फोहोर बोक्ने गाडीमा मान्छे ओसार्दै स्थानीय तह
प्यूठान : प्यूठानमा सानाठूला गरी २ सय ५० वटा यात्रुवाहक सवारीसाधन छन्। तर जिल्लाका स्थानीय तहले फोहोर बोक्ने गाडी र ढुंगा, गिट्टी, बालुवा बोक्ने टिपरमा मान्छेहरु ल्याइरहेका छन्। लकडाउनले खाली बसेका बस, जिपहरुलाई परिचालन गर्नेतर्फ स्थानीय तहले समन्वय गरेका छैनन्।
भारतीय नाकामा आइपुगेका प्यूठानीहरुलाई उद्दार गर्नका लागि जिल्लाका स्थानीय तहले फोहोरका गाडी र टिपरमा आफ्ना नागरिकलाई ल्याइरहेका हुन्। यसले थप असुरक्षित बनाएको टिप्पणी भइरहेको छ। जिल्लाका यातायात व्यवसायी, स्थानीय सरकार र प्रशासनबीच प्रभावकारी सम्वन्य नभएको देखिएको छ। ‘गाडी चालकलाई पिपिई सेट दिएर सुरक्षित महसुस गराउन सके गाडी पठाउँछौ’,स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानका महासचिव कुमार श्रेष्ठले भने,‘तर अहिलेसम्म कसैले पनि गाडी चाहियो भनेका छैनन् ।’ उनले जिल्लाबासीलाई ल्याउनका लागि गाडी परिचालन गर्न समिति तयार रहेकोसमेत उल्लेख गरे।
बसहरु जान नमान्दा फोहोर बोक्ने गाडी भएपनि पठाउन बाध्य भएको प्यूठान नगरपालिका मेयर अर्जुनकुमार कक्षपतीले प्रतिक्रिया दिए। ‘कति गाडी खोज्यौँ कसैले जान मान्दैनन्’,उनले भने,‘समितिसँग संस्थागत कुरा त भएको छैन्। व्यक्तिगत रुपमा गाडी खोज्दा कोही जान तयार भएनन् ।’ उनले यसबारे छलफल गर्न नगरपालिकामा शनिबार दिउँसो बैठक डाकिएको जानकारी दिए।
झिमरुक गाउँपालिकाले प्रति टिपर १८ हजार रुपैयाँ दिएर कृष्णनगरबाट आफ्ना नागरिक ल्याइरहेको छ। गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले बसहरु जान नमान्दा टिप्पर पठाइएको टेलिफोनमा प्रतिक्रिया दिए। ‘समितिले बस पठाउँछौ भन्ने कुरा सबैका गफ मात्र हुन्’,उनले भने,‘कसैले नमानेपछि टिपर भएपनि त पठाउन पर्यो नी ?’
स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष एवं झिमरुक गाउँपालिका ६ चिसावाङका स्थानीय हिमाल पोखरेलले बस पठाउने बारेमा आफूहरुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए। ‘सबै बस खाली छन्। सरकारले भन्छ भने पठाउन तयार छौ ।’,उनले भने। झिमरुक गाउँपालिका ३ आहालखोलाका स्थानीय प्रमोद पोखरेलले आफ्नै नीजि लगानीमा अलपत्र परेका झिमरुकबासीहरुलाई बसमा ल्याउने योजना बनाएको बताएका छन्। गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले सहयोग गर्न चाहनेले गाउँपालिकाको विपत् कोषमा रकम जम्मा गर्न भनेपछि पोखरेलले सहयोग गरेका छैनन्।
शुक्रबारसम्म जिल्लामा भारतबाट ७ सय ९६ जना प्यूठानी आएका छन्। उनीहरुलाई विभिन्न स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन्। स्वर्गद्धारी नगरपालिकामा १ सय ७७ जना, प्यूठान नगरपालिकामा १ सय २४, मल्लारानी गाउँपालिकामा ५५, ऐरावती २ सय ३, गौमुखीमा ४, झिमरुकमा ६०, माण्डवीमा १ सय २५, नौवहिनीमा ३३ र सरुमारानीमा १ सय १५ जना आइपुगेका छन्। शनिबार पनि आउने क्रम जारी रहेको सम्बन्धित स्थानीय तहले जनाएका छन्। भारतबाट असुरक्षित रुपमा जिल्लाबासी भित्रिएपछि थप जोखिम बढ्नसक्ने स्थानीयको गुनासो छ।