कोरोना परीक्षण गर्न जनकपुर र राजविराज ल्याइयो थप दुई पीसीआर मेसिन
जनकपुरधाम : प्रदेश २ सरकारले दुईवटा नयाँ पीसीआर मेसिन खरिद गरेको छ । जनकपुरधाम र राजविराजका लागि दुईवटा पीसीआर मेसिन खरिद गरी ल्याइएको छ । प्रादेशिक अस्पताल जनकपुरधामस्थित जडित पीसीआर मेसिनको रिपोर्टमा शंका उपशंका भएपछि बन्द रहेको पीसीआर परीक्षण पुनः हुने भएको छ ।
भारतसँग सीमाना जोडिएको प्रदेश २ को आठ जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएपछि राजविराज र जनकपुरमा पीसीआर मेसिन ल्याइएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
विगत दुई हप्तादेखि प्रयोगशालामा जडित पीसीआर मेसिनले स्वाब परीक्षणको रिपोर्ट फरक दिएपछि बन्द गरिएकोमा अब पुनः सूचारु हुने भएको छ । पीसीआर प्रयोगशाला जनकपुर र राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा स्वाब परीक्षण गर्दा फरक रिपोर्ट आएपछि पहिलो र दोश्रो पीसीआर मेसिन समेत बन्द गर्नुपरेको थियो ।
पीसीआर मेसिन बन्द हुँदा विगत दुई हप्तादेखि जनकपुरमा पीसीआर सेवा बन्द भएको थियो । स्वाब संकलन गरी जाँचका लागि काठमाडौं पठाउनुपर्ने र रिपोर्टको लागि हप्तौं कुनुपर्ने बाध्यता थियो।
प्रदेश २ सरकारले आफ्नै लगानीमा खरिद गरिएको पीसीआर मेसिन जडान गरी आइबार वा सोमबारबाट सुरु गरिने जनाएको छ ।