भक्तपुरमा दुई टिपरको ठक्करबाट सईको मृत्यु
भक्तपुर : भक्तपुर काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ नयाँ ठिमी चोकमा दुइटा टिपरको ठक्करबाट प्रहरी नायब निरीक्षक (सई) को ज्यान गएको छ।तीव्र गतिका दुई टिपरको ठक्करबाट पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोट दरबन्दी भई हाल महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा कार्यरत नयाँठिमी चोकमा सीआरभी डिउटीमा रहेका सई निमबहादुर घर्तीको मृत्यु भएको हो। टाउकोमा गम्भीर चोटक लागेका सई घर्तीको उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा मंगलबार बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
परिसरका अनुसार गए राती काठमांडौबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरका दुई टिपर एकैसाथ नयाँठिमी बालकुमारी चोकको बीचको रेलिङलाई हान्दै अनियन्त्रित भई अगाडि बढ्दै जाँदा सई घर्तीलाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट गम्भीर घाइते उनलाई तत्काल मध्यपुर अस्पताल लगिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
‘मध्यपुर अस्पतालमा प्राथमिक उपचार गराई टाउकोमा गम्भीर चोट लागेकोले थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको र त्यहीं उपचार हुँदाहुँदै मंगलबार बिहान उनको मृत्यु भएको हो’, प्रहरी नायब उपरीक्षक गिरीले भने।
उनका अनुसार दुर्घटना गराउने बा ४ ख ४७०१ नम्बरको टिपर चालक धादिङ थाक्रे गाउँपालिका ८ बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेल र बा ४ ख ४३१८ नम्बरको टिपर चालक भक्तपुर नगरपालिका ३ ४४ वर्षीय राकेश सैंजू र उनीहरुले चलाउँदै आएको दुइटै टिपर प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै चालकलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गराउँदा बा ४ ख ४३१८ नम्बरको टिपरका चालक सैंजूले मादकपदार्थ सेवन गरेको पाइएको प्रहरी नायब निरीक्षक गिरीले जानकारी दिए।
‘सोमबार राति पानी परेकाले सडक भिजेको अवस्थामा मादक पदार्थ सेवन गरी लापरबाही तरिकाले तीव्र गतिमा सवारीसाधन चलाएको हुँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ’, प्रनाउ गिरीले थपे, ‘घटना सम्बन्धमा थप अनुसन्धान कार्य अघि बढाइएको छ।’