भारतबाट ल्याइएका ९६ जनालाई क्वारेन्टाइनमा राखियो
चरिकोट : भारतमा कोरोना भाइरस (कोभिड-१९) महामारीबाट प्रभावित दोलखाका ९६ जनालाई ल्याएर सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।संघीय सरकारको विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने योजनाअनुरुप दोलखाका स्थानीय तहले भारतमा रहेका दोलखालीलाई ल्याएर आ-आफूले निर्माण गरेको क्वारेन्टाइनमा राखेका हुन् ।
भारत तथा महामारी फैलिएका नेपालका जिल्लाबाट ल्याइएका ५ महिला र ९१ पुरुष गरी ९६ जनालाई जिल्लाका विभिन्न स्थानीय तहले निर्माण गरेका १२वटा क्वारेन्टाइनमा राखिएको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
सुरक्षाकर्मीको निगरानीमा उनीहरुलाई जिल्लाका विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।कालिञ्चोक गाउँपालिकाका सबैभन्दा बढी ५ महिलासहित ५८ जनालाई दुईवटा विद्यालयमा स्थापित क्वारेन्टाइनमा राखिएको छ । कालिञ्चोक गाउँपालिका-२, बाबरेस्थित निकोभूमे माविमा ५ महिलासहित ३३ र वडा नम्बर ४ सिंगटीस्थित कालिनाग माविमा २५ जनालाई राखिएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले जानकारी दिए ।
जिरी नगरपालिकाका ३ जनालाई जिरी प्राविधिक शिक्षालयमा, मेलुङ गाउँपालिकाका ३ जनालाई सेन्टर प्रावि सितलीमा, भीमेश्वर नगरपालिकाका १ जनालाई महिला विकास कार्यालय भवन चरिकोट, बैत्यश्वर गाउँपालिकाका २ जनालाई कालिका मावि मार्बुको क्वारेन्टाईनमा राखिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
विगु गाउँपालिकाका १२ जनालाई हिमालय मावि खोपाचागु, गौरीशंकर गाउँपालिकाका ८ जनालाई हलेश्वर मावि सुरी, तामाकोसी गाउँपालिकाका ९ जनालाई विभिन्न विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको छ । उनीहरुलाई स्थानीय तहसँग समन्वय गरी सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाईएको डीएसपी पोखरेलले जानकारी दिए । स्वास्थ्य कार्यालय दोलखाका अनुसार उनीहरुलाई निश्चित अवधि क्वारेन्टाइनमा राखेर परीक्षण पछिमात्र घर पठाइनेछ ।