टायलको छानो
![टायलको छानो](https://annapurnapost.prixacdn.net/media/albums/sirjana-subedhi_20200521114226_FFzHJK4Aj4.jpg)
अढेस लाग्ने भित्तो र टाउको लुकाउने छहारीबाहेक के नै हो र घर ? यदी घरसँग भावना नजोडिए त्यो केवल ढुङ्गा माटोको थुप्रो न हो । समाजशास्त्रको परिभाषाले घरलाई कसरी व्याख्या गर्छ त्यो मेरो रुचिको विषय होइन । विश्वमा फैलिएको कोरोना भाइरसका कारण हामी त्रसित छौं। नेपाल सरकारले गरेको लकडाउनको निर्णयलाई हामीले हाँसेर स्विकार गर्यौं। जीवनरूपी गाडीमा यात्रा गर्दा जस्तो सुकै घुम्ती र अप्ठ्यारा आइलागे पनि इन्जिन बन्द गर्न कोही तयार छैनौं। दैनिक मृत्युसँग संवाद गर्न परे पनि यमराजको पाहुना बन्न कसलाई रहर हुन्छ र ?
लामो समय कलकारखाना, व्यापार व्यवसाय सबै बन्द गरेर घरमा बस्नु धेरैको पहिलो अनुभव होला। आज लकडाउनको ५९औं दिन। लकडाउले शरीरलाई घरबाहिर जान निषेध गरेको छ। मनमा पनि लकडाउन लागू हुने भए कोही यत्तिका दिन घरमा हाँसेर बस्ने थिएनौँ। लकडाउनमा घर बसेर पनि हजारौँ कोस दुरी पार गरिन्छ मनमनै। लकडाउनको अवधिमा मैले पनि आफैँलाई नियाल्ने प्रयत्न गरें। लामो समय एक्लै घरमा बस्दा कयौं प्रश्न आफैँलाई गरें। धेरैको उत्तर भेट्टाउन समय लाग्ने छ सायद। लकडाउनभरि घरमा बसेर घरको कथा लेख्दै छु।
घर शब्दको मोहसँग बच्चैदेखि निकै लोभिएको थिएँ। कुरा वि.सं. २०६० सालतिरको हो। परिवारमा हामी चार जना थियौँ। हजुरआमा, बुवा, काका अनि म। नौ वटा खाँबो र केही थान भकारीले बारेर बनाएको घरमा मैले धेरै भाकल गरेको छु। भकारीले बारेको भए पनि मेरो निम्ति यही घर बलियो साहारा थियो। मेरा साथीहरुको घरमा माटोको गारो र टायलको छानो थियो। उनीहरुले मेरो घरलाई 'झुप्रो' उपनाम दिएका थिए। मेरो घरले झुप्रोको उपनाम पाउनुमा टायलको छानो नहुनु मात्र प्रयाप्त कारण थिएन। हजुरआमाले जतन गरेर राखेको ट्याङ्कामा बुवाहरुको चिनाबाहेक जग्गा धनी प्रमाणपत्र अर्थात लालपुर्जा थिएन। जसको कारण हामी झुप्रोबासी भयौँ। सुकुमबासी शब्दको उच्चारणसमेत गर्न नसक्दै जग्गा र टायलको छानो भएको घर नहुँदाको विभेद खेपिसकेको थिएँ।
आफ्नै जग्गामा टायलको छानो भएको घर नहुँदा स्कुलको अन्तिम कुर्सी मेरो भागमा पर्ने गर्थ्यो। त्यस बखतदेखि नै मैले मनमनै अठोट गरेको थिएँ ठूलो भएपछि टायलको छानो भएको घर बनाउँछु। सुन्दा हाँसो लाग्ने बाल मनोविज्ञानको हृयाङओभर मसँगै हुर्किर्यो। सँगै पढ्ने साथीको घरमा बलेको बिजुली बत्तिको उज्यालोले जुनकिरीको उज्यालोलाई ओझेलमा परेको थियो। हामीले पनि औषधीको डिब्बाको बिर्कोलाई प्वाल पारेर पोटुकाको फेरको सलेदोको सहायताले टुकी बालेर अँध्यारोलाई च्यालेन्ज गरेका थियौँ। हाम्रो घरमा बिजुली बत्ति बाल्ने चाहना पूरा गर्नको लागि आफ्नै जग्गामा टायलको छानो भएको घर थिएन। बिजुलीबत्ति जडान गर्न लागि लालपुर्जा अनिवार्य थियो।
समय बित्दै गयो कथाका पात्रहरु फेरिए तर कथा पुरानै थियो। किशोर अवस्थामा हल्ला गर्दै जिस्केर हिंड्ने रहर कसलाई हुँदैन र। मेरा अन्य साथीजस्तै अनगिन्ति रहर थिए। काँधमा परिवारको पेट भर्नु पर्ने जिम्मेवारीको पहाड सवार थियो। एस.एल.सी. सकिएको भोलिपल्टदेखि काम गरेर पढ्न थालेको थिएँ। भकारीको छानोले वर्षातको पानी थेग्न नसकेर धेरैपटक मेरा किताब भिजाएका छन्। भकारीबाट चुहिएको पानीबाट जोगिन कसौडी थापेर ओतिएझैँ सहज थिएन हुरी बतासबाट बच्न। हुरीले हाम्रो खाँबा हल्लाएर भकारी टाउकोमा बजारिदिन्थ्यो अनि म देउतालाईसमेत गाली गर्ने गर्थें। मेरा घरका तीन जना सदस्यलाई तामाकोशीको किनारमा आफ्नै हातले दागबत्ती दिएदेखि पुरानो झुप्रोमा एक्लो भएँ।
गरिब र निमुखाको विकासको लागि भनेर सरकारले धेरै एजेण्डा नल्याएको होइन। तर ती एजेण्डामा गरिव र सुकुम्बासीको कहिल्यै पहुँच पुगेन। उल्टै मानसिक यातना भोग्नु परेको तितो अनुभव गडेर बसेको छ हृदयमा। ऐलानी जग्गामा भएको भकारीको छाप्रोमा तत्कालीन गाविस सचिवले धेरैपटक घर भत्काइदिने धम्की दिएका थिए। ऐलानी जग्गा अतिक्रमण गरेको आरोपमा स्कुलबाटै जिल्ला प्रशासन कार्यालयलाई स्पस्टीकरण दिन कयौँपटक पुगेको छु। बाल मस्तिकमा आफ्नै जग्गा र घर नहुनुको हिनता बोध गढेको कारण आत्माहत्या गर्ने सोचसमेत पटक-पटक बनाएको थिएँ। आज इँटा र सिमेन्टको घरमा बसेर भकारीको घरको कथा लेख्ने दिन आएको छ।
परिवारलाई खरानी बनाएर आफ्नै हातले बिदाइ गरेदेखि मेरा दैनिकी फेरिए। बाउबाजेको सम्पत्ति सिधै सन्तानको नाममा हुने अवसर मसँग थिएन। यदि मेरा बुवाको नाममा सम्पति हुन्थ्यो भने हाम्रो पनि लालपुर्जा हुने थियो। सरकारको नजरमा सरकारी जग्गा हडपेको व्यक्ति बन्ने थिएनौँ। समाजका केही हुनेखाने टाउकेलाई हाम्रो छाप्रोले निकै असहजता बनाएको थियो। जिल्लामा हुने बहसमा जहिल्यै हाम्रो छाप्रो हटाउने निर्णय हुन्थ्यो तर बिडम्बना छाप्रो भत्किएपछि कता जाने कुनै विकल्प थिएन हामीसँग। बाध्यताले सरकारी जग्गामा बनेका छाप्रा हटाउने निर्णय गर्ने सरकारले दलाली र ठेकेदारहरुले सरकारी जग्गामा बनाएको महलको कुनै हिसाव राख्न चाहेका छैनन्। सरकारको नजरमा दोषी बनेर बस्ने रहर पटक्कै थिएन त्यसैले त्यो छाप्रो छाडेको वर्षौं भयो।
'परिवारमा एक्ली युवती भएपछि किन चाहियो घर जग्गा ? बिहे गरेर श्रीमानको घर जानु परिहाल्छ। नचाहिने तनाव लिन किन जग्गा किनेको होला ? घर बनाएर बेहुला भित्रयाउने हो कि कसो? कस्तो भाग्यमानी होला तिमीसँग बिहे गर्ने मान्छे ? तिम्रो कमाइले मात्र त होइन होला ? कसले सहयोग गरेको छ है ? सरकारले सुकुमबासीलाई जग्गा दिएको सुनेको थिएँ तिमीलाई पनि सरकारले दिएको हो ? घर राम्रो छ तर एक्लै डर लाग्दैन ?' मैले सामना गरिरहेका लेटेस्ट प्रश्न हुन् यी।
पढाइ र जागिर गर्दै ऋणधन गरेर सदरमुकाममा थोरै जग्गा अनि ढलान गरेको सानो घर बनाएको छु। ऐलानी जग्गाको मेरो छाप्रोले नगरको विकास गर्न ठूलै बाधा पुगेको ठान्नेले
अहिलेसम्म त्यो जग्गामा विकासको सिन्को भाँचेका छैनन्। लामो समय घरमा बसेर घरको कथा लेख्न सक्ने बनाउनुमा मेरा छिमेकीहरु जसले हाम्रो झुप्रो भत्किएको हेर्न चान्थ्ये उनीहरुको ठूलो हात छ। अनि सरकारप्रति सधैं ऋणी नै हुने भएँ। लामो समय सरकारी जग्गामा बसेको भनेर बैठकको एजेण्डा सरकारले नै बनायो। प्रिय छिमेकीहरु र सरकारका एजेण्डा झोलामा बोक्ने भरियाले हाम्रो झुप्रोलाई हाइलाइट नगरेको भए आज मेरो सिरानीमा आफ्नै जग्गाधनी पुर्जा हुने थिएन। आफ्नै घर हासिल गर्ने उर्जा नथपिन सक्थ्यो।
भर्खर बनाएको पक्की घरमा बसेर कोरोना भाइरसबाट जोगिएको छु। भाइरसको त्रासले गर्दा जो कोही अहिले घरमा नै बस्नु पर्ने बाध्यता छ। म जस्ता कयौं छोरी अहिले पनि सरकारी जग्गामा छाप्रो हालेर बसेका होलान्। उनीहरुले पनि बेलैमा सोच्नुपर्छ अब हाम्रो छाप्राले देश विकासमा बाधा होइन छिमेकी दलालको कारखाना चल्न छेको हालेको छ। सुकुमबासी दाजुभाइले पठाएको रेमिट्यान्सले देश चल्छ तर उनीहरु बस्ने आवासको ग्यारेन्टी गर्ने नीति बनाउने फुर्सद छैन सरकारसँग। सुकुमबासीको नारा बेचेर सत्तामा पुगेका नेताहरुले सरकारी जग्गा रातारात आफ्नै नाममा सारेका छन्। उनीहरु सुकुम्बासीको छाप्रो हटाएर महल बनाउने छन् र ठूलो होडिङबोर्डमा लेख्नेछन् 'सुखी नेपाली, समृद्ध नेपाल' को नारा।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)