कोरोना, किसान र लिपुलेक
अस्तित्वमा वसन्त ऋतुले राज गरिरहँदा मानिसहरू घरभित्रै कोरोना कहर खेपिरहेका छन् भने किसान आफ्ना बारीमा मौलाएका तरकारी आँखाअगाडि कुहिएर खेर जाँदा लिपुलेकको मर्मले देश दुखेभन्दा बढी उसको छाती दुखेको छ। लिपुलेक उसको आँखाभन्दा अलिपर छ, लिपुलेक उसको काखकी छोरीभन्दा अलिपर छ अनि लिपुलेकको भाषण र आन्दोलनले भन्दा उसको परिवारको जिम्मेवारीले उसलाई धेरै मर्माहत बनाएको छ।
एकातिर कोरोनाको कहरले दिनप्रतिदिन नेपालीलाई छाडेको छैन। दैनिक संक्रमितको संख्या बढिरहेको छ। आजको दिनसम्म आउँदा कोरोना संक्रमित नेपालीको संख्या बिहीबारसम्म चार सय ४४ पुगिसकेको छ र खुकुलो पारिएको बन्दाबन्दीको कारण संक्रमितको संख्या बढ्दै जाने अनुमान गर्न सकिन्छ। विनासुझबुझ मानिसको चहलपहल देख्दा लाग्छ- हामीमा समझको विकास हुन अझै बाँकी छ। सडक र चोकचोकमा उत्पादन गर्ने किसान होइनन्, सवारीसाधन भएका सम्पन्न व्यक्तिको झुण्ड छ।
अत्यावश्यक काम, सेवा र सूचनाका नाममा सवारी पासको दुरुपयोग हुनु भनेको आफ्नो स्वास्थ्यको जोखिम मात्र होइन, आफूबाट अरूलाई पुर्याउने जोखिमबारेमा बुझ्ने समझ र संवेदना विकसित भएको पाइँदैन।
आफ्नो स्वास्थ्य रक्षाका लागि आफैं संयमित नहुने हो भने त्यसको भागीदारी पनि आफैं हुनुपर्नेछ। दैनिक बढ्दै गएको संक्रमणबाट पनि बोध हुनुपर्ने हो यो हेलचक्रयाईं गर्ने विषय होइन। कोरोना भाइरसको औषधि पत्ता लागिसकेको छैन। त्यसैले रोगप्रतिरोधात्मक क्षमता बढाउने, मानसिक स्थिति शान्त राख्ने उपाय अपनाउने र खानपानमा विशेष ध्यान दिने समय हो यो।
स्वास्थ्य हुनु, आफैंमा स्थित हुनु, आफ्नो स्वभाव र शरीरको स्वभावलाई जान्नु अनि मनले जे भनेको छ त्यही गरिएको छ या आफ्नो शरीर र स्वास्थ्यलाई ख्याल राखेर सचेत बनिएको छ आफैंले मूल्यांकन गर्नुको विकल्प छैन। रोगप्रतिरोधात्मक क्षमता बढाउने किसिमका सागसब्जी, उमारिएका गेडागुडी, कागती, सुन्तलालगायतका भिटामिन सी प्राप्त हुने खानेकुरा प्रयोगमा जोड दिन जरुरी छ। भिटामिन ई, के लगायतका पोषण प्राप्त हुने खाना प्रयोग गर्ने, शारीरिक योगाभ्यास, ध्यान, सम्यक निद्रा र सम्यक वि श्रामलाई नियमित गर्ने अर्को उपाय हो। सरसफाइमा ध्यान, सक्रिय जीवनशैली र दैनिकीलाई आनन्दित तरिकाले बिताउने उपाय अपनाउन सके स्वस्थ बनिन्छ।
हाम्रा खानेकुराका स्रोत नै किसान र कृषि उत्पादन भएकाले यिनलाई प्राथमिकतामा राखी बन्दाबन्दीको व्यवस्थापन गर्न सकिएन भने अबको भविष्यमा विकराल समस्या नआउला भन्न सकिन्न। विडम्बना ! यो समयमा हाम्रा नेपाली किसानको उत्पादन बारीमै कुहिएका छन् भने छिमेकी मुलुकबाट आयातीत तरकारी त्यो पनि विषादी परीक्षणविना हाम्रा भान्छा र पेटमा पुगेका छन्। हामीलाई अत्यावश्यक कुरा प्राथमिकतामा राखेनौं भने भविष्यमा पछुताउनुको विकल्प हुँदैन। बन्दाबन्दीमा हाम्रा किसान र उनीहरूको उत्पादनको बजार व्यवस्थापन किन प्राथमिकतामा परेन ? एकातिर उपभोक्ताले उत्पादन नपाएर समस्यामा पर्नु अर्कातिर, किसानले आफ्ना उत्पादन बारीमै सडाउनुपर्ने यो कस्तो व्यवस्थापन हो ? कस्तो हेलचेक््रयाईं हो र कस्तो गैरजिम्मेवारीपन हो सरकारको ?
आज काठमाडौंका तरकारी बजार, सडक र चोकचोकमा तरकारी र फलफूल प्रशस्त छन् तर हाम्रा किसानका होइनन्, छिमेकबाट भित्रिएका ! लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छापामा आइरहेका छन्। वैशाखको तथ्यांक छाडेर चैतको तथ्यांकलाई आधार मान्दा पनि नेपालमा दैनिक ९ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको सरकारी तथ्यांकले नै बताएको छ । यो ४२ दिनका बीचमा मात्र चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने आधार भन्सारकै अधिकारीले बताएको समाचार पनि छ।
अवश्य पनि किसानसम्म व्यापारी पुग्दैनन्, सरकार नै पुग्नुपर्छ। व्यापारीलाई त जहाँको उत्पादनले नाफा मिल्छ त्यहीं केन्द्रित भए पुग्छ। व्यापारीलाई न त उपभोक्ताको स्वास्थ्यको ख्याल हुन्छ, न त विषादी परीक्षणको चिन्ता नै ! हाम्रा किसान टाउकोमा हात राखेर आँखाबाट आँसु बगाइरहँदा र छिमेकी मुलुकबाट अर्बौंको तरकारी, फलफूल आयात भइरहँदा कतै यो नियतवश भएको त होइन भनेर शंका गर्ने प्रशस्त ठाउँ छन्। हाम्रा सीमानाकाबाट आयातको सीमितता नहुनु, दैनिक सामान भित्रिनु तर हाम्रा पूर्वदेखि पश्चिमसम्मका किसानले आफ्नो उत्पादनलाई डोजर लगाउन बाध्य हुनुपर्ने अवस्था नागरिकलाई सहज भएको छैन। हामी दुई पैसा बढी तिरेर हाम्रै नेपाली किसानको उत्पादन उपभोग गर्न चाहन्छौं भन्ने नागरिकलाई के जवाफ दिन्छौ सरकार ?
सुन्नमा आएको छ- हिजोआज आयातीत तरकारी, फलफूलको विषादी परीक्षण पनि हुन छाडेको छ। सरकार किन आफ्ना किसानप्रति जवाफदेही र उत्तरदायी हुन सकेको छैन ? ती किसानका दर्दनाक आवाज र हृदय फुटेर निस्केका आँसु सरकारले किन देख्दैन ? यसको परिणाम भविष्यमा के आउला ? सरकारको दूरदर्शिता के हो ? किसानको उत्पादन र बजारको व्यवस्थापन विनाको कृषि प्रवद्र्धन कसरी सम्भव हुन्छ ?
यो कोरोना कहरमा प्रसंग लिपुलेकको चले पनि सबैतिरका सिमानामा भारतीय हस्तक्षेप रहेको समाचार नौलो होइन, वर्षौंदेखिको यो समस्या र विवादले निकास किन पाएको छैन ? नेपाल सरकारले पटकपटक गम्भीरतापूर्वक आपत्ति जनाउँदै पत्राचार या संवाद गरेको भनिए पनि विवाद समाधान नहुनुले कमजोरी कसको हो ? नेपालले वक्तव्य जारी गर्दै गर्ने तर भारतले नेपाली भूभाग आफ्नो कब्जामा पार्दै जाने र सफल पनि हुने, यसको कारण नेपाल सरकार हेपिएकै मान्ने हो या प्रमाणीकरण गर्ने आधार नभेटिएको हो ?
महाभूकम्प २०७२ को दुःखद अवस्थामा पनि दुई ठूला छिमेकी मुलुकले नेपाली भूभाग मिचेर व्यापार मार्ग खोल्ने निर्णय गरेका हुन्। अहिले कोरोना कहरको समयमा पनि त्यही प्रकृतिको घटना दोहोर्याएको छ भारतले। यो प्रचलन, परम्परा र व्यवहारलाई किन निरन्तरता दिइएको छ ? इतिहासदेखि अहिलेसम्म आउँदा नेपाल र नेपालीले यो समस्या र अपमान भोग्दै आउनुको कारण प्रस्ट पारिएन भने जनता सधैं जिज्ञासु मात्र बनिरहनुपर्ने हुन्छ। सूचना र जानकारीका निम्ति भन्दै उच्चस्तरीय आयोग र संयन्त्रका नाममा करोडौं बजेट खर्च गर्ने तर आफ्नो सार्वभौमसत्ता जोगाउन नसक्ने सरकारको फितलो कामबाट निराश हुनुको विकल्प छैन जनतालाई ?