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका छ।महामारी रोक्ने सवालमा आफ्नो असफलतालाई उनी सुरुदेखि नै झुटको सहारामा ढाकछोप गरिरहेका छन्। उसो त साँचो बोलेर राजनीतिमा उदाएका होइनन्, ट्रम्प।निम्न वर्गीय श्वेतहरूको मनमा आप्रवासीप्रतिको भय र घृणाको बीउ रोपेर उनले ह्वाइटहाउससम्मको यात्रा तय गरेका हुन्।

महामारीको सुरुवातदेखि नै उनले साँचो बोल्ने, परिस्थितिको सही आकलन गर्नुपर्ने आवश्यकता देखेका थिएनन्। अमेरिकामा महामारी सुरु नै नभई फेब्रुअरी ७ मा ट्रम्पले गर्मी सुरु भएपछि भाइरसको असर नपर्ने दाबी गरेका थिए।यसको कुनै वैज्ञानिक आधार थिएन। फेब्रुअरी २७ मा पनि उनले त्यस्तै दाबी दोहोर्‍याए। ‘यो भाइरस हराउनेछ,’ उनले भनेका थिए, ‘चमत्कार भएजसरी एक दिन भाइरस हराउनेछ।’ तर, भाइरस हराएन।मार्चसँगै अमेरिकामा महामारीसुरु भयो।

ट्रम्पले गरेको अर्को हास्यास्पद दाबी थियो– यदि लकडाउन गर्ने हो भने कोरोनाबाट मर्नेभन्दा आत्महत्याबाट मर्नेको संख्या धेरै हुनेछ। तर, त्यसो भनेर लकडाउनलाई सुरुमा बेवास्ता गर्दा अहिले यति धेरै ज्यान गएको छ। विभिन्न अनुमानअनुसार अमेरिकामा अगस्टसम्ममा डेढ लाख हाराहारीमा मृत्यु हुनेछ।

‘एक मिनेटमै भाइरस ठहरै पार्ने औषधि छ’ 
अमेरिकाको अर्को लज्जास्पद पक्ष, यत्रो महाशक्तिले आफ्ना नागरिकलाई आवश्यक पर्नेजति परीक्षण उपलब्ध गराउन सकेन। मार्च ६ मा ट्रम्पले भनेका थिए,‘आवश्यकता पर्ने सबैले परीक्षण गर्न पाउँछन्।’ तर, त्यसो भएन। भाइरसको संक्रमण बढ्नेबित्तिकै अमेरिकाले विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री र परीक्षण किट माग्न थाल्यो। अझ गम्भीर बिरामीको चाप बढ्न थालेपछि अमेरिकामा र खासगरी न्युयोर्कमा भेन्टिलेटरको चर्को अभाव भयो। मार्च २४ मा ट्रम्पले दक्षिण कोरियामा भन्दा उच्च दरमा अमेरिकामा परीक्षण भइरहेको बताए। तर, त्यो बिलकुल झुटो भनाइ थियो। त्यसबेला दक्षिण कोरियाको तुलनामा अमेरिका निकै पछाडि थियो। जनसंख्याको अनुपातमा दक्षिण कोरियाले अमेरिकाको तुलनामा पाँच गुणा बढी परीक्षण गरेको थियो।

सरकारी नीति र कार्यक्रम घोषणा गर्दा पनि ट्रम्पले अनेकौँ भ्रम सिर्जना गरेका छन्।मार्च ११ मा उनले बेलायतबाहेक युरोपका सबै मुलुकबाट हुने यात्रा ३० दिनका लागि रोकिएको बताए। तर, त्यो विदेशी नागरिकका लागि मात्र थियो। अमेरिकीहरू निर्बाध आइरहेका थिए।

फेब्रुअरीमा चीनबाट आउने सबै यात्रुलाई आफूले प्रतिबन्ध लगाएको दाबी उनले बारम्बार गर्दै आएका छन्। तर, त्यो सीमित प्रतिबन्ध थियो। फेब्रुअरी २ मा प्रतिबन्ध लगाएपछि पनि चीनबाट ४० हजारभन्दा बढी मानिस अमेरिका पुगेका थिए।

स्पष्ट छ, सुरुमा ट्रम्पले महामारीलाई गम्भीरतापूर्वक लिएका थिएनन्। तर, जब महामारीले ताण्डव देखाउन थाल्यो, उनीमाथि अक्षमता र हेलचेक्य्राइँको आरोप लाग्न थाल्यो, तब आफूले महामारीलाई सधैँ गम्भीरतापूर्वक लिएको दाबी गर्न थाले। ‘यसलाई अरूले महामारी भन्नुअघि नै मैले यो महामारी हो भन्ने महसुस गरिसकेको थिएँ,’मार्च १७ मा ट्रम्पले भनेका थिए, ‘यसलाई सुरुदेखि नै गम्भीर रूपमा लिएको थिएँ।’ तर, यो सत्य थिएन। उनले यसलाई कोरोना भाइरसलाई ‘हल्ला’को संज्ञा दिनेदेखि लिएर रुघाखोकीसँग समेत तुलना गरेका थिए।

अझ कोभिड–१९ को उपचारबारे ट्रम्पका दाबीले त मानिसहरूको ज्यानै खतरामा पार्‍यो। अप्रिल २३ को पत्रकार सम्मेलनमा उनले अल्ट्राभायोलेट किरण र निस्संक्रमण औषधिले कोरोना भाइरस मार्ने बताए। यसको उपचारका लागि वैज्ञानिकहरूले प्रकाश र औषधि शरीरमा पुर्‍याउने विधि खोज्नुपर्ने बताए।‘निस्संक्रामक औषधिले एक मिनेटमै भाइरसलाई ठहरै पार्दो रहेछ, एक मिनेटमै,’ पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘के यी दुई चीजलाई शरीरभित्र पुर्‍याउने विधि छैन? इन्जेक्सन दिएर वा कुनै तरिकाले ? जाँच गर्न पाए काइदा हुन्थ्यो।’ सँगै उभिएकी एक चिकित्सकले उपचारका रूपमा यी विधिले काम नगर्ने बताएकी थिइन्। तर, हुनु क्षति भइसकेको थियो। त्यसको भोलिपल्टैदेखि अमेरिकामा निस्संक्रामक औषधि पिएर बिरामी पर्ने मानिसको संख्या ह्वात्तै बढ्यो। त्यस्तो औषधि सेवन गर्नु किन हानिकारक छ भने चिकित्सकहरूले व्याख्या गर्नुपर्‍यो। सञ्चारमाध्यमले त्यसबारे सूचना, जानकारी र आलेख प्रकाशित गरे। भोलिपल्ट अप्रिल २४ मा आफूले व्यंग्यात्मक रूपमा मात्र त्यस्तो विधि सुझाएको ट्रम्पले दाबी गरे र यो दोषबाट पन्छिए।

त्यस्तै अप्रमाणित औषधिले कोरोनाको उपचार हुने दाबी ट्रम्पले मार्च १९ मा पनि गरेका थिए। मलेरियाको उपचारमा प्रयोग हुने क्लोरोक्वाइन नामक औषधिले कोरोनाविरुद्ध चमत्कार गर्ने र त्यसलाई अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले प्रमाणित गरेको बताए। तर, त्यो सोह्रै आना झुट थियो। एफडीएका आयुक्त स्टिफन हानले सो औषधिको परीक्षण चलिरहेको र प्रमाणित नभएको स्पष्टीकरण दिए। तथापि, डाक्टरहरूले यसको प्रयोग भने गर्न सक्ने प्रावधान थियो।यसबीचमा अमेरिकाले भारतबाट त्यो औषधि आयात गर्‍यो।त्यसै गरी, मार्च २ मा ट्रम्पले फर्मास्युटिकल कम्पनीहरूले चाँडै नै कोरोनाविरुद्धको खोप आविष्कार गर्ने दाबी गरेका थिए। तर, ट्रम्पकै विज्ञहरूले समेत सोही दिन खोप तयार हुन कम्तीमा एकदेखि डेढ वर्ष लाग्ने बताएर उनको अभिव्यक्तिलाई असत्य साबित गरिदिएका थिए।

झुटको मूल्य कसले चुकाउँदै छ ?
यति धेरै झुट र ढाकछोपका विपरीत अमेरिकाको कमजोरी लुकेन।त्यसैले ट्रम्प अरू बहाना खोज्न थाले। पछिल्लो समय उनले दुइटा बहाना फेला पारेका छन्। पहिलो, चीनर दोस्रो,पूर्वराष्ट्रपति बाराक ओबामा। पूर्ववर्तीओबामा प्रशासनले स्वास्थ्य क्षेत्र भद्रगोल छाडेकाले अहिले कोरोना भाइरस महामारीमा स्रोतसाधनको अभाव भएको उनको दाबी छ। तर, त्यो सत्य होइन। यदि ओबामाले खराब विरासत नै छाडेको भए पनि गएको चार वर्षमा उनी त्यसलाई सुधार्न सक्थे। तर, ट्रम्प तर्कमा कहाँ विश्वास गर्छन् र ?

ट्रम्पले फेब्रुअरीभरि भाइरसविरुद्ध चीनले चालेका कदम र राष्ट्रपति सी जिनपिङको प्रशंसा गरेका थिए। फेब्रुअरी ७, १०, १३, २३ र २६ मा उनले सीको अनेकाँैपटक वाहवाही गरे। तर, जब मार्चमा अमेरिकामा महामारी फैलिन थाल्यो, चीनप्रतिको उनको कटाक्ष बढ्दै गयो।मार्च ११ मा उनले कोरोनालाई ‘विदेशी भाइरस’को संज्ञा दिए। मार्च १६ पछि उनी यसलाई ‘चाइना भाइरस’ भन्न थाले। मार्च १६ देखि मार्च ३० सम्ममा ट्रम्पले ‘चाइना भाइरस’ शब्द २० पटक उच्चारण गरेको फ्याक्टबेस नामक वेबसाइटको तथ्यांक छ।झुटका सेनापति ट्रम्पको इसारापछि उनका समर्थक सिपाहीले चीनविरुद्ध अनेक आरोप लगाउन सुरु गरे। कसैले यसलाई ‘वुहान भाइरस’ भने। केहीले त‘कुङ फ्लू’ समेत भन्न भ्याए।राजनीतिक नेतृत्वले समेत खुल्लमखुल्ला भाइरस वुहानस्थित ल्याबबाट बाहिरिएको निराधार दाबी गर्न थाल्यो।

मे महिनाको सुरुवातसँगै यो आरोप अझै मुखर भयो। विदेशमन्त्री माइक पोम्पेओ र अन्य अधिकारीले अमेरिकी गुप्तचर निकायहरूलाई भाइरसको स्रोत ल्याब नै भएको पुष्टि गर्न दबाब दिन थालेका खबर बाहिरिए। मे ३ मा पोम्पेओले सार्वजनिक रूपमै भाइरसको स्रोत ल्याब भएको यथेष्ट प्रमाण भएको दाबी गरे।तर, एउटै भए पनि प्रमाण भने उनले दिन सकेका छैनन्। यो आरोपलाई ट्रम्पले दोहोर्‍याउने गरेका छन्। पत्रकार सम्मेलनमा आफूलाई प्रश्न गर्ने पत्रकारहरूसँग पनि ट्रम्प शत्रुतापूर्वक प्रस्तुत भइरहेका छन्।अघिल्लो सोमबार उनले ह्वाइटहाउसको पत्रकार सम्मेलन बीचमै छोडेर हिँडेका थिए।

अमेरिकी अधिकारीहरूको यस्तो कदमलाई सन् २००१ को इराक आक्रमणको बेलाको अमेरिकी दाबीसँग तुलना गर्न थालिएको छ। त्यसबेला विदेशमन्त्री कोलिन पावेलले सद्दाम हुसेनसँग आम नरसंहारकारी हतियार रहेको प्रमाण पेश गरेका थिए,जुन पछि गएर सर्वथा झुटो ठहरियो।

मे ९ मा चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै ११ हजार शब्दको आलेख आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ,  जसमा उसले अमेरिकी नेताहरूले चीनबारे बोलेका २४ झुटको तथ्यजाँच गरेको छ।

ट्रम्पको यस्तो झुटबाट कसलाई फाइदा भइरहेको छ? यसको सोझो जवाफ हो– ट्रम्प स्वयंलाई। उनी जसरी हुन्छ, आगामी निर्वाचन जित्न चाहन्छन् र भाइरसले अमेरिकामा पुर्‍याएको क्षतिको जिम्मेवारीबाट पन्छिन चाहन्छन्।

अनि यो झुटको मूल्य कसले कसरी तिरिरहेको छ ? यसको पनि जवाफ स्पष्ट छ– अमेरिकी जनताले ज्यान गुमाएर।

–एजेन्सीको सहयोगमा कवि आचार्य 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.