भ्रष्टाचारको मनोसामाजिक मार्गचित्र

भ्रष्टाचारको मनोसामाजिक मार्गचित्र

हेर न, त्यो डाक्टर त बसमा पो हिँड्छ, कस्तो नसुहाउने ? गाडी-बाइक नै छैन कि क्या हो ?


जुनसुकै दलको सरकार आए पनि, अनि जोसुकै मन्त्री-प्रधानमन्त्री भए तापनि राजनीतिक नेताहरू, प्रशासकहरू, पदाधिकारीहरू भ्रष्टाचारमा मुछिएका या आरोपित भएका खबर नेपाली छापाहरूमा छरपस्टिई नै रहेका हुन्छन्। ‘शून्य सहनशीलता’का चर्का नारा, ‘कीरा परोस्’ जस्ता अपाच्य गाली अनि जतिसुकै कडा कानुनी प्रावधान राखिए पनि यो प्रवृत्ति घट्दो हैन, बढ्दो क्रममा नै छ। लाख-करोड हैन अब, अर्ब-खर्बकै चर्चा चल्न थालेको छ। 

राणा-पञ्चायत, राजतन्त्र-प्रजातन्त्र, निर्दल-बहुदल, लोकतन्त्र-गणतन्त्र कसैले पनि यसको समाधान सूत्र फेला पार्न सकेका छैनन्। भ्रष्टाचार हाम्रो संस्कार नै भइसकेको छ भन्दा पनि हुन्छ। यस्तो महामारीको समयमा, अझ मानवीय कार्य, स्वास्थ्य सेवाको विषयमा समेत करोडौँको घोटालाको ताजा समाचारले त यो प्रवृत्ति केही गरी पनि हराउन सक्दैन भन्न करै लाग्छ। 
यसको मनोवैज्ञानिक प्रभावका कथ्यहरू उद्घाटन गर्ने सानो प्रयास यस लेखमा गरिएको छ। 

गत वर्ष भ्रष्टाचारको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका एक अधिकारीले आत्महत्या गरेका थिए। त्यस्तै, त्यसै खालको प्रकरणमा मुछिएका पूर्वमालपोत अधिकृतले आफ्नै कार्यालयमा विषसेवन गरेको अर्को खबर आएको थियो। अन्तर्राष्ट्रियस्तरमै पनि भ्रष्टाचारको आरोपमा गिरफ्तारीमा पर्न लागेका पेरुका पूर्वराष्ट्रपतिले आफैँलाई गोली प्रहार गरेको खबरले मिडियामा राम्रै स्थान पाएको थियो। त्यस्तै दक्षिण कोरिया, जापान, रसिया अनि चीनमै पनि भ्रष्टाचारकै आरोपको सेरोफेरोमा थुप्रै अधिकारीहरूले आत्महत्या गरेको इतिहासमा देख्न पाइन्छ। राजनीतिक प्रतिशोध, व्यक्तिगत रिसईबीका साथसाथै प्रमाणित नै नभईकन समाचार बन्ने आदि कारणले यस्ता घटना घट्ने गरेको भनेर विश्लेषण गरिने गरिएको भए तापनि भ्रष्टाचार विश्वस्तरमै ठूलो समस्या भएको तथ्य निर्विवादै छ। आत्महत्याकै तहमा यसका पराकम्पहरू बल्झिने भएको हुँदा यस लेखमा भ्रष्टाचारको मनोसामाजिक मार्गचित्र कोर्ने प्रयास गरिएको छ। 
प्रारम्भिक अनुसन्धान गोप्य रूपमा गरेर आरोप प्रमाणित भइसकेकाहरूलाई मात्र सार्वजनिक गरिने चलन चलेमा माथि उल्लेख भएझैँका घटनाहरूमा कमी आउने थियो होला तर शक्ति दुरुपयोग, डर, चिन्ता, लोभ, ग्लानि-पश्चात्ताप जस्ता संवेदनाहरूको प्राधान्य रहने हुँदा भ्रष्टाचारका मनोवैज्ञानिक पक्ष नजरअन्दाज गरिने विषय भने होइनन्।

भ्रष्टाचारलाई गरिबीका कारण उत्पन्न हुने रोगका रूपमा पनि व्याख्या गरिने गरिएको छ। राष्ट्र धनी हुनासाथ यो रोग हराउँछ भनेर यसका व्याख्याकारहरूले मान्छन् पनि। तर चीन, जापान, रसियाजस्ता विकसित कहलाइएका देशहरूमा समेत व्याप्त भ्रष्टाचारलाई गरिबीको उपज मात्र कसरी मान्न सकिएला र ? त्यस्तै, भ्रष्टाचारकै कारण राष्ट्रको आर्थिक वृद्धिदरमा ठूलो प्रभाव पार्ने अनि भ्रष्टाचारले नै मुलुकलाई गरिब बनाउने भनाइ पनि छँदै नै छ। अतः गरिबी एवं भ्रष्टाचार एक अर्कासँग अन्योन्याश्रित सम्बन्ध रहेका सिक्काका दुई पाटा रहेको तथ्यलाई बिर्सनु हुँदैन।

विश्व बैंकको तथ्यांकलाई हेर्दा, व्यापारिक या व्यक्तिगत फाइदाका लागि विश्वभर प्रतिवर्ष करिब १५ खर्ब अमेरिकी डलर घुसका रूपमा खर्च हुने गरेको देखिन्छ। नियमित रूपमा प्रकाशित हुने मानव विकास जस्ता सूचकांकहरूले भ्रष्टाचारले विश्वभरि नै प्रभाव पारेको देखाइरहँदा नेपाल जस्तो अल्पविकसित देश अनि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा यसले नराम्रोसँग गाँजेको पाइन्छ।

भ्रष्टाचार बहुआयामिक छ। निरन्तररूपमा चलिरहने यो दुष्प्रवृत्ति विभिन्न तहगत रूपमा व्याप्त रहेको देखिन्छ। व्यक्तिगत रूपमा सुरुवात भई समूहगत रूपमा फैलिएर संस्थागत रूपमा नै स्थापित हुन पुग्छ भ्रष्टाचारी प्रवृत्ति। संस्था, उद्योग, राजनैतिक प्रणाली एवं राष्ट्रलाई नै अन्ततः धराशयी बनाइदिन्छ, भ्रष्टाचारले।

भ्रष्टाचारको व्याख्या आर्थिक कोणबाट मात्र गर्न सम्भव छैन। मनोवैज्ञानिक, सामाजिक, राजनैतिक, नैतिक, आर्थिक, धार्मिक सबै तहमा यसका कारकतत्वहरू केलाउनुपर्ने हुन्छ तर एकांकीरूपमा कार्य-कारण सम्बन्ध खुट्याउन अलि गाह्रो पर्ने हुँदा यस लेखमा मुख्यतः मनोसामाजिक पक्षको विवेचना गर्ने प्रयास गरिएको छ, जसमा नैतिकता, राजनीति, शिक्षा, अर्थतन्त्र अनि धर्म नै पनि कुनै न कुनै रूपमा, व्यक्त या अव्यक्त अवस्थामै पनि अन्तर्सम्बन्धित भई नै हाल्छन्। 
हाम्रो जस्तो विकासोन्मुख देशमा भ्रष्टाचार बढ्नुको मनोवैज्ञानिक कारणलाई निम्नानुसार औंल्याउन सकिन्छ :

१. शक्तिको दुरुपयोग : अझै पनि सामन्ती व्यवस्थामा जस्तै दक्षिण एसियाली राष्ट्रहरूमा कार्यकारीहरूमा नै शक्ति केन्द्रित गरिने चलन या संस्कार छ। शक्ति पृथकीकरणको सिद्धान्त कागजी रूपमा मात्र लागू भएझैं लाग्ने हाम्रोजस्तो मुलुकमा शक्तिको केन्द्रीकृत प्रयोगका कारण राजनैतिक व्यवस्था निकै नै कमजोर रहेको हुन्छ। देशका प्रधानमन्त्री, राजैतिक दलका अध्यक्ष, ंसंस्थाका हाकिम शक्तिको उन्मादले अन्धा हुने अनि ती शक्ति केन्द्र बन्ने अनि कमजोर, शक्तिहीन या आफूमुनिकालाई कारिन्दा या दासका रूपमा अह्रोटपह्रोट अनि खटनपटन गर्ने प्रवृत्ति रहिरहेसम्म शक्तिको दुरुपयोग एवं भ्रष्टाचारमा कसरी कमी आउला र ?

२. शक्ति केन्द्रीकृत भएर ‘मालिक’ बनेका हाकिमहरूले व्यक्तिगत (पारिवारिक समेत) फाइदाका लागि नैतिकता, आत्मसंयम अनि आचारमा शुद्धता कायम राखिरहने सम्भावना ज्यादै कम हुन्छ। त्यसैले भ्रष्टाचारी मनस्थिति बनाइदिन्छ कार्यकारीहरूमा जसको सिको सबै संस्था प्रमुखहरूले सजिलै गर्छन्। 
३. दण्डहीनताका कारण भ्रष्टाचारी हाकिमहरूलाई ‘हानि’ हुने सम्भावना कमै हुन्छ, उल्टो तिनले व्यक्तिगत पुरस्कार, सामाजिक वाहवाही नै बटुल्ने गर्छन्। यसले तिनमा यो प्रवृत्ति अझै बलियो बन्ने सम्भावना रहन्छ।

शक्तिको केन्द्रीकरणले अन्ततः भ्रष्टाचारलाई नै टेवा पुर्‍याइरहेको हुन्छ जहाँ पनि।
हाम्रोजस्तो मुलुकमा भ्रष्टाचारलाई बढाउन सामाजिक कारकतत्वहरू अझै बलियो भएर रहेको छ भन्ने मलाई लाग्छ।
‘त्यत्रो ठूलो हाकिमको पनि यस्तो घर ?’
‘नसकेको होला कि लुकाएको होला ?’
‘हेर न, त्यो डाक्टर त बसमा पो हिँड्छ, कस्तो नसुहाउने ? गाडी-बाइक नै छैन कि क्या हो ?’
‘फलानाको त खरदार मात्र भएर पनि त्यस्तो शान-रवाफ छ। हाकिम भएर पनि...। कस्तो लाछी...यस्तो मौकामा पनि...?’
‘सबैले गर्न हुने, हामीचाहिं डराउनुपर्ने...?’

हाम्रो परिवार, नातासम्बन्धी, छरछिमेक, साथीसँगी अनि सामाजिक जमघटहरूमा नै बोलिने, गरिने संवाद, टीकाटिप्पणीहरू हुन्, माथि उल्लेख भएका। 
घर नयाँ अनि ठूलो बनाउनैपर्ने, सरकारी अड्डा छिरेपछि कमाउनैपर्ने, जसरी पनि भन्सार-माल अफिसमै टिक्नुपर्ने, डाक्टर-इन्जिनियरले सार्वजनिक सवारी प्रयोग गर्दा इज्जतै जाने, कार्यालय प्रमुखहरूले छुट्टै धाक-रवाफ पाल्नैपर्ने जस्ता अलिखित सामाजिक नियम छन्, हामीकहाँ। यस्तोमा कसरी भ्रष्टाचार नमौलाइकन रहन सक्ला ?
यस प्रवृत्तिलाई व्यक्तिगत एवं समूहगत प्रक्रिया अनि आन्तरिक र बाह्य प्रभाव आदिका आधारमा अझ विस्तृत व्याख्या गर्न सकिन्छ।

व्यक्तिगत आन्तरिक कारणले कुनै अफिसका हाकिमको द्रव्यमोहमा फसेर नैतिकता स्खलित हुन पुग्छ। होहल्ला या मिडिया आदिको बाह्य प्रभावका कारण पश्चात्तापमा परेर उनको स्वत्वमा क्रमशः क्षयीकरण ल्याउँछ। तर लोभ, दण्डहीनता आदिका कारण अनि समूहगत-सामाजिक प्रभावले गर्दा उनी भ्रष्टाचारको दलदलबाट सजिलै उम्कन भने सक्दैनन्। 
अन्ततः उनमा अरुको जे सुकै काम गर्दा पनि ‘थोरै पैसा मात्र’ भए पनि केही न केही अतिरिक्त आम्दानी गर्नैपर्ने धारणा प्रबल हुँदै जान्छ। बिस्तारै सजिलै प्राप्त गर्न सकिने त्यस्तो आम्दानी गर्ने उनको स्वभाव सबलीकृत हुँदै जान्छ, त्यसका लागि जुनसुकै हदसम्म पुग्न उनी तयार रहन्छन्। अन्ततः भ्रष्टाचारी प्रवृत्तितर्फ नै उनी चिप्लन्छन्।

यस्तो प्रवृत्ति उनको अफिसमा समूहगत रूपमा नै फैलन्छ। अनि त्यसको प्रभाव सामाजिक रूपमा नै विस्तृतीकरण हुनपुग्छ। हाकिमहरूको प्रभाव कार्यालय सहयोगीहरूसम्म, नेताहरूको प्रभाव सामान्य कार्यकर्ताहरूसम्म, शिक्षकहरूको प्रभाव विद्यार्थीहरूसम्म, धनीमानीको प्रभाव गरिबगुरुवाहरूसम्म, यसरी नै भ्रष्टाचारको जालो बलियो बन्दै जाने गर्छ परिवारमा, समाजमा, राष्ट्रमा, अनि विश्वभरि नै। 

अब समाधान के त यसको ? समस्या बहुआयामिक भइसकेपछि एकांकी समाधान कसरी होला र ? बुँदागत रूपमा भन्नुपर्दा भ्रष्टाचार न्यूनीकरणका लागि निम्नमध्येका केही उपाय प्रभावकारी हुन सक्लान् :

नैतिकताको शिक्षा विद्यालयको प्रारम्भिक पाठ्यक्रममा नै समावेश गरिनुपर्छ। आर्थिक रूपमा सबल गराउने गरी न्यूनतम पारिश्रमिक तोकिनुपर्छ। प्रारम्भिक शिक्षा एवं स्वास्थ्य राज्यकै दायित्व बन्नुपर्छ। गाँस, बास, कपासका लागि बीमाको व्यवस्था गरिनुपर्छ। दण्ड र पुरस्कारको प्रावधान बलियो बनाइनुपर्छ। शक्ति विकेन्द्रीकरणमा राजनैतिक इच्छाशक्ति दरिलो रूपमा देखिनुपर्छ। मिडियालाई खबरदारीको औजार बनाइनुपर्छ न कि अप्रमाणित तथ्यहरूलाई जथाभावी फैलाउने उपकरण। सामाजिक भड्किलोपन प्रदर्शन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्छ।
यी सबै तथ्यलाई हृदयंगम गर्न सकेमा हाम्रो समाजमा भ्रष्टाचारी प्रवृत्तिमा न्यूनता आउने थियो कि ? तब न साँच्चै नै उद्घोष गर्न सकिने थियो- आचारः परमोः धर्मः। 

@drajayrisal मानसिक रोग विशेषज्ञ, धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पताल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.