प्राचीन नेपालको अखण्डता

प्राचीन नेपालको अखण्डता

 (अनुसन्धान)


इसाको चौथोदेखि मध्यकालसम्म नेपाल विस्तारित क्षेत्रमा अखण्ड थियो। 

उठान 

इतिहास अध्ययनका विविध सामग्री हुन्छन्। ती स्वदेशी वा विदेशी जुनसुकै स्रोतका हुन्छन्। विदेशी स्रोतमा विभिन्न भाषाका सामग्री पर्छन्। नेपालको इतिहासको स्रोतको अध्ययन गर्दा विदेशी स्रोतमा अङ्ग्रेजी भाषाका सामग्रीलाई अनावश्यक महत्त्व दिने गरिएको भनी आलोचना समेत हुने गरेको छ। अङ्ग्रेजी बाहेक अरू भाषाका स्रोतबाट इतिहासको खोजी कमै भएको पाइन्छ। 

प्राचीन नेपाल र नेपाली भूक्षेत्र र भाषाको अध्ययनको अरू विदेशी स्रोत पर्सियाली÷अरबी भाषाका सामग्री हुन्। प्राचीन नेपाल पर्सियाली व्यापारीका लागि केन्द्रका रूपमा रहेको थियो। खासगरी जडीबुटी र सुगन्धित पदार्थका लागि हिमाली वनस्पति तथा वन्यजन्तु व्यापारिक वस्तु रहेका थिए। प्राचीन कालदेखि मध्यकालको अन्त्य अर्थात् मल्लकालसम्म पनि पर्सियाली व्यापारीको त्यस्तो व्यापार विश्वका अन्य भूक्षेत्रमा पनि हुने गरेको थियो।  

व्यापारिक कार्यसाथ अन्य अध्ययन पनि पर्सियाली विद्वान्हरूबाट भएका थिए। त्यसै व्रmममा अज्ञात लेखकले लेखेको हुदूद् अल अलम (दी रिजन्स अफ दी वल्र्ड) नामक कृति नेपाल र नेपाली भूक्षेत्र र भाषाको अध्ययनका लागि ज्यादै महत्त्वपूर्ण रहेको छ। 

सन् ३७२÷९८२-३ का घटनाक्रमलाई समेटेर अज्ञात व्यक्तिद्वारा लिखित हुदूद अल अलम (दी रिजन्स अफ दी वल्र्ड)  नामक पुस्तकमा नेपाल अखण्डताको चर्चा पाइन्छ। त्यस्तै, अल बिरुनीको भारत ग्रन्थमा यसबारे पुष्टि पाइन्छ। अरू नेपाली स्रोतले पनि ती तथ्यलाई स्थापना गर्दछन्।
 

हुदूद् अल अलम

सन् ३७२ देखि सन् ९८२ सम्म (इसाको चौथो शताब्दीको अन्त्यदेखि १०औँ शताब्दीको अन्त्य) का विवरण समेटिएको हुदूद् अल अलम मूलतः विश्वको भूगोलबारे पर्सियाली (फारसी) भाषामा गरिएको वर्णन हो। रुसी विद्वान् भी. मिनोस्र्कीले अङ्ग्रेजीमा गरेको अनुवाद सन् १९३० मा प्रकाशन भएको हो। 
यो अनुवाद पनि मूल पर्सियालीबाट नभई भी. भी. (भासिली) बार्थोल्ड्स्ले रुसी भाषामा गरेको अनुवादबाट गरिएको हो। पर्सियाली भाषाको पाण्डुलिपि सन् १८९२ मा रुसी प्राच्यविद् ए. जी. (अलेक्जेन्डर) तौमान्स्कीको प्रयासमा उज्वेकिस्तानको बुखारामा फेला परेको हो। यो प्रति पनि मूल नभएर त्यसको उतार रहेको बताइएको छ। बुखारा युनेस्कोको विश्व सम्पदा सूचीमा परेको पुरातात्त्विक सहर हो। 

बुखारामा जीर्ण अवस्थामा प्राप्त पाण्डुलिपिबाट केही उच्चारण यही नै हो भन्न सकिने अवस्था नरहेको बताइएको छ। धेरै भौगोलिक नाम पनि बुझिने नभए पनि अनुवादकले आफ्नो क्षमता अनुसार विभिन्न कोणबाट त्यसको खोजी गरी प्रस्तुत गरेका छन्। त्यसैले गर्दा पर्सियाली भाषामा गरिएको नेपाल सम्बन्धी अति महत्त्वपूर्ण अध्ययन प्रामाणिक बनेको छ। हुदूद् अल अलममा नेपाललाई नेपाल नै भनेर उल्लेख नभएको अनुवादकले उल्लेख गरेका छन्। तर पर्सियाली लिपिमा लेखिएको शब्दको निर्माण प्रक्रियाका आधारमा नेपाल भनी स्थापना गरिएको छ।

पुस्तकमा नेपाललाई नेपाल नै भनेर उल्लेख गरिएको छैन। नेपालका लागि विभिन्न नाम प्रयोग गरिएको छ। जस्तो कि मूल हुदूद् अल अलममा बेतल (पेज ९१, २३९, २४८), नितल (पेज ६३, १९८, २४८) भनी नेपालको उल्लेख गरिएको छ। अनुवाद र विश्लेषणमा ती नाम कसरी नेपाल रहे भन्ने स्थापना गरिएको छ।
तत्कालीन समयमा हालको भारत र तिब्बतबिच व्यापार हुने र त्यसको केन्द्रमा नेपाल रहेको वर्णन विवरणमा पाइन्छ। अझ नेपाललाई विश्वका व्यापारीले नै भ्रमण गर्ने गरेको केन्द्रीय स्थलका रूपमा चिनाइएको छ। त्यससँगै मुख्य व्यापारिक वस्तुमा कस्तुरी रहेको उल्लेख पाइन्छ।  

हिमाली उपक्षेत्रमा पाँच वटा राज्य (प्रिन्सिपालिटिज) रहेको विवरणमा पाइन्छ। जसमा हितल, तिथल र बेतल (नेपाल ?) लाई नेपालको राज्यक्षेत्र अन्तर्गत रहेको र ताकी (तक्क देश ?) र  सालुकी (चम्बा ?) कश्मिरका छिमेकी राज्य रहेको उल्लेख छ। 

त्यसो त हालैका अरू अध्येताको भनाइ उल्लेख गर्दै गरिएको टिप्पणीमा नेपाललाई क्विन्नौन (कन्नौज) गुर्जर प्रतिहार वंशीय (आठौँ शताब्दीदेखि इसाको १०३७ सम्म) राजाको राज्य रहेको र गुर्जर प्रतिहारको अधीनमा सम्पूर्ण उत्तरी भारत (सिन्दबाहेक), पन्जावको पश्चिमी भाग, काश्मिर, नेपाल, असम र बङ्गाल, मध्य प्रदेश र उडिसाको केही भाग रहेको पुनर्पुष्टि गरिएको छ।

हुदूद् अल अलममा नेपालसँग सिमाना जोडिएका तर स्पष्ट नभएका दुई स्थानको उल्लेख छ, जसको सम्बन्ध हिन्दुस्तान र तिब्बतसँग रहेको थियो। ती हुन् हितल र तिथल, सँगै उल्लेख भएको स्थानको नाम बेतललाई कोष्ठकमा नितल भनी अर्थ्याइएको छ। जसको अर्थ हुन्छ तल्लो प्रदेश अर्थात् तल्लो लोक। हुदूद् अल अलममा उल्लेख भएका दुई नामलाई अर्को फारसी दस्ताबेजका आधारमा अर्थ्याइएको छ त्यो हो अल बिरुनीको क्यानन (ग्रन्थ)। दुबै कृतिमा नेपाल भनेर उल्लेख गरिएका तत्कालीन पर्सियाली शब्दमा सामान्य भिन्नता रहेको तर अर्थमा फरक नपर्ने जनाइएको छ। 

अल बिरुनीका ग्रन्थ

अल बिरुनीको ग्रन्थमा उल्लेख भएका ती शब्दको अर्थ खोज्नु पहिले बिरुनीबारे सामान्य जानकारी राख्नु सान्दर्भिक हुन्छ।

अल बिरुनी ठूला विद्वान् थिए। उनले १४६ वटा किताब लेखेका थिए जसमा खगोल शास्त्रका ३५, ज्योतिष शास्त्रका २३, गणितका १५ कृति महत्त्वपूर्ण मानिएका छन्। उनी साहित्य र इतिहासका रचनाकार र भाषाविद् पनि मानिएका छन्। पर्सिया (हालको इरान) को अधीनमा रहेको हालको ख्वारजमका विद्वान् अल बिरुनी भारतवर्ष (दक्षिण एसिया) मा आएका थिए। त्यसैबेला उनले संस्कृतको अध्ययन गरेर पतञ्जलिको योगसूत्रको अनुवाद तर्जामत केताब बतञ्जलि (पतञ्जलि) फिल-कलास मेन अल एर्तेबाक शीर्षकमा गरेका थिए।

पर्सियाली÷फारसी भाषामा लेखिएको किताब उल हिन्द विभिन्न भाषामा अनुवाद भएको पाइन्छ। यसका अङ्ग्रेजी अनुवाद दुई भागमा पाइन्छन्। डा. इडवार्ड सी सखाउले अनुवाद गरेको अल बिरुनिज इन्डिया, (अल बिरुनीको भारत) भारत विद्याको एउटा प्रमुख आधार ग्रन्थ हो। त्यसको पहिलो अङ्कमा नेपालको प्रसङ्ग पनि पाइन्छ। कन्नौजबाट नेपाल हुँदै भोटेशर (तिब्बत ?) जाने मार्गको सूचनामा नेपाल पनि परेको छ। उनले नेपालको यात्रा गरेको कुनै मानिसले दिएको सूचनाका आधारमा उक्त कुरा लेखेका छन्। अनुवादमा उल्लेख भए अनुसार नेपालको नाम नैपाल (Naipal) उल्लेख गरिएको छ।

हुदूद् अल अलमले हामीलाई दिएको ज्यादै महत्त्वपूर्ण तथ्य यसको भौगोलिक क्षेत्र सम्बन्धी हो। तत्कालीन समयमा नेपालसँग सिमाना जोडिएका स्थान (देश) का रूपमा तिब्बत र हिन्दका बीचको बेतल वा नितल वा नेपाल रहेको र यो कस्तुरी व्यापारको केन्द्र रहेको थियो। 

यसलाई अल बिरुनीको तथ्यले पनि स्थापित गरेको छ। त्यसलाई अरबी वर्णमालामा लेखिएको नामबाट स्पष्ट गरिएको छ। अरबी भाषामा नइपाल (Naypal) लेख्दा प्रयोग हुने अरबी वर्ण हुदूद् अल अलम र अल बिरुनीको भारत ग्रन्थमा समान रहेको खालि थोप्लाहरूमा मात्र फरक रहेको विश्लेषण भी. मिनोस्र्कीको छ। पर्सियाली भाषामा ‘प’ लाई ‘ब’ उच्चारण हुने कुरा अल बिरुनीले पतञ्जलीलाई बतञ्जली लेखेकोबाट पनि पुष्टि हुन्छ। त्यस आधारमा बेतल वा नितल भनी उल्लेख भएका शब्द नेपाल नै हुने स्पष्ट हुन्छ। अहिले पनि अरबी भाषामा नेपालको उच्चारण निबाल हुने गर्दछ।

संस्कृत र नेपाली तथ्य

वामन शिवराम आप्टेको संस्कृत-हिन्दी शब्दकोश अनुसार पनि नितल नाम नेपाल नै रहेको पुष्टि हुन्छ। शब्दकोश अनुसार नितलको अर्थ पातालका सात भागमध्येको एक भनिएको छ र पातालको अर्थमा निम्न प्रदेश वा तल्लो लोक भनेर तल्लो भूभागलाई अर्थ्याइएको छ।

प्राच्य ऐतिहासिक तथ्यले पनि नेपाल भनेको तल्लो (हिमालभन्दा) भूक्षेत्र रहेको र त्यसलाई नीप शब्दले बुझाएको तथ्य दिवाकर आचार्यले नीप जन र नेपाल पुस्तकमा प्रस्तुत गरेका छन्। नीप शब्दको व्युत्पत्तिगत अर्थ नीचो (नि) पानी (अप्) भएको ठाउँ भन्ने हुने र त्यस्ता ठाउँ नदीका गहिरा दून, पहाड फेदीका पानी उम्रने खोँच, र सिमसार सबै हुन सक्ने आचार्यको भनाइ छ। साथै, संस्कृतमा त्यस्तो ठाउँलाई मात्र नभनेर त्यहाँ पाइने निश्चित वनस्पति र बसोबास गर्ने मानिसलाई समेत नीप भनिएको र त्यसको पहिलो उदाहरण ऋग्वेदमा पाइएको आचार्यको मत छ।

हुदूद् अल अलम र अल बिरुनीले पनि नेपालको सन्दर्भ उल्लेख गर्दा तल्लो पहाडी क्षेत्रसम्मको भौगोलिक अवस्थितिको उल्लेख गरेका छन्। केही उपत्यका वा दूनको उल्लेख गरेका छन् तर ती उपत्यका काठमाडौं उपत्यका नभएर धवलागिरि आसपास तथा शारदा वा गोग्रा नदीको आसपासका चर्चा गरेका छन्। बरु तारु वा थारुको क्षेत्र र तल्लो पहाडको प्रसङ्ग उल्लेख गर्दा सम्भावित दाङ उपत्यकाको उल्लेख भएको अनुमान गर्न सकिन्छ। तर ती क्षेत्रबाट कस्तुरीको व्यापार भएको तथ्य पुष्टि गर्ने प्रामाणिक दस्ताबेजको अभावमा व्यापारिक केन्द्र भने काठमाडौं उपत्यका नै रहेको बुझ्न सकिन्छ। यस आधारमा प्राचीन कालमा नेपालको अखण्ड भूक्षेत्र रहेको तथ्य पनि स्थापित हुन सक्छ। 

हुदूद् अल अलमको हितल कुन हो भन्ने स्पष्ट छैन तर यो हिमाली क्षेत्रलाई विभाजन गर्ने स्थान हुन सक्ने अनुमान छ, जुन सुदूरपश्चिम नेपालमा शारदा वा गोग्रा उपत्यका रहेको मानिएको छ। यो हालको नेपालको पूर्वपश्चिम अवस्थितिको पश्चिमी सिमानामा पर्दछ। अल बिरुनीको हितलसँग यो नाम (हितल) लाई मिलाएर तथा दि इम्पेरियल गजेटरमा उल्लेख भएको ब्रिटिस इन्डियाको प्रशासनिक एकाइ अध्ययन गर्दा त्यो हालको नैनीताल हुनसक्ने तुलनात्मक तथ्य प्रस्तुत गरिएको छ। 

बेतल वा नेपालबाट हितललाई अलग्याउने वा बीचमा रहेको क्षेत्र तिथललाई मानिएको छ। जसलाई मध्य नेपालको धवलागिरिको छिमेकमा खोज्नु पर्दछ भनेर यहाँ एउटा सानो राज्य रहेको सङ्केत गरिएको छ र यो नेपालको बाइसे र चौबिसे राज्य प्रकृति अनुसार सत्यको नजिक रहेको छ। 
हुदूद् अल अलमका लेखक को हुन् र उनी नेपाल आएर वा नआई त्यस्तो विवरण दिए भन्ने स्पष्ट छैन। तर यसले नेपालको हालको भौगोलिक र राजनीतिक सिमानालाई न्याय गर्ने पर्याप्त आधार दिएको छ। यसभन्दा भिन्न अल बिरुनीको भारत ग्रन्थमा भने बिरुनी नेपाल नआएको र अरूकै सहयोगमा नेपाल सम्बन्धी विवरण लेखिएको पाइन्छ। 

बिरुनीले कन्नौजबाट नेपाल जाने बाटोको वर्णन गरेका छन्। बिरुनीले टी.एलडब्ल्युटी (?) नाम गरेको एउटा राज्य रहेको र त्यहाँका बासिन्दा तारु (थारु?) रहेको उल्लेख गरेका छन्। ती बासिन्दा काला वर्णका र नाक चुच्चे रहेको उल्लेख गरेका छन्। थारुहरूको उक्त क्षेत्रभन्दा उत्तरको क्षेत्र नेपाल रहेको स्पष्ट उल्लेख बरुनीले गरेका छन्। 

कन्नौज र टी.एलडब्ल्युटी (थारु क्षेत्र, थरुहट (?)) मिथिला र नेपालका बीचमा रहेको अनुमान गरिएको छ। यस क्षेत्रलाई तिरहुत भनेर पनि अनुमान गरिएको छ। तर तारु वा थारु भनेर स्पष्ट रूपमा बिरुनीले उल्लेख गरेको हुँदा त्यो थारुको क्षेत्र नै रहेको कुरामा द्विविधा हुँदैन। टी.एलडब्ल्युटीबाट पूर्वी दिशामा गएर बायाँ जाँदा नेपाल पुगिएको र २० फरसाक (करिब १४२.६ किलोमिटर) मा हिमाली क्षेत्र आएको उल्लेख छ।

नेपाली अभिलेख परम्परासँग सम्बन्ध

यी तथ्यका आधारमा हामी इसाको चौथो शताब्दीको अन्त्यदेखि ११ औँ शताब्दीको पूर्वार्धसम्मको नेपालको भौगोलिक सिमानाको मोटामोटी खाकाको आँकलन गर्न सक्छौँ र ढुक्कले भन्न सक्छौँ कि नेपाल भनेको काठमाडौं खाल्डो मात्र थिएन बरु बृहत् राज्य थियो। हुदूद अल अलम र अल बिरुनीको भारत नामक ग्रन्थका आधारका यी तथ्य नेपालको भूगोल र इतिहासका साथै भाषिक अध्ययनका अमूल्य स्रोत हुन्। ती स्रोतले नेपाल र नेपाली भाषाको अध्ययनका लागि एउटा महत्त्वपूर्ण कालखण्ड नेपाली भाषाको अभिलेख परम्परासँग कडी जोडेको छ। 
मोहन प्रसाद खनालले नेपाली भाषाका हजार वर्ष पुस्तकमा उल्लेख गरे अनुसार नेपाली भाषाको पहिलो लेखन परम्पराको अभिलेख शाके १०१६ को बामु खड्काको स्तम्भलेख मानिएको छ। यो नेपाल विद्याको अरबी स्रोतका सामग्रीसँगको समकालीन अध्ययनको थालनी हो।

खनालका अनुसार दैलेख जिल्लाको दुल्लुस्थित भुसा गाउँको कोट नजिकै खिराखेत नामक स्थानमा देवलाकारमा दुई पाषाण रहेको र तीमध्ये बायाँतर्फको पाषाणको माथिल्लो भागमा यो अभिलेख कुँदिएको छ। अभिलेखको शिरोभागमा कुम्भ र कुम्भमाथि गजुर रहेको छ। शिलालेखको अभिलेख यस प्रकार छ ः
१.     स्वस्ति। श्री सा
२.     के १०१६ पि-
३.     छ्यक वामु ष-
४.     डगाहाको की-
५.     तिं षंभ।। शुभ।।

(कल्याण होस्। श्री शाके सम्बत् १०१६। प्रेक्षक वामु खँड्काको कीर्ति खाँबो।। शुभ।।)
तर त्यस बखतको नेपालको भूक्षेत्रबारे इतिहासकारहरूबीच मतैक्य छैन। नेपालका र अङ्ग्रेजी अध्ययन परम्पराका स्रोत अनुसार नेपालमा लिच्छविकालबाट मध्यकाल सुरु भएको हो। खासगरी मध्यकालको इतिहासलाई काठमाडौं उपत्यकामा मात्र सीमित गरेर अध्ययन गर्ने परिपाटी छ। 

ऐतिहासिक तथ्य

यसो हुँदा हुँदै पनि मध्यकालमा पनि नेपाल राज्यको विस्तार काठमाडौं उपत्यकाभन्दा बाहिरसम्म थियो भन्ने पर्याप्त सामग्री भने पाइन्छन्, अर्थात् तिनले पनि के देखाउँछन् भने नेपाल अखण्डित थियो। यस कुराको पुष्टि धनवज्र वज्राचार्यले लिच्छवि कालका राजा शिवदेव (विसं ११५६-११८३) को पालामा फर्पिङ र मगरातसम्म नेपाल राज्य विस्तार भएको तथ्य प्रस्तुत गरेका छन्। बज्राचार्यले मध्यकालिक नेपालका एक प्रख्यात राजा शिवदेव शीर्षकको लेखमा नेपाल राष्ट्रको अखण्डितता उपशीर्षकमा शिवदेवको राज्य मंग्वरविषय (मगरात) मात्र नभएर गण्डीगुल्मविषय पनि नेपाल राष्ट्रको भूभाग रहेको पाइन्छ भनी उल्लेख गरेका छन्।

सूर्यमणि अधिकारीले खस साम्राज्यको इतिहासमा ने.सं. ११९ (वि.स. १०५५) मा लेखिएको एउटा पुस्तकको पुष्पिकावाक्यमा गण्डीगुल्म निवासी सुवर्णकार श्री राणकको उल्लेख भएको पाइएको जनाएका छन्। उनका अनुसार तत्कालीन नेपाल उपत्यकाका केही अभिलेखमा तिलिकम राण, वुवार वुदा राने, ओम राण, देवु राणक, तिभुयि राणक, गृवल्लो राण, बुंद्दा राणे पाक आदि राने, राणे, राणकजस्ता पदधारी व्यक्तिको उल्लेख पाइएको छ। 

गुल्मखण्ड लगायतका क्षेत्र हुदूद् अल अलमको भी. मिनोस्र्कीको व्याख्यामा उल्लेख भएको नेपालको नक्सासँग मेलखाने रहेको छ। मुख्य हिमाली क्षेत्रको नक्सा समेटिएको उक्त नक्सामा नेपालको धवलागिरि देखाइएको छ। यस क्षेत्रको संस्कृत नाम धवलस्रोतपुर (विषय अर्थात् जिल्ला) रहेको पाइन्छ। त्यस्तै हुदूद् अल आलममा पूर्वको सगरमाथा हिमाललाई देखाइएको छ। मध्यकालको उदयपुर विषय (जिल्ला) नेपालको राज्यको रूपमा रहेको पाइन्छ। 

पूर्व वा पश्चिममा फैलिएका यी विषयहरू नेपालका अधीनस्थ राज्य रहेको र त्यसै हुनाले शङ्खधर शाख्वाले चलाएको नेपाल संवत् ती राज्यमा प्रचलनमा ल्याउन सहज भएको डा. चुन्दा वज्रचार्यले उल्लेख गरेकी छिन्।

टुङ्ग्याउनी

यसरी प्राचीन कालमा नै नेपालको क्षेत्र ती स्थानसम्म विस्तार थियो भन्न सकिने ठोस प्रमाण हुदूद् अल आलम र अल बिरुनीको भारत ग्रन्थ अरबी स्रोतका अति महत्त्वूर्ण हुन् भन्न सकिन्छ। ती अरबी स्रोतलाई पुष्टि गर्ने काम मध्यकालमा पूर्वमा उदयपुर र पश्चिममा धवलागिरि क्षेत्रसम्म नेपाल विस्तार भएको पुष्टि गर्ने मध्यकालीन स्रोत बनेका छन्। यस आधारमा प्राचीनदेखि मध्यकालसम्म नेपाल अखण्डित थियो भन्ने निष्कर्षमा पुग्न सकिन्छ।
 (@KedarMr नेपाल विद्या सम्बन्धी अनुसन्धानमा केन्द्रित छन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.