२४ घण्टापछि दैलेखका कोरोना संक्रमित आइसोलेसनमा

२४ घण्टापछि दैलेखका कोरोना संक्रमित आइसोलेसनमा

दैलेख :  जिल्लाको आठबीस नगरपालिका-१ का ३५ वर्षीय एक युवामा कोरोना संक्रमण आशंका भएको खबर सोमबार बिहानै सार्वजनिक भयो । रिपोर्ट शंकास्पद् देखिएपछि सोमबार दिउँसो पुनः परीक्षणका लागि भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा नमूना पठाइयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती सवा १० बजे ती युवामा कोरोना भाइरस (कोभिड-१९) भएको पुष्टि गर्‍यो । 

त्यसपछि बिहानभरी प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य सेवा कार्यालयका डाक्टरलगायत सबैजना छलफलमा जुटे । छलफल सकिएलगत्तै कोरोना पुष्टि भएको १८ घण्टा पछि मंगलबार दिउँसो ४ बजे स्वास्थ्य सेवा कार्यालय दैलेखका डाक्टर सहितको टोली संक्रमित बसेको लक्ष्मी मावी सात्ततास्थित क्वारेन्टाइनमा पुग्यो ।

क्वारेन्टाइनमा बसेका ३९ मध्ये एकजनालाई कोरोना 'पोजिटिभ' आएको खबर गाउँभरी फैलिए पनि कसलाई कोरोना पोजिटिभ देखिएको हो भन्नेबारे सबै बेखबर थिए । 'हामी जनप्रतिनिधि, क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति र स्वयम कोरोना संक्रमितलाई समेत थाहा थिएन, जिल्लाबाट टोली नपुग्दासम्म क्वारेन्टाइनमा रहेका ३९ जनासँगै बसे,सँगै खाइयो, 'वडाध्यक्ष पर्वसिंह विश्वकर्माले भने ।

वडाध्यक्ष विश्वकर्माकाअनुसार विभिन्न निकायमा हारगुहार गरेपछि मात्र संक्रमित व्यक्तिको उद्धार भएको हो। संक्रमित युवकलाई मंगलबार राती ९ बजे दैलेख सदरमुकाम पुर्‍याइयो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा शंकास्पद् देखिएको ४२ घण्टाभन्दा बढी समयपछि मंगलबार राती ९ बजे आइसोलेसनमा राखिएको छ । 

संक्रमितलाई नारायण नगरपालिकाको तर्ताङ्ग झुप्रेसालस्थित जंगलको बीचमा रहेको सरस्वती मावीमा बनाइएको आइसोलेसनमा राखिएको छ । उक्त स्कुलमा २० बेडको आइसोलेसन निर्माण गरिएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड-१९ फोकल पर्सन थीरबहादुर रेग्मीले बताए । 

पहुँच नभएकै कारण उद्वारमा ढिलाइ

दैलेखका ती युवा कर्णाली प्रदेशको पहिलो संक्रमित हुन् । कर्णालीका अन्य जिल्लामा हेलिकोप्टर प्रयोग गरेर स्वाब संकलन गरिरहेको कर्णाली प्रदेश सरकारले दैलेखका संक्रमितको उद्वारमा वेवास्ता गरेको यहाँका नागरिकले आरोप गराएका छन् । 

कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले पहुँचको भरमा हवाई मार्गमार्फत कालिकोट, मुगु, हुम्लामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिरहेको भएपनि संक्रमितको उद्वारमा ४२ घण्टा लगाएको आठबीस नगरपालिका-१ का वीरबहादुर नेपालीले बताए ।

'पहुँचबिहीन दलित समुदायको व्यक्ति भएकै कारण उद्वारमा वेवास्ता गरियो,' नेपालीले भने, 'उद्धार गरेर सुविधा सम्पन्न अस्पतालमा पनि लगिएको छैन्, जंगलको बीचमा रहेको स्कुलमा राखेर उपचारमा चरम लापरबाही गरिएको छ ।'

प्रदेश सरकारले संक्रमित व्यक्तिको उद्धार र उपचारमा वेवास्ता गरेको संघीय सांसद पार्वतीकुमारी विशुन्केले बताइन् । 'कोरोना संक्रमित व्यक्तिलाई उपचारमा दैलेख जिल्ला सदरमुकाममा ल्याउन किन ४२ घण्टा लाग्यो,' यस विषयमा छानवीन हुनुपर्छ,' उनले भनिन् ।

संक्रमितको गाउँ, न सुरक्षा न सिल !
 
कर्णाली प्रदेशको पहिलो कोरोना संक्रमित गाउँ आठबीस नगरपालिका-१ सात्तालालाई सिल गर्ने नगरपालिकाले निणर्य गरेपनि स्थानीय नागरिक ओहोर-दोहोर गर्ने क्रम नरोकिएको स्थानीयले बताएका छन् ।सुरक्षा व्यवस्था समेत नभएको स्थानीयको भनाई छ । 'क्वारेन्टाइनमा बसेका देउडा खेलिरहेका छन्, सामाजिक दूरी कायम गर्न उनीहरु चाहिरहेका छैनन्, दिनभरी क्वारेन्टाइनमा बस्छन् राती घरमा जान्छन्,' स्थानीय वीरबहादुर नेपालीले भने, 'हामीले सरोकारवाला निकायसँग बारम्बार वडा सिल गर्न र कोरोनाको पीसीआर विधिबाट जाँच गर्न माग गरेपनि सुनुवाई भएको छैन् ।' राज्यले यस क्षेत्रलाई चरम विभेद गरेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.