खाली छे चञ्चलकली
केही दिनदेखि मेरो ढाडले सुख पाएको छ। खुट्टा हलुङ्गो भएका छन्। पेटमा दाम्लो देखिएका छैनन्। बिस्तारै वर्षौंदेखिको हौदाको दबाबले पारेको डाम मेटिरहेको छ। ममा एक प्रकारको बेचैनी छ। किन मैले काम पाइरहेको छैन ? विनाकाम घाँस मात्रै खाने काम कति दिन रहन्छ ?
मेरा साथीहरू रूपकली, केदारकली, सोमवली र दिपन्नवलीको आँखामा पनि त्यस्तै आशंका देख्छु, चर्न जाँदा। अझ मलाई हेरचाह गर्ने तीन जना मान्छेमध्ये दुई जना त नजिकै परेका छैनन्। एक जना मात्र छ, ऊ पनि पटकपटक खुइ्यय मात्र गर्छ। मेरा साहुजीको अनुहार यस्तो बिग्रिएको कहिल्यै देखेको थिइनँ। पटकपटक टाउकोमा हात पुर्याएको देख्छु। सायद मैले दिनमा पाँच-सातपटक मानिस बोकेर बागमाराको जंगल घुमेर फर्कंदा हरेक दिन मेरा साहुजीको खल्तीमा हात हुन्थ्यो। अहिले टाउकोमा हात। सबै दुःखी छन् अनि मेरो आशंकामा थप बल मिलेको छ।
मेरो नाम चञ्चलकली, मेरो बाल्यकाल कलैयामा बित्यो। बाल्यकालमा म हजुरआमा, ठूलीआमा, बुबा सबैको प्यारो थिएँ। बिहानै चर्न जाँदा, खोला तर्दा वा खेल्दा सबैको ध्यान ममा नै हुन्थ्यो। बालुवामा लुडीबुडी गर्दै बुबाको दाह्रामाथि चढ्ने प्रयत्न गर्दा म कम्ता खुसी हुन्नथँे ! तर, त्यो खुसी चार वर्ष पनि टिकेन। मेरो शरीर उमेरसँगै बढ्दै गयो। बिस्तारै मेरा खुट्टामा नेल थपिन थाले। आमाबाट टाढा बनाइएँ। केही समयमा नै मलाई घाँटी, ढाड र खुट्टामा दाम्ला र फलामका सिक्रीहरूले बाँधी एक अज्ञात स्थलमा लगियो।
मेरो दैनिकी पीडादायी हुन थाल्यो। बिहानै मेरो टाउकोमा अबिर दलियो। सायद, मजस्तै भाषा नबुझ्ने अर्को जनावर काटिएको हुनुपर्छ। मेरो शरीरमा एक्कासि एक बलियो मान्छे उफ्रिएर चढ्यो। म बेतोडले भाग्न थालँे। तर, मेरो शरीरमा सजाइएका जन्जिरहरूले मलाई नियन्त्रणमा लिइयो। मेरो जोड चलेन, म लडेँ।
मेरो मन शिथिल भयो, बिस्तारै शरीर सेलायो। धु्रवे टाढैबाट गयो मलाई नहेरी। बिचरा ! बुझ्नै पाएन खाली छे, चञ्चलकली।
पुनः मलाई उठाइयो। म बेस्सरी उफ्रिएँ। ममाथिको मानिस पछारियो। ममा एक प्रकारको खुसी छायो। तर टिकेन। अर्को मानिस तयारी अवस्थामा थियो। त्यो उफ्रियो, म लडेँ। पुनः म उठेर बेगले कुदँे। ओहो ! मेरो कानमा कडा फलामको चुच्चो उनियो। टाउकोमा हथौडा बजारियो। कहिल्यै पीडा महसुस नगरेकी मेरो सुकोमल शरीरमा प्वाल पर्यो। म रन्थनिएँ।
म अब भने ती निर्दयीहरूको डोरीको इसारा, खुट्टाका औँलाको ताल र बोलीको चर्काइसँगै हिँड्न थालेँ। मलाई पिट्ने, घोच्ने र बाँध्ने क्रम पनि पातलियो। म त्यसैमा अभ्यस्त भएँ। करिब दुई महिनापछि मैले आमा भेट्न पाएँ। आमाले सुम्सुम्याइन्। आँखाबाट आँसु झारिन्। हजुरआमा वाक्क थिइन्। भन्दै थिइन्, मैले चाँडै नै मानिसलाई बोक्न सिकेँ रे। म अनुशासित अनि मायालु हुँ रे। मेरा धनीहरू खुसी छन् रे। छिटो म दाइएकोमा।
उफ्, अब मेरो दैनिकी आमाजस्तै ढाडमा हौदा कसी दैनिक मानिसलाई जंगल घुमाउनमा नै बित्छ। मानिसले मलाई गुजुल्टो बनाई खानेकुरा बस्ने ठाउँमा नै ल्याइदिन्छन्। चर्न जानु परेन। सोझो दैनिकी ‘खायो, मानिस बोक्यो, बेलुका बस्ने घर फर्कियो, अनि आराम गर्यो।’
उमेर बढ्दै जाँदा ममा स्त्री गुणहरू बढेनन्, न त भाले हात्ती देख्दा आकर्षण नै। न मेरोे शरीरले खोज्यो, न त मेरो मनले नै।केही मानिस मलाई ढोग्थे। केहीले मेरा पैतालाको माटो सोहोर्थे। केहीले खानेकुरा दिन्थे। केही सुँड समातेर फोटो खिच्थे। म यसलाई विवशता मान्थेँ। म खुसीको मात्रा देखावटी बनाउँदै कराइदिन्थे। मसँग विकल्प थिएन। नत्र फलामे सुई मेरा कानमा आइहाल्थे।
मलाई हेरचाह गर्ने मानिस फेरिरहन्थे। म एकल थिएँ। नयाँ मानिस आएपछि मलाई रिस उठ्थ्यो तर केही गर्दिनथिएँ। भन्थे, यो सोझी छे।
मेरो उमेर त्यस्तै ३०-३२ हुँदो हो। एक दिन नयाँ मानिसको हुल आइपुग्यो, मेरो घरमा। मलाई धोइधाइ गरेर मीठो खान दिइयो। त्यस दिन मानिस बोक्न जानु परेन। भोलिपल्ट नयाँ मान्छेहरूको साथ लगाई मलाई नयाँ बाटो हिँडाइयो, नयाँ गन्तव्यको खोजीमा।
म दुई दिनमा नयाँ ठाउँ आइपुगेँ। बाटोमा मजस्तै दर्जनौँ चञ्चलकली देखेँ। तिनको आँखामा उन्माद थिएन। रिस थिएन, एकाग्रता थिएन। शरीर चलिरहेको थियो, खुट्टा लम्किरहेका थिए। तर, भाव निर्जीव थियो, मेरोजस्तै।
दुई दिनपछि मेरो दैनिकी सुरु भयो। बिहानी बागमारा पुग्ने, तीन÷चारपटक फरकफरक मानिस ओसार्ने, पुनः गोठमा फर्कने। केही खाने, फेरि मानिस बोक्ने। राप्तीको किनारमा मेरा माउतेको इसारामा पानीले मानिसलाई छर्कने, त्यत्ति नै।
चिसो बढ्न थालेको थियो, मानिसको चहलपहल पनि। थप मानिस बोक्नुपरेको थियो। एक दिन मलाई सिँगारियो। रातो, पहेँलो, सेतो रङ मेरो शरीरमा पोतिए। रंगीचंगी कपडा मेरो टाउकोमा सजाइए। अनि मलाई ठूलो चउरमा लगियो अन्य साथीहरूको साथमा। ओहो ! कति धेरै मान्छे। ठूलो आवाज। छेउमा हाम्रा लागि उखु, बन्दा, केरा, गाजर, फर्सी आदि धेरै परिकार थियो। यो हाम्रा लागि नयाँ स्वाद थियो। जीवनकै पहिलो मीठो स्वाद। मैले प्रथमपटक नयाँ ठाउँमा ल्याइएकामा दुःख बिर्सिएँ। सायद हाम्रा लागि भोज थियो।
भोलिपल्ट देखि पुनः दैनिकी त्यसरी नै चलिरह्यो। वार्षिकी त्यसरी नै। वर्षको एकपटकको भोजले भने लोभ्याइरह्यो, औधि ।
तर, वर्षौंपछि यसपटक भने नयाँ अनुभव पाएकी छु। मान्छे बोक्नुपरेको छैन, मेरा कानमा फलामका सुइरा गोबिएका छैनन्। आफैँ जंगल जान पाएकी छु। साथीहरूसँग आँखाले मज्जासँग बात मार्न पाएकी छु। योसँगै मेरो शरीरमा एक प्रकारको परिवर्तन भएको छ। ४५-४६ वर्षमा जीवनको मध्यान्तरमा अस्ति मैले वयस्क भाले हात्ती देखेँ। उसले मलाई हेरिरह्यो, मैले पनि। ऊ करायो, मैले मिठाससँग उत्तर दिएँ। ऊ बुर्कुसी मार्दै फर्कियो।
मैले परसम्म एकटकले उसलाई हेरिरहेँ। मेरो माउते अर्को माउतेसँग कुरा गर्दै थियो। यो ध्रुवे हो, ज्यानमारा। धन्न गयो। तर, मलाई त्यो ज्यानमारा लागेन। मेलामा भेटिएका धेरै साना हात्तीहरूमा मैले त्यसको अनुहार देखेको थिएँ। धेरै मेरा साथीहरू ऊसँग निष्फिक्री घुमेको पाएको थिएँ। धेरैपल्ट मेरा माउतेबाट धु्रवेको प्रेमकहानी सुनेकी थिएँ। आफ्नी साथीका लागि घर भत्काइदिने, मान्छे लखेट्ने, सिक्री चुडाउने अनि सयौँ किलोमिटर यात्रा गर्ने। अर्को हात्तीलाई आफ्नी प्रेमिकाको नजिक आउन नदिने, जीवन-मरणको लडाइँ लड्ने धु्रवे। ज्यानमारा हुनै सक्दैन। मेरो स्त्री मन कमलियो। पागलप्रेमी धु्रवे। मेरो प्रेमी भइदिएको भए।
मलाई मेरो माउतेको आदेश भयो, घर फर्कने। मलाई जंगलमै बस्न मन थियो, धु्रवेसँग। तर, म माउतेसँग बासस्थान फर्किएँ। बेलुका घाँस खान मन लागेन। धु्रवे झलझली आइरह्यो। त्यसको ज्यान, आँखा, स्वरको उच्चता, निर्भीकता, जोस आदि अनि प्रेम दखल। भोलिपल्ट मलाई माउतेले त्यही जंगल लगेनन्। म भने त्यही ठाउँमा गई धु्रवेलाई हेर्न चाहन्थेँ। बुझ्न चाहन्थे। जीवनको मध्यान्तरमा बोध भएको स्त्रीत्वलाई सुम्पन चाहन्थे तर ...।
तीन दिनपछि मैले बूढीखोलाको पारी धु्रवेलाई देखेँ। ऊ पहिलेजस्तो कराएन। आँखामा तेज थिएन। हिँडाइमा गडगडाहट थिएन। शिथिल। उसका दाह्रा काटिएका थिए। निष्ठुरी मानिसले मेरो पहिलो राजकुमारको दाह्रा काटिदिएको थियो। भनौँ, ध्रुवेको पहिचान भाँचिएको थियो। शरीर धु्रवेकै थियो तर विनातेजको, विनाआवेशको, विनापे्रमिकाको।
मेरो मन शिथिल भयो, बिस्तारै शरीर सेलायो। धु्रवे टाढैबाट गयो मलाई नहेरी। बिचरा ! बुझ्नै पाएन खाली छे, चञ्चलकली।