कर्णालीमा संक्रमितको संख्या चार

सुर्खेत : कर्णालीमा कोरोना संक्रमितको संख्या चार पुगेको छ। यसअघि कर्णालीमा दैलेखका एक युवामा मात्र कोरोना देखिएको थियो। शनिबार सुर्खेतका तीन जनामा पनि कोरोना पुष्टी भएसँगै कर्णालीमा संक्रमितको संख्या चार पुगेको हो।
संक्रमित चारै जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले शनिबार संक्रमण पुष्टी भएका तीन जना मध्ये सुर्खेतको बराहताल गाउँपालिकाका दुइ र चौकुने गाउँपालिकाका एकजना हुन्। उनीहरुमध्ये दुई जना पुरुष र एक जना महिला छन्। भारतबाट फर्किएका उनीहरुलाई केहीदिन अघिमात्र प्रदेश सरकारले उद्दार गरेको थियो। प्रदेश भित्रिने नाका बबईमा आरडीटी परीक्षण गर्दा शंकास्पद देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो।
‘हामीले सुर्खेतस्थित प्रयोगशालामा पीसीआर परीक्षण गरेका थियौं, रिपोर्ट पोजिटिभ आयो’ डाक्टर खड्काले भने,‘रिपोर्टलाई थप पुष्टी गर्न नेपालगञ्जमा रहेको प्रयोगशालामा पठाएका थियौं। त्यहाँबाट पनि रिपोर्ट पोजिटिभ नै आयो।’ संक्रमण पुष्टी भएको दैलेखका एक र सुर्खेतका तीन गरी चारै जनाको प्रदेश अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनले जनाए। उनका अनुसार सबैको अवस्था सामान्य छ। पछिल्लो समय भारतबाट फर्किने कर्णालीबासीको संख्या बढेको छ। योसँगै कोरोना संक्रमित पनि देखिन थालेको र जोखिम पनि बढेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
