धनुषामा असइसहित तीनजनामा कोरोना संक्रमण
जनकपुरधाम : धनुषामा सोमबार थप तीन नयाँ कोरोना संक्रमित फेला परेका छन्। जसमध्ये दुईजना प्रहरी र एकजना भारतको मुम्बइबाट आएका गरी तीनजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमण भएको पुष्टि गरेको हो ।
स्रोतका अनुसार इलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत रहेका १ जना प्रहरी सहायक निरीक्षक र १ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रहरीमध्ये दुबैजना धनुषाको नगराइन नगरपालिकास्थित प्रादेशिक क्वारेन्टाइनमा ड्युटीमा खटिएका प्रहरी हुन्।क्वारेन्टाइनमा एकैपटक पाँच कोरोना संक्रमण भएको पुष्टिपछि हाललाई क्वारेन्टाइन 'सिल' गरिएको छ ।
यसैगरी थप एकजना स्थानीयबासी रहेका छन्।भारतको मुम्बइबाट गत जेष्ठ ६ गते सिमानाका जटहीहुँदै सिधैं प्रादेशिक क्वारेन्टाइनमा आएका थिए ।उनी घर गएनन् । मुम्बइस्थित कागज कारखानामा काम गर्ने क्रममा लकडाउनपछि नेपाल र भारतका केही व्यक्ति सामूहिक बसमा आएको आएको प्रादेशिक क्वारेन्टाइन नगराइनका संयोजक सन्तोष कुमार ठाकुरले जानकारी दिए।
संक्रमित तीनैजनालाई जनकपुरको कोरोना विशेष अस्पतालमा पठाउने तयारी भइरहेको संयोजक ठाकुरले बताए।योसँगै धनुषामा संक्रमितको ११ पुगेको छ।