भोकालाई युवाको भोजन (भिडियो)
बर्दिबास : कोरोना भाइरस महामारीको आहतमा परेका विपन्न र असाहयको जीवन रक्षा गर्न महोत्तरीको बर्दिबासमा युवाहरु जुटेका छन् । जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले भोकालाई खाजापानी खुवाउने अभियान संचालन गरेको छ। बढ्दै गरेको लकडाउनमा मागेर जीवन चलाउनेको जीवन कष्ठकर बनेको छ । दुई महिनादेखि जारी लकडाउनले बजार बन्द छन् ।
होटल, पसल सबै बन्द भएपछि बाटोमा मागेर खानेहरु भोकै पर्न थापेपछि विद्यार्थी, समाजिक अभियन्ता, व्यवसायी क्षेत्रमा क्रियाशिल युवाहरुले हरेक दिन खाजा पानी वितरण गरिरहेका छन् ।
'मागेर जीवन चलाइरहेकाहरु लकडाउनमा भोकै देख्दा मनले मानेन। सबै साथीहरु मिलेर केही गरौं भन्ने भावनाले भोकै भौतारिरहेकालाई दैनिक खाजा, पानी, चिया खुवाउँदै उहाँहरुको जीवन रक्षा गर्न खटिरहेका छौं,' सञ्जालका अध्यक्ष परमेश्वर महतोले भने।
सुरुमा आफ्नै गोजीबाट सबै साथीले सात हजार रुपैयाँ उठाएर खाजापानी वितरण गरेको उनले बताए।उनले भने,' विस्तारै सहयोगी हातहरु पनि जोडिदै गएका छन्। यसले केही सहज भएको छ।' दैनिक चार बजेदेखि वितरण गरिने खाजाका परिकार जोरजाम गर्न उनीहरु बिहानैदेखि जुट्ने गर्छन् ।