कतारमा नेपाली कामदारलाई मृत्युदण्ड
दोहा : कतारमा कार्यरत नेपाली कामदारलाई यहाँको सरकारले मृत्युदण्ड दिएको छ ।
एक कतारी नागरिकको हत्या गरेको अभियोगमा महोत्तरीको औरहीका अनिल चौधरीलाई मृत्युदण्डको सजाय दिइएको हो । कतारमा कतारीको हत्या गर्ने र मृत्युदण्ड पाउने चौधरी नै सम्भवतः पहिलो नेपाली कामदार हुन् ।
हत्या अभियोगमा उनी २०१७ को अप्रिलमा पक्राउ परेका थिए । यस घटनाबारे कतारस्थित नेपाली दूतावासलाई पनि कतारी सरकारले जानकारी दिइसकेको दूतावासका अधिकारीहरुले जनाएका छन् ।
साथै उनको शव नेपाल लैजान अनुमति दिइए पनि लकडाउनका कारण तत्काल त्यसबारे प्रक्रिया अगाडि बढाउन कठिन भएको बताइएको छ । नेपालीहरुबीच नै हत्याका घटना भए पनि यसअघि कतारी नागरिकको हत्या अभियोगमा कुनै पनि नेपाली कामदारले मृत्युदण्ड भोग्नु परेको थिएन । चौधरी एक कम्पनीमा सामान्य मजदुरीका लागि २०१५ मा कतार पुगेका थिए । पछिल्लो ३ वर्षयता उनी जेलमै थिए ।