भक्तपुरका तेस्रो कोरोना संक्रमितको सम्पर्कमा रहेका १२ जनाको रिपोर्ट 'नेगेटिभ'

भक्तपुरका तेस्रो कोरोना  संक्रमितको सम्पर्कमा रहेका १२ जनाको  रिपोर्ट 'नेगेटिभ'

भक्तपुर : कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरका तेस्रो संक्रमित पुरुषको परिवार र उनको सम्पर्कमा रहेका १२ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक भक्तपुर नपा ५ योसिंखेल निवासी ४२ वर्षीय पुरुषको घरपरिवारसहित १२ जनाको कोरोना भाइरस परीक्षण नेगेटिभ आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले १२ जनाकै रिपोर्ट नेगेटिभ आएपछि भक्तपुर नपा ५ योसिंखेलको सिल हटाइएको जानकारी दिए । काठमाडौं महानगरले सुरुमा द्रूत परीक्षण विधि (आरडीटी) गर्दा नेगेटिभ देखिएका उनको पीसीआर विधिमा पोजिटिभ आएपछि भक्तपुर प्रहरीले जेठ ७ गते योसिंखेल क्षेत्र सिल गरेको थियो । स्वास्थ्य मन्त्रालयले उनलाई जेठ ६ गते संक्रमण पुष्टि गरेको थियो ।

दुई स्वयंसेवीमा संक्रमण देखिएन

त्यस्तै कोरोना भाइरसको कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापन गर्न सहयोग गरेका भक्तपुरका दुई स्वयंसेवी युवामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

भक्तपुरका दुई युवा अरुण सैंजू र राजेश गाइँजूले गएको जेठ ३ गते राती काभ्रेको धुलिखेल अस्पतालबाट ती सुत्केरीको शव आफ्ना मोडिफाइड गाडीमा राखेर काठमाडौंको पशुपतिस्थित विद्युतीय शवदाह गृहसम्म लगेका थिए।

शव व्यवस्थापनपछि रेस्कु एण्ड अवार्नेस (आरएनए) १६ नामक संस्थामा आवद्ध उनीहरुलाई भक्तपुरको सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणसँगै रहेको आइसोलेसन कक्षमा आइसोलेट गरिएको थियो ।

पहिलोपटक जेठ ४ गते सैंजू र गाइँजूको स्वायब संकलन गरी कोरोना भाइरस परीक्षण गरिएको थियो । दोस्रोपटकको परीक्षण पनि नेगेटिभ आएपछि सोमबार उनीहरुलाई गणको आइसोलेसन कक्षबाट बिदाइ गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

बिदाइपछि उनीहरु भक्तपुर अस्पतालस्थित फिभर क्लिनिकमा आफ्नो पूर्ववतः स्वयंसेवामा फर्किने बताए । सैंजु र गाइँजूसहित चार जना युवाले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन घोषणा गरेदेखि भक्तपुर अस्पतालमा बसेर स्वयंसेवी भएर कार्य गर्दै आएका छन् ।

उनीहरुसँग न्हुज किजू र पुनम कर्माचार्यले भक्तपुर अस्पतालमा क्याम्प नै खडा गरेर स्वयंसेवा गर्दै आएका हुन् । उनीहरुले कोरोना भाइरस संक्रमणको जस्तै लक्षण भएर अस्पताल ल्याउनुपर्ने बिरामीहरु लिन जाने, उपचारपछि पुर्‍याउन जाने तथा अस्पतालको फिभर क्लिनिकमा सहयोग पुर्‍याउँदै आएका छन् ।

त्यस्तै कोरोना भाइरस संक्रमित भेटिएको ठाउँमा गएर संक्रमितको घरपरिवार तथा सम्पर्कमा आएकाको स्वाब संकलन गर्ने कार्यमा ती युवाहरुले सहयोग गर्दै आएका छन् । उनीहरुले कोरोना भाइरस संक्रमितको सुरक्षित ओसारपसार गर्न हुने गरी मोडिफाइ गरिएको गाडी प्रयोग गर्दै आएका छन् ।

गएको जेठ ३ गते सोही गाडीमार्फत उक्त समूहका सैंजू र गाइँजूले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव सुरक्षित तरिकाले धुलिखेल अस्पतालबाट पशुपतिस्थित विद्युतीय शवदाह गृहसम्म लगेका थिए ।

भक्तपुर नपाका ६६ जनाको रिपोर्ट नेगेटिभ

त्यस्तै भक्तपुर नपाका जनप्रतिनिधि तथा कर्मचारीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर नपाले सुरुमा गरेको आरडीटी परीक्षणमा एक वडा सचिव र अर्की सफाइ मजदुरको रिपोर्ट पोजिटिभ आएपछि गरिएको पीसीआर परीक्षणका ६६ जनाको रिपोर्ट नेगेटिभ आएको भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

भक्तपुर नपाले गरेको पीसीआर परीक्षणमै उक्त नपाको वडा नं ९ की ४२ वर्षीया महिला वडा सदस्यमा कोरोना भाइरस पुष्टि भएको थियो । उनीसँगै पीसीआर गरिएकामध्ये ६६ जनाको नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधान बताउँछन् ।

सुरुमा आरडीटी पोजिटिभ आएका वडा सचिव र सफाइ मजदुरको पीसीआर नेगेटिभ यसअघि नै आइसकेको थियो । भक्तपुर नपाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सफाइ मजदुर गरी करिब दुईसयको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरेको जनाएको छ ।

संक्रमित जनप्रतिनिधिको परिवारसहित १९ को स्वाब संकलन

त्यस्तै कोरोना भाइरस पुष्टि भएकी भक्तपुर नपा ९ की ४२ वर्षीया महिला वडा सदस्यको परिवारका तीनजनासँगै उनको सम्पर्कमा रहेका १९ जनाको स्वायब संकलन गरिएको छ । स्वास्थ्य मन्त्रालयले जेठ ९ गते ती जनप्रतिनिधिलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेको थियो । त्यसको भोलिपल्टै उनलाई पाटन अस्पतालको आइसोलेसनमा पठाएर उनी बस्ने भक्तपुर नपा ९ तुमचो क्षेत्रमा सिल गरिएको थियो । उनको परिवारमा श्रीमान, एक छोरा र एक छोरी छन् ।

आइतबार ती संक्रमित जनप्रतिनिधिको सम्पर्कमा आएका १६ जनाको कन्टाक्ट ट्रेसिङ भइसकेपछि १९ जनाको स्वाब संकलन गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । भक्तपुरका संक्रमित चारजनामध्ये सुरुमा पुष्टि भएका २५ वर्षीया महिला र २७ वर्षीय सशस्त्र प्रहरीका जवान भने कोरोना भाइरसलाई जितेर डिस्चार्ज भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.