समाचार प्रभाव : क्वारेन्टाइनको व्यवस्था फेरियो (फोटो/भिडियो)
बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनको भद्रगोल व्यवस्थापनमा चुस्त बनाइएको छ। क्वारेन्टाइन व्यवस्थापन त्रुटीपूर्ण भएको समाचार अन्नपूर्ण पोस्टमा आएपछि क्वारेन्टाइनमा बस्नेहरुको खानपान, सेवासुविधाको जिम्मेवारी विनायक होटल बर्दिबास महोत्तरीका सञ्चालक विष्णु खड्काले लिएका छन्। जम्मा १७ शैय्याको क्वारेन्टाइनमा अहिले १७ जना नै रहँदै आएका छन्।
केन्द्रमा बसेकाहरुले भुइँमा खानेकुरा राखिने र सुरक्षा तथा सरसफाइका सामाग्री (साबुन, मास्क, पानी तताउने भाँडा, सेनिटाइजरआदि) व्यक्ति पिच्छे नपाइएको र स्वास्थ्य परामर्श पनि नपाइएको गुनासो गरेका थिए। खानेकुरा पनि राम्ररी नपाइएको गुनासो बढेपछि विनायक होटलका सञ्चालक बिष्णु खड्काको आग्रहमा नयाँ जिम्मेवारी होटललाई नगरप्रमुख बिदुरकुमार कार्कीले नै दिएका छन्।
नयाँ जिम्मेवारी लिएका होटल व्यवस्थापनले आफुले दिने सेवासहितको साप्ताहिक खाना, खाजाको व्यवस्थान तालिका बनाएर काम शुरु गरेको छ। पहिलो दिन नै व्यक्तिपिच्छे साबुन, सेनिटाइजर, पानी तताउने विद्युतीय मग (जग), खानेपानीको जार उपलब्ध गराएको छ। होटलले प्रतिदिन सेवाग्राहीलाई सर्जिकल मास्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
बिहानको खाजा–चिया, खाना, दिउँसोको खाजा र रातीको खाना तालिका केन्द्रमा बस्ने सबैलाई उपलब्ध गराएर सो अनुसारको ब्यवस्थापन गरिएको होटल सञ्चालक खड्काले जनाए।
बासमती चामलको भात, राहरको दाल, साग, फलफूल, अण्डा जस्ता पोसिलो आहार, तातो पानी, सेनिटाइजर जस्ता सेवासुविधाको व्यवस्थान गरिएको उनले जनाए। तालिकामा बारैपिच्छेको खाना र खाजाका फरक-फरक परिकार खुवाइने उल्लेख गरिएको छ।