जोखिममा रहेका डाक्टरहरुको रिपोर्ट नेगेटिभ
हेटौंडा : हेटौंडाकी संक्रमित महिलाको उपचारमा संलग्न रहेका भनिएको हेटौंडा अस्पतालका डाक्टरहरुको रिपोर्ट नेगेटिभ आएको छ। उक्त महिलाको उपचारमा संलग्न डाक्टरलगायत कर्मचारीहरुमध्ये शनिबार साँझ प्राप्त १२ जनाको नेगेटिभ रिपोर्ट आएको हो।
‘जोखिममा रहेका डाक्टरहरुको रिपोर्ट नेगेटिभ आयो, यही खुशीको कुरा हो’ मेडिकल ल्याब एशोसियसन नेपाल मकवानपुरका अध्यक्ष उत्सव चौलागाईंले भने। शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेटौंडा ३ की महिलामा कोरोना संक्रमण पुष्टि भनेको थियो। यसबारे थप जानकारी लिने क्रममा उनी हेटौंडा ४ की रहेको र ६ दिनअघि हेटौंडा अस्पतालमा उपचार गराउन गएकी पाइएको थियो। यसबारे जानकारी प्राप्त भएसँगै शनिबार बिहान हेटौंडा अस्पतालको आकस्मिक बैठक बसी यहाँका सबै डाक्टर र कर्मचारीहरुमा कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो। सो मुताबिक ६६ जनाको स्वाब संकलन भएकोमा किट अभावका कारण केहीको मात्र परीक्षण भएको र अन्यको बाँकी रहेको अध्यक्ष चौलागाईंले बताए।
मुटु र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालले उनलाई काठमाडौं वा चितवन जान रेफर गरेको थियो। काठमाडौंमा उनको उपचार गराउने क्रममा शुक्रबार कोरोना पोजिटिभ रहेको पाइएको हो। ५४ वर्षीय उक्त महिलामा कोरोना रहेको र उनी यहीँको भन्ने थाहा भएपछि हेटौंडामा त्रास बढेको छ। यद्यपी उनलाई कहाँबाट संक्रमण रह्यो भन्नेबारे अझै यकिन हुन सकेको छैन। संक्रमितका परिवारले भने उनलाई हेटौंडामा नभई उपचारका क्रममा काठमाडौंमा नै संक्रमण भएको हुनसक्ने आशंका गरेका छन्। हेटौंडाबाट गएपछि त्यसअघि भएका पटक पटकका परीक्षणमा संक्रमण नदेखिनुले उनमा पछि संक्रमण भएको हुनसक्ने परिवारको दाबी छ। पारिवारिक स्रोतका अनुसार अन्तिम पिसिआर रिपोर्ट पोजिटिभ देखिनुअघि २ पटक उनको आरडिटी परीक्षण भएकोमा नेगेटिभ भेटिएको थियो। उनी अहिले काठमाडौंमा उपचाररत रहेको र खतरामुक्त रहेको परिवारले पुष्टि गरेको छ।