लकडाउनमा भारत र जिल्लाबाहिरबाट भित्रिएका थिए कैलालीका तीनैजना संक्रमित
टीकापुर : कैलालीका तीनजनामा कोरोना संक्रमण देखिएको छ । कैलालीको जानकी गाउँपालिका १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका तीनजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीका अनुसार तीनजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीकाअनुसार कोरोना पुष्टि हुनेमा इटहरीबाट जेठ २ गते आएका जानकी गाउँपालिका ७ जवलपुरका १९ वर्षीय युवक हुन्।
त्यस्तै, जेठ १ गते भारतको महाराष्ट्रबाट आएका जानकी गाउँपालिका ४ कञ्चनपुरका २६ वर्षीया पुरुष र जेठ १ गते बाँकेको नेपालगञ्जबाट आएका जानकी गाउँपालिका ७ मोतिनगरका २१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।
चौधरीका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित पुष्टि भएको सरस्वती माविको क्वारेन्टाइनमा ४५ जनालाई राखिएको छ। संक्रमित पुष्टि भएकालाई टीकापुर अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।
धनगढीस्थित प्रयोगशालामार्फत गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। योसँगै बैतडी र डडेल्धुराका दुईजना युवामा समेत कोरोना पुष्टि भएको छ। यसअघि सुदूरपश्चिममा ५ जना कोरोना जितेर घर फर्किसकेका छन् ।