'चित्र बेच्नका लागि बनाउने हो'

'चित्र बेच्नका लागि बनाउने हो'

काठमाडौं : राम्रा प्राकृतिक दृश्य हेर्ने, हिमाल पहाड घुम्ने र प्राकृतिक सुन्दरतालाई दुरुस्तै उतार्ने चित्रकार यतिबेला घरभित्रै छन्। लकडाउनले धेरै कलाकारलाई प्रत्यक्ष असर गरेको छ। मनमौजी रूपमा प्रकृतिसँग खेल्दै लाइभ पेन्टिङ गर्ने कलाकार घरभित्रै उकुसमुकुस भएर बस्नु परेको छ। उनीहरूले सोचेजस्तो चित्र बनाउन सकिरहेका छैनन्। तर लाजिम्पाटस्थित बीके आर्ट ग्यालरीका सञ्चालक तथा चित्रकार नरबहादुर विक भने लकडाउनमा पनि शान्त बसेका छैनन्। दुई महिनाको समयमा उनले ठूला, साना गरेर दुई सयभन्दा बढी चित्र कोरिसकेका छन्।

उनको बीके आर्ट ग्यालरी नामक युट्युब च्यानल पनि छ। यो च्यानलमार्फत उनले हरेक दिन चित्र कोर्दै गरेको भिडियो अपलोड गर्ने गरेका छन्। आर्ट सिक्न खोज्ने धेरैलाई उनको यो च्यानल काम लाग्ने हुन सक्छ। एक वर्षको अवधिमा उनले यो च्यानलमार्फत तीन सय २४ वटा आर्ट लाइभ भिडियो अपलोड गरेका छन् जहाँ हिमाल, पहाड, फूल, उपत्यका, बुद्धलगायतका दृश्य कसरी चित्रमा उतार्ने स्टेपसँगै राखिएको छ।

नवलपरासी सरावलका रैथाने नरबहादुर बच्चैदेखि चित्र बनाउँथे। व्यावसायिक रूपमा यो क्षेत्रमा लागेको पनि २० वर्ष भइसक्यो। उनकी श्रीमती प्रमिला परियार पनि चित्रकार हुन्। दुवैजनाले ग्यालरीलाई जीवित राखेका छन्। ग्यालरीमा उनीहरू आफंैले बनाएका तीन हजारभन्दा बढी चित्र संकलन गरिएको छ।

धेरै चित्र बनाउने चित्रकारमा पर्छन् उनी। चित्र बनाउनु एउटा काम जस्तै हो भन्ने लाग्छ उनलाई। निरन्तर कोरिरहेकाले होला उनका चित्रहरू अधुरा हँुदैनन्। उनले युट्युब च्यानलमा अपलोड गरेको भिडियोमा पनि अधिकांश चित्र आधा घण्टा भित्रै तयार भएका छन्। उनी जहाँ जान्छन्, त्यही लाइभ पेन्टिङ गरेको भिडियो जतनले खिच्छन्। यो आर्ट पारखीका लागि गतिलो खुराक बन्ने गरेको छ।

कहिलेकाहीँ अनलाइन कक्षासमेत सञ्चालन गर्छन्। यसले कलाका विद्यार्थीबीच उनलाई जोडिराख्छ। नरबहादुर विशेषत प्रकृति, हिमाल र बुद्धलाई चित्रमा उतार्ने गर्छन्। यस्ता चित्र व्यावसायिक रूपमा बढी बिक्छन्। कला सिर्जनाको स्वरूप ठानेर दुई चार आर्टमै जिन्दगी बिताउनेसँग भने उनको सिद्धान्त मिल्दैन। भन्छन्, ‘जिन्दगीभर दुई, चार आर्ट गर्ने, बिक्री त झन् शून्य प्रायः। आफूलाई कलाको विशेषज्ञ बताउने, एकेडेमीतिर धाएर राजनीतिक नियुक्ति खानेहरूलाई कसरी चित्रकार भन्ने ? तर यस्तै चित्रकारको बिगबिगी छ नेपालमा।’ आर्ट एउटा पेसा हो यसलाई निरन्तर मेहनत गरिरहनुपर्छ। अन्य पेसा व्यवसाय गर्नेले जस्तै निरन्तर दैनिक आठ, नौ घण्टा किन नखट्ने ? यसैले पनि होला उनी हरेक दिन दुईदेखि चारवटासम्म चित्र बनाइरहेका हुन्छन्। चित्र बेच्न बनाएको होइन भनेर गफ लाउने चित्रकार उनलाई मन पर्दैन।

धेरैजसो प्राकृतिक सौन्दर्यलाई चित्रमा उतार्ने भएकाले उनी बेलाबखत घुम्न गइरहन्छन्। एभरेस्ट, घान्द्रुक, लुम्बिनी, पोखरा, धनकुटा, इलाम उनी पुगिरहने स्थान हुन्। देशका विभिन्न सुन्दर ठाउँलगायत एक दर्जनभन्दा बढी देशमा पनि उनी आर्ट प्रदर्शनीका लागि पुगेका छन्। राम्रो ठाउँमा जाँदा धेरैजसो समय प्रकृतिकै वरिपरि बसिरहने उनको बानी छ। त्यस्ता ठाउँको धेरैभन्दा धेरै फोटो खिच्छन्। यसैलाई फुर्सदको समय सुटुक्क चित्रमा उतार्ने उनको बानी छ।

चित्र बेच्न बनाएकाले समय सुहाउँदो मूल्य राख्नुपर्ने बताउने नरबहादुरले आफ्नो ग्यालरीमा पाँच सयदेखि एक लाखसम्मका चित्र भएको जानकारी दिए। भर्खर सिक्दै गरेका र यही क्षेत्रमा भविष्य खोज्दै गरेकाले भने आर्टमा लागेको मेहनत सुहाउँदो मूल्य राख्नुपर्ने तर्क गर्छन् उनी।

विशेषत त साँझ बिहानको प्रकृतिमा औधी रमाउने उनले लकडाउनका कारण आर्ट बेच्न समस्या भएको सुनाए। भन्छन्, ‘केही महिना त कलाकार टिक्लान् तर लामो समय लकडाउन चल्यो भने कलाकारहरू समस्यामा पर्छन्। धेरै कलाकारको आर्ट बनाउने रङ स्केचलगायतका कच्चा पदार्थ पनि सकिएको छ। यसले पछिसम्म असर पर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.