लकडाउनले सम्झाएको ‘दैलोको रोटी’
काठमाडौं :न सुन ठूलो, न चाँदी, न हीरा मोती
आकाश झै रित्तो पेटमा, उदाउने घाम जस्तै रोटी
कालो रातझै भोको पेटलाई, उजिल्याउने जूनजस्तै रोटी
घाम हाम्रो रोटी, जून हाम्रो रोटी
पसिना हाम्रो रोटी, खुन हाम्रो रोटी।रोगभन्दा ठूलो छ भोक, भोकभन्दा ठूलो छ रोटी। साँच्चै नै यो बेला रोटीको बहुत खाँचो छ संसारभर। रोग लाए त मानिसले उपचार गराउन सक्छ, बाँच्ने आशा पहिल्याउन सक्छ। तर जब भोकले सताउँछ, अनि सुरु हुन्छ रोटीको दौड। कोभिड— १९ ले संसारभर त्रास फैलिरहेका बेला आधा विश्व लकडाउनमा छ। हुने खानेहरू घरभित्रै रमाइलोसँग बसिरहेका छन्। तर हँुदा खानेहरू रोटीका लागि भौतारिरहेका छन्। एउटा भोको मान्छेका लागि आमा भने पनि, बाबा भने पनि, तीर्थ भने पनि, धाम भने पनि रोटी नै हुन्छ।
चिलाउने चियाबारी डुअर्स भारतमा जन्मिएका गायक पुष्पन प्रधानले फेसबुकमा रोटी बोलको ६ मिनेट १४ सेकेन्डको गीत र भिडियो अपलोड गरेका छन्। सुमधुर आवाजमा आफ्नै घरको सिकुवामा निर्माण गरेको अग्र्यानिक भिडियोले दर्शकको मन जितिरहेको छ। समय सान्दर्भिक विषयवस्तु समेटिएको यो गीतले पुष्पनलाई फेरि एक पटक चर्चामा ल्याएको छ।
हुन त रोटी शीर्षकको यो गीत उनको आफ्नै भने होइन। यसका रचनाकार नाट्यभूषण सीके श्रेष्ठ। श्रेष्ठको शब्दमा डुअर्सवासी गायक अजय थापाले यसमा स्वर दिएका थिए। श्रेष्ठको परिकल्पनामा बनेको दैलो नामक नाटकमा पहिलोपटक यो गीत समावेश गरिएको थियो। यो उतिबेला गीत नाटकमा मात्रै सीमित थियो। डुअर्समा रहेका नेपाली भाषीको एक मात्रै थिएटर कम्पनी लालीगुराँस थिएटरले दैलो नामक नाटक पाँच वर्षअघि आसाम राज्यभर एक वर्षसम्म मञ्चन गरेको थियो।
पुष्पनले आइतबार सार्वजनिक गरेको यो गीत पुराना सष्टा र सर्जकको सम्मानस्वरूप आफूले पुनः घरमै रेकर्ड गरेर बनाएका हुन्। पुराना सष्टाको सहमतिमा गीत पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको हो पुष्पनले बताए।
पुष्पन विशेषत भुइँमान्छेका कथामा गीत बनाएर गाउँछन्। उनलाई रातदिन भारी बोक्ने मजदुरमाथि सहानुभूति छ। हाड, छाला घोटेर मेहनत गर्ने कामदारको मेहनतले छुन्छ उनलाई। यसैले पनि होला उनी मानवीय संवेदनालाई गीतमा मार्मिक तरिकाले प्रस्तुत गर्छन्। उनको गायकीको आफ्नै विशेषता जसले दर्शकसँग छिट्टै कनेक्ट गर्न सक्छ।
नेपाल आइडल सिजन— २ चल्दै गर्दा बुटवलका अमित बरालले पुष्पनले गाएको पन्छी बोलको गीत प्रस्तुत गरेका थिए। अमितको यो प्रस्तुति निकै मन पराइयो। यसकै अर्को कुनै भागमा डुअर्स भारतमा रहेका नेपाली भाषी गायक पुष्पन निम्त्याइएका थिए। पुष्पन र अमितले सँगै गाएको यो गीतले पनि सामाजिक सञ्जालमा हंगामा पिट्यो। यसपछि नै हो पुष्पनको नेपालसँगको साइनो अझै गहिरो हुँदै गएको। आफ्नै ठाउँमा निरन्तर गायन कर्ममा लागिपरेका पुष्पनलाई नेपालीहरूले खुला दिलले स्वागत गरे। लकडाउन अघि उनी नेपाल र भारतमा बराबरजसो कार्यक्रममा सक्रिय हुन्थे। लकडाउनले उनी पनि दुई महिनादेखि घरभित्रै थुनिएका छन्। बाबुको जुँगा, सुन माया, पन्छी, ठुल्दाइ, सानीलगायतका गीतबाट संगीतको उचाइ उक्लिएका पुष्पन आफैं गीत लेख्छन्, मुड चलेका बेला कविता पनि कोर्छन्। संगीत पनि आफैं गर्छन्।
कोरोना त्रासमा घरभित्रै थुनिँदा पनि उनले गायन कर्म रोकेका छैनन्। सामाजिक सञ्जालमा आफूलाई अपडेट गराइरहन्छन्। चियाबारीको सुन्दरता, विशालता र चिया मजदुरका कारुणिक दुःख हेरेर हुर्किएका पुष्पन आफूलाई यस्तै पात्रले गीत गाउन घचघच्याइरहने बताउँछन्।
पुष्पन भन्छन्, ‘भोकभन्दा ठूलो रोग संसारमा अरू केही छैन रहेछ। श्रमजीवीका लागि रोटीभन्दा ठूलो औषधि केही रहेनछ। मानिस रोगसँग लड्न सक्छन् तर भोकसँग लड्न नसक्ने रहेछ।’ लकडाउनको समयमा कोरोनाको डर नमानी गाँस खोज्न सडकमा निस्किएका मजदुरको कथाले उनलाई यो गीत गाउन प्रेरित गरेको हो।
कालो सर्टमाथि नीलो फेटा गुथेर भिडियोमा देखिएका पुष्पन आफ्नै घरअगाडि गीत गाइरहेका छन्। भिडियोमा इन्टरनेटबाट राखिएका मजदुरका दुःख झल्काउने फोटो समावेश छन्। रोटीलाई भोकको प्रतीकका रूपमा प्रस्तुत गरिएको यो गीतमा सडक छेउमा दुई मुठी खुर्सानी बेच्न बसेकी आमा अटाएकी छन्। भारी बोकेर पटपटी खुट्टा फुटेका बुवा पनि समेटिएका छन्। परिवारको पेट पाल्न रगत बेच्ने दाजु अनि सडक किनारमा मागेर जीवन कटाउने काका पनि छन्।
झरी बर्खा, चैते घाममा छायाँ दिने बाबुजस्तै रोटी
छातीभरिको न्यानो न्यानो माया दिने आमाजस्तै रोटी।