एचआईभी संक्रमितलाई राहत

एचआईभी संक्रमितलाई राहत

भक्तपुर : राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले १३ देखि १८ वर्षभित्रका ६ सय १७ एचआईभी संक्रमित किशोरकिशोरीलाई दुईमहिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण वितरण गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउन प्रभावित देशभरका ६ सय १७ एचआईभी संक्रमित किशोरकिशोरीलाई उक्त राहत वितरण गरिएको हो ।

एनएपीएनका अध्यक्ष राजेश दिदियाले राहतस्वरुप किशोरकिशोरीहरुलाई आठ किलो चामल, दुई किलो दाल, दुई किलो गेडागुडी, १५ वटा अन्डा, दुई किलो गहुँको पीठो, एक किलो चिनी, खाने तेल डेढ लिटर र एक लिटर फलफूलको जुस वितरण गरिएको जानकारी दिए । उनका अनुसार ग्लोबल फण्डको क्षेत्रीय सहयोगअन्तर्गत लक्षित वर्ग अनुसन्धान तथा पैरवी (केपीआरए) परियोजनाको आर्थिक सहयोगमा करिब दुई महिनालाई पुग्ने गरी उक्त राहत वितरण गरिएको हो ।

उक्त राहत सामग्रीमा किशोरीहरुको लागि मिन्सुरेसन कीटसमेत उपलब्ध गराइएको अध्यक्ष दिदियाले जानकारी दिए । १३ देखि १८ वर्षभित्रका ६ सय १७ एचआईभी संक्रमितमध्ये २ सय ८८ किशोरी रहेको उनको भनाइ थियो । यसअघि एनएपीएनले १२ वर्षमुनिका ६ सय ६८ एचआईभी संक्रमित बालबालिकालाई पनि दुई महिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण उपलब्ध गराइएको थियो ।

एनएपीएनले ४५ वर्षमाथिका ७ सय ३२ एचआईभी संक्रमितलाई पनि बालबालिकासरह दुई महिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण सहयोग गरेको थियो । अध्यक्ष दिदियाले लकडाउनको कारण प्रभावित एचआईभी संक्रमितलाई सरकारी तथा अन्य गैरसरकारी संघसंस्थाबाट कुनै किसिमको राहतको व्यवस्था नभएपछि एनएपीएनले राहतको व्यवस्था गरेको स्पष्ट पारे ।

एनएपीएनका अनुसार नेपालभर रहेका १३ देखि १८ वर्षका एचआईभी संक्रमतिमध्ये बागमती प्रदेशमा सर्वाधिक एकसय ५७ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा १७ जना रहेका छन् । बागमतीपछि सुदूर पश्चिम प्रदेशमा एकसय ५३ रहेका छन् । त्यस्तै प्रदेश ५ मा एकसय २४, गण्डकी प्रदेशमा ७२ जना, प्रदेश २ मा ४९ जना र प्रदेश १ मा ४३ जना एचआईभी संक्रमित किशोरकिशोरी रहेका छन् ।

सरकारले ग्लोबल फण्डमार्फत एचआईभी संक्रमित किशोरकिशोरीलाई प्रत्येक महिनामा एकएक हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ । तर उक्त रकमले आफूहरुको दैनिकीसँगै शिक्षा र स्वास्थ्यमा खर्च गर्न अपुग भएको उनीहरु बताउँछन् । उनीहरुले शिक्षा र स्वास्थ्यको लागि सरकारले थप आर्थिक सहयोगको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

देशव्यापी लकडाउनले आफूहरु स्वास्थ्य उपचारको पहुँचबाट बञ्चित हुनुपरेको उनीहरुको गुनासो रहेको छ ।‘अहिले सरकारले सबै स्वास्थ्य संस्था तथा अस्पताललाई कोरोना भाइरस उपचारमा केन्द्रित गरेको छ’, उनीहरुले भने, ‘त्यसैले हामी अहिले स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएका छौं ।’
एचआईभी संक्रमितहरुलाई अन्य अवसरवादी संक्रमणसमेत भइरहने भएकाले बेला बेलामा स्वास्थ्य संस्था धाइरहनुपर्ने उनीहरुको भनाइ थियो ।

एनएपीएनका अनुसार अहिले देशभरका एचआईभी संक्रमितले आफूहरु नियमित स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएको गुनासो गरेका छन् । लकडाउनको समय बढ्दै आउँदा संक्रमितहरुमा मनोसामाजिक समस्यासमेत बढेको एनएपीएनका अध्यक्ष दिदिया बताउँछन् ।‘संक्रमितहरुले लकडाउन यतिको बढ्ला भन्ने सोचेका थिएनन्’, उनले भने, ‘तर लकडाउन लम्बिँदा संक्रमितहरुमा अन्योल बढेको छ । उनीहरु मानसिक रुपले प्रभावित हुन थालेका छन् ।’
मानिसको लागि किशोरावस्थामा झन् संवेदनशील समय भएकाले उनीहरुको आवश्यकता र अवस्थाअनुसार एनएपीएनले काम गरिरहेको अध्यक्ष दिदियाको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.