भारतमा प्रोटोकल पालना नहुँदा समुदायमा संक्रमण : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले छिमेकी मुलुक भारतबाट स्वदेश फर्किएका नेपालीहरुमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्राटोकल अनुरुपको नियम पालना नगरिएका कारण नेपालमा कोभिड १९ को संक्रमतिको संख्या बढेको बताएका छन् । राष्ट्रको नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घर फर्कनेको सीमापार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने डब्लूएचओको प्रोटोकल उद्धृत गर्दै भने, ‘सीमापार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदायस्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो। तर, छिमेकी मित्रराष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षणबिनै अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमापार गरिरहनुभएको छ।’
उनले स्वदेश फर्किएकालाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टाइनमा रहन र अन्य नियमको पालना गर्नसमेत आग्रह गरे।परीक्षण अभावमा महामारी तीव्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको चर्चा गर्दै उनले घुमाउरो ढंगले भारतीय असहयोगप्रति असन्तुष्टि जनाए। सोमबार साँझसम्म देशभर कोरोनाबाट संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। सीमाबाट दिनहुँ हजारौं नेपाली बिनापरीक्षण स्वदेश फर्किरहेका छन्।
विदेशमा रहेकालाई फर्काउन कार्ययोजना
प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने विस्तृत कार्ययोजना सहितको आदेश सरकारले तत्काल जारी गर्ने बताएका छन्। रोजीरोटीका लागि बाध्यतामा परी विदेश गएका नेपालीलाई कोभिड–१९ को विश्वव्यापी संक्रमणबाट असहज अवस्था आउन नदिने भन्दै प्रधानमन्त्रीले स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न त्यस्तो योजना ल्याउन लागेको बताएका हुन्।
कोभिड–१९ मा केन्द्रित रहेर सोमबार तेस्रो पटक देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समस्याको प्राथमिकता र देशभित्रको तयारीबीच सन्तुलन मिलाएर स्वदेश ल्याउने काम छिट्टै सुरु गर्ने तयारीमा सरकार रहेको बताए। ओलीले यसअघि पनि चैत ७ गते पहिलो पटक र चैत २५ मा दोस्रो पटक देशवासीका नाममा सम्बोधन गर्दै कोरोना रोकथाम र नियन्त्रणमा सरकारको तयारी र सचेतनाका विषयमा सम्बोधन गरेका थिए।
‘सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भने, ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीलाई सरकारले समयमै उद्धार गर्छ। समस्याको प्राथमिकता र देशभित्रको तयारीबीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ।’ प्रधानमन्त्री ओलीले विदेशमा रहेका कसैले पनि इच्छाले संक्रमण बोकेर नफर्किने भन्दै घर फर्किएकाहरूको आत्मसम्मानमा चोट पु¥याउने गरी बोली र व्यवहार नदेखाउनसमेत अपिल गरेका छन्।
उनले रहरले कोही विदेश नगएको भन्दै समाजमा असन्तोष फैलाउन खोज्ने गैरजिम्मेवार तत्वसँग सचेत र सतर्क रहन आग्रह गरे। प्रधानमन्त्रीले भने, ‘अप्ठ्यारो बेलामा केही तत्व जनतामा भ्रम फिँजाएर आफ्ना अलग स्वार्थ र उद्देश्य पूरा गर्न सक्रिय हुन सक्छन्। यसरी जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्यत गैरजिम्मेवार तत्वहरूको बहकावबाट सतर्क रहनसमेत आह्वान गर्दछु।’
आर्थिक क्रियाकलापमा लचकता
६२ दिनदेखि जारी लकडाउनको बीचमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै यसले समग्र अर्थतन्त्र र सम्पूर्ण देशवासीमा परेको अप्ठ्यारोप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताए। कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, यसबाट सिर्जित संकटबाट मुलुकको अर्थतन्त्रलाई रक्षा गर्ने र रोग तथा भोकबाट आफ्ना जनतालाई जोगाउने कामलाई सरकारले आफ्नो प्रमुख दायित्व ठानेको प्रधानमन्त्रीको दाबी थियो।
कोरोना भाइरस महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलापलाई सुचारु गर्ने तयारीमा सरकार रहेको सन्देश पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा दिएका छन्। उनले नियन्त्रणको सीमाभित्र रहन सक्ने उद्योगलाई सञ्चालनको अनुमति दिइने तयारीमा सरकार रहेको बताए। काममा आउने श्रमिकलाई समुदायमा छ्यासमिस नहुने प्रबन्ध गर्ने सर्तमा जुन÷जुन जिल्लाका श्रमिक हुन्, तिनीहरूलाई पहिले कोरोना परीक्षण गरी प्रशासनको निगरानीमा उद्योग÷व्यवसाय सञ्चालन गर्न दिने योजना सरकारको रहेको सुनाए।
‘सम्बन्धित उद्यमीले आफ्नो व्यवसायमा रहने श्रमिकले तोकेको प्रोटोकल पालन गरे÷नगरेको अनुगमन आफैं गरी त्यसको नियमित जानकारी सम्बन्धित प्रशासनिक निकायमा गराउनु पर्नेछ। यसको प्रभावकारिताका आधारमा क्रमशः थप व्यवसाय सञ्चालन प्रक्रिया अगाडि बढाइनेछ’, प्रधानमन्त्रीले भने, ‘दैनिक आवश्यक वस्तु आपूर्ति सहज तुल्याउने र आन्तरिक उत्पादन वृद्धिका लागि कच्चा पदार्थदेखि उत्पादित वस्तुको बजारसम्मको शृंखला अवरुद्ध हुन दिइने छैन। आवश्यक वस्तुको आन्तरिक ढुवानी र आयात÷निर्यात सहज बनाइनेछ।’
उनले सरकारको नीति तथा कार्यक्रममा जोड दिइएअनुरुप खेतीपातीको समय खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अगाडि बढाइने बताए। समुदायमा संक्रमण फैलिन नदिन, मानिसको आवागमनलाई आवश्यक मात्रामा सीमित गर्नेगरी प्रशासनिक कडाइलाई भने कायमै राखिने पनि बताए। अर्थतन्त्रलाई चलायमान राख्ने र राष्ट्रिय गौरवका आयोजनालगायत कतिपय विकास आयोजनालाई अगाडि बढाउन लकडाउनकैबीच गरिएको प्रयास र प्रयोग सफल भएको पनि उनले बताए। यो बीचमा माथिल्लो तामाकोसी, मेलम्ची, पोखरा, भैरहवा र काठमाडौं विमानस्थल निर्माण÷विस्तार तथा रानीपोखरी, धरहरालगायत पुनर्निर्माणका काम अगाडि बढाइरहेको छ।
यसैलाई मानकका रूपमा लिँदै उद्योगधन्दालाई पनि निश्चित सर्त पालना गरी खुकुलो बनाउने योजनामा सरकार रहेको उनले बताए। कोरोनाको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्ने पनि प्रधानमन्त्रीले सुनाए। कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत्लगायत क्षेत्रमा छुट दिइने प्रधानमन्त्रीको भनाइ थियो। त्यसका लागि अर्थ मन्त्रालयले आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव छुट्टै जारी गर्ने पनि प्रधानमन्त्रीले बताए।
करिब ६ लाखको कोरोना परीक्षण गरिने
प्रधानमन्त्रीले कुल जनसंख्याको २ प्रतिशतसम्मको कोरोना परीक्षण गर्ने पनि बताए। प्रधानमन्त्रीले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि विज्ञहरूको सल्लाहका आधारमा जनसंख्याको २ प्रतिशतसम्मको परीक्षण गर्ने योजनामा सरकार रहेको बताएका हुन्। सरकारले अहिलेसम्म कोरोना नियन्त्रणका लागि गरिरहेको प्रयास सफल रहेको भन्दै ओलीले भने, ‘विज्ञहरूले दिएको सल्लाहबमोजिम कम्तीमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार छ।’ केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या कुल २ करोड ९९ लाख ६६ हजार २ सय ४० छ। यसको २ प्रतिशत को परीक्षण गर्दा कम्तीमा ६ लाखको परीक्षण गर्नुपर्ने हुन्छ।
परीक्षण कम भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीले सरकारले कुल जनसंख्याको २ प्रतिशतको परीक्षण गर्ने योजनामा सरकार रहेको सम्बोधनका क्रममा बताएका हुन्। प्रारम्भिक दिनमा के–कसरी नियन्त्रण गर्ने भन्नेमा अलमलजस्तो देखिए पनि अहिलेसम्म आइपुग्दा सरकारका कमद सफल रहेको प्रधानमन्त्रीको दाबी थियो। उनले भने, ‘२ महिनाका शिशुदेखि ८१ वर्षीया वृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रूपमा लिइनुपर्छ।
यसरी दक्षिण एसियाका कतिपय मुलुकको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी छ।’ तर, प्रधानमन्त्रीले यसैलाई ढुक्क भएर बस्ने स्थिति भने अभैm नरहेको बताए। उनले कोरोना विरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो छ भन्ने यथार्थप्रति सरकार सचेत रहेको पनि बताए। आपूर्तिका सीमित स्रोत भएका कारण औषधि र स्वास्थ्य उपकरण खरिदमा सिर्जना भएका अप्ठ्यारा हल भएको बताए।
होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिने
प्रधानमन्त्रीले सरकारले आवश्यकताका आधारमा बन्द रहेका होटल र सार्वजनिक संरचनालाई समेत क्वारेन्टाइनका रूपमा प्रयोग गरिने बताए। त्यसका लागि पनि सरकारले योजना बनाइसकेको प्रधानमन्त्रीको भनाइ थियो। उनले क्वारेन्टिनको संख्या बढाउने र त्यसको स्तरमा पुनरवलोकन गरी व्यापक सुधार गर्न सरकार लागिपरेको भन्दै आवश्यकताअनुसार बन्द अवस्थामा रहेका होटल तथा सार्वजनिक संरचनालाई समेत क्वारेन्टिनका रूपमा प्रयोग गर्न लागिएको बताएका हुन्।
महामारीविरुद्ध एकीकृत ‘कमान्ड’ एवं केन्द्रीय योजनालाई थप प्रभावकारी बनाइने भन्दै ओलीले महामारीप्रति चासो राख्ने र यस महामारी विरुद्धको लडाइँमा कुनै न कुनै रूपमा संलग्न विभिन्न पक्षलाई समेत समेटेर एउटा परामर्शदातृ संयन्त्र छिट्टै घोषणा गरिने पनि बताए।
शैक्षिक वर्ष खल्बलिन नदिने
ओलीले शैक्षिक गतिविधि खल्बलिन नदिने बताएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई)का परीक्षार्थीको सिंगो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने पनि बताए। यो परीक्षा अहिले पनि सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै उनले मन्त्रालयले यस सम्बन्धमा आवश्यक प्रबन्ध मिलाउने प्रधानमन्त्रीको भनाइ थियो। ‘अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि छैन। तसर्थ, एसईईका परीक्षार्थीको सिंगो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउनेछ’, प्रधानमन्त्रीले भने, ‘आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’ समेत प्रयोग गरी सबै विद्यालयमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठन÷पाठन सञ्चालनको काम अगाडि बढाउनेछ।’
नेपालीको मनोबल उच्च
प्रधानमन्त्रीले नेपालीको मनोबल उच्च छ र प्रतिरोध क्षमता असाधारण रहेको पनि बताएका छन्। कोरोना महामारीविरुद्ध सबै सामथ्र्य लगाउने र कोरोनामुक्त नेपालको स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै ओलीले सरकारले अघि सारेका योजनामा साथ दिएर नेपालीले सहयोग गर्ने विश्वास लिएको बताएका छन्। त्यसो गर्दा मात्र सरकारले अघि सारेका विभिन्न उपायसहित आफ्नो उच्च मनोबल र प्रतिरोध क्षमतासाथ महामारी पराजित गर्ने विश्वास आफूले लिएको प्रधानमन्त्रीले सम्बोधनका क्रममा व्यक्त गरेका थिए।