गाउँ गुल्जार बनाउँदै सर्जक
जनकपुरधाम :
गाउँमा बिन्दास छ।
सहरको यो रोग हो
गाउँमा विश्वास छ।।
कोरोनाको त्रासमै पनि
उत्सवी उल्लास छ।।
१० कक्षा पास गरेदेखि गाउँ छाडेका रोशन झालाई लकडाउनले लामो समयपछि जन्मथलो फर्काएको छ। धनुषाको जटही गाउँमा पैतृक घर भएका झा कोरोनाको त्रासमा पनि गाउँमै उल्लास रहेको बयान कवितामार्फत गर्छन्। बुवाआमा, भाइबहिनी र बाल्यकालका साथीसँगै समय बिताउने मौका पाएकोमा उनी खुसी छन्।
‘वर्षौंदेखि आँपका बगैंचामा मचान लगाइन्थ्यो तर, रेखदेख गर्ने युवा नहुँदा सुनसान हुन्थ्यो’, रोशनले सुनाए, ‘अहिले सुनसान बगैंचा युवाका लागि भविष्यका योजना बनाउने बैठकस्थल भएका छन्।’ गाउँघरमै सिर्जनात्मक र रोजगारीमूलक सीप विकास कसरी गर्ने त्यसको मन्थन घण्टौं चल्छ। उनी थप्छन्, ‘अहिले अवसर जुरेको छ नयाँनयाँ सिर्जना र आफूभित्र रहेका प्रतिभाको प्रष्फुटन गर्ने।’
गाउँमा व्यर्थ समय बिताउनुभन्दा पनि महामारीका बेला उनी र उनका साथीले मिलेर एउटा घुम्ती कोष खडा गरेका छन्। जुन कोषले कोरोना त्रासदीमा परेकालाई आर्थिक सहयोग र अनुदान गाउँमै उपलब्ध गराउँछ।
मधेस मामिलाका जानकार तथा लेखक चन्द्रकिशोर झा पछिल्लो ३५ वर्षको लामो अन्तरालपछि अहिले आफ्नो जन्मधर्तीमा छन्। सर्लाहीको बलरा गाउँमा बाल्यकाल बिताए पनि कर्मक्षेत्र वीरगन्ज छ उनको। लकडाउनले उनलाई गाउँ फर्काएको छ। ‘मैले यो महामारीको बेला गाउँसँग साक्षात्कार गर्ने मौका पाएको छु’, झा भन्छन्, ‘नयाँ पिँढीसँग घुलमिल गर्ने अवसर आएको छ। जीवनको निकै रमाइलो क्षण हो यो।’
ग्रामीण क्षेत्रमा पर्याप्त सम्भावना भएको हुँदा स्थानीय तहहरूले अगुवाइ गरेर यी सम्भावनालाई अवसरमा परिणत गरे भने गाउँमा अवसरको कमी नहुने उनको ठम्याइँ छ। महामारीका कारण लाखौंले रोजगारी गुमाउँदै छन्। सबै गाउँ फर्किरहेका छन्। तर, गाउँमा सम्भावना नहुँदा ठूलो अस्थिरता उत्पन्न हुन सक्ने भय झालाई छ। उनी भन्छन्, ‘गाउँमा भएका सम्भावनालाई जागृत गर्ने बेला आएको छ।’
‘कृषक परिवारबाट भए पनि कृषिकर्म वर्षौंदेखि छुटेको थियो’, लेखक नित्यानन्द मण्डल भन्छन्, ‘अहिले गाउँ आएर त्यसलाई निरन्तरता दिइएको छ।’ भारतीय बजारबाट आउने तरकारीले वर्षौंदेखि जीविका चलिरहेकामा अहिले आफ्नै बारीमा मेहनत गरी उब्जाएको तरकारीले भान्सा चलेको मण्डल सुनाउँछन्। उनी भन्छन्, ‘बाध्यता र विवशता भए पनि यसले अवसर सिर्जना गरेको छ।’
धनुषाको परवाहा घर भएका साहित्यकार प्राज्ञ रमेश रञ्जन झा लकडाउन सुरु भएदेखि नै गाउँमा छन्। नेपाल प्रज्ञा प्रतिष्ठान नाट्य तथा संगीत विभागको दुई कार्यकाल सदस्यसचिव रहिसकेका रञ्जनको जन्मभूमि परवाहामा यसरी लगातार दुई महिनाभन्दा बढी बस्ने संयोग २० वर्षपछि मात्रै जुरेको हो।
गाउँ छाडेर जनकपुर र पछि काठमाडौंमै घरजम गरेका उनी अहिले गाउँको शान्त र आत्मीय माहोलले महामारीमा पनि सुरक्षित अनुभूति गराएको बताउँछन्। ‘यो महामारीले गाउँमा जीवन फर्काएको छ। वर्षौंदेखि गाउँको मुख नहेरेकाहरू जन्मथलो फर्केका छन्’, उनी भन्छन्, ‘आफ्नो भूमिमा कृषि कर्म गर्न लकडाउनमा कुनै अवरोध छैन। म यहाँ निकै रमाएको छु।’
तीव्र गतिमा बढ्दो सहरीकरणले गाउँको संस्कृति, जीवन पद्धति र संस्कार ओझेलमा पारेको थियो। युवा त झन् गाउँबाट टाढिएका थिए तर, एउटा भाइरसले यी सबैलाई घरसँग जोडेको प्राज्ञ रञ्जनको अनुभूति छ।
‘यो आशाको किरण पनि हो’, उनी थप्छन्, ‘आफ्नो बासस्थानलाई उपेक्षा गर्नेहरू अब यहीँ सिर्जनात्मक गतिविधि सञ्चालन गरी जीवन बिताउने सम्भावना खोज्दैछन्।’
मैथिली साहित्य क्षेत्रका चर्चित जोडी रूपाधिरु (रूपा झा, धीरेन्द्र प्रेमर्षि) पनि अहिले गाउँमै छन्। साहित्यकार प्रेमर्षि पत्नी रूपासँगै लकडाउन सुरु भएदेखि नै सिरहाको बस्तीपुरमा छन्। व्यस्त जीवनले रूपालाई कहिल्यै घर बस्ने अवसर दिएन तर कोरोनाले यस्तो संयोग जुराइदिएकोमा उनी खुसी छिन्। ‘गाउँमा बस्दा निकै रमाएको छु’, रूपा भन्छिन्, ‘जीवनको भागदौडमा यस्तो वि श्राम आवश्यक झैं लाग्छ।’
संसारको भौतिकवादी मोहले गर्दा गाउँको पहिचान मेटाएर सहरलाई प्राथमिकता दिइएको साहित्कार प्रेमर्षिको ठम्याइँ छ। उनी भन्छन्, ‘यो महामारीपछि विश्वको अनुहार फेरिन्छ। लाखौं जनता जो गाउँ छाडेर सहरिया भएका थिए उनीहरू बाध्यतावश पनि फर्किनेछन्। यस्तो अवस्थामा सरकारले गाउँमै अवसर सिर्जना गर्नु जरुरी छ।’